काठमाडौं । कर्मचारी सञ्चय कोषमा कार्यरत कर्मचारीमध्ये कूल ९ जना कर्मचारीले सुन तथा चाँदीको मेडल पाएका छन् । कोषले आफ्नो ६१औं वार्षिकोत्सवको अवसरमा लामो अवधिदेखि संस्थामा कार्यरत कर्मचारीलाई सम्मानस्वरूप उक्त मेडल प्रदान गरेको हो ।
जसमध्ये ६ जनाले चाँदीको मेडल पाएका छन् ३ जनाले सुनको मेडल पाएका छन् । कोषले १५ वर्ष काम गर्ने ६ जनालाई चाँदीको र २५ वर्षसम्म निरन्तर सेवा गर्ने ३ जनालाई सुनको मेडल प्रदान गरेको हो ।
कोषले २५ वर्ष अवधि पुरा गरेको ३ जनालाई प्रमाणपत्र, एक महिनाको तलब र सुनको मेडल दिएको हो । सो पदक पाउनेमा रोचन् श्रेष्ठ, राजेन्द्र शाक्य र गोविन्द बहादुर कुवर रहेका छन् । यस्तै, १५ वर्ष पुरा गरेकालाई चाँदीको मेडल, प्रमाणपत्र र आद्या महिनाको तलब दिएको छ । सो पदक पाउनेमा सुवास खड्का, वरिष्ठ राकेश श्रेष्ठ, मदन सुवेदी, डम्बर बहादुर खड्का, सत्य नारायण र राम हरि गौतम रहेका छन् । 
यसैगरी, एसइईमा उच्च अंक ल्याउने कर्मचारीका छोरा छोरीलाई नगद सहित कोषले सम्मान गरेको छ । कर्मचारीका ६ जना छोरा र ६ जना छोरीलाई नगद सहित सम्मान गरेको हो । कोषले उच्च अंक ल्याइ प्रथम हुनेलाई १५ हजार, दोस्रोलाई १२ हजार रुपैयाँ र तेस्रो हुने कर्मचारीका छोराछोरीलाई ९ हजार रुपैयाँ नगद तथा प्रमाणसहित पुरस्कृत गरेको छ ।
वार्षिकोत्सवको अवसरमा कोषले आफ्नै मोबाइल एप सार्वजनिक गरेको छ । यो एफमार्फत ग्राहकले घरमै बसी बसी लोन अर्थात ऋण पनि लिनसक्ने कोषले जानकारी गराएको छ ।