काठमाडौं । नेपाल राष्ट्र बैंकको जारी गरेको चालू पुँजी कर्जासम्बन्धी मार्गदर्शनको प्रावधानले व्यवसायको वातावरण बिग्रन सक्ने नेपाल उद्योग परिसंघले बताएको छ । शुक्रबार एक विज्ञप्ति जारी गर्दै महानगरले कर्जासम्बन्धी मार्गदर्शनको प्रावधानले नेपालमा औद्योगिक तथा व्यावसायिक वातावरण नबन्ने बताएको हो ।
उक्त मार्गदर्शनले नेपाल सरकार समेतको स्वामित्व रहेका स्वदेशी तथा मेक इन नेपाल जस्ता अभियानलाई समेत प्रतिकूल असर गर्ने उनीहरुले बताएका छन् ।
‘कोभिड तथा अन्य कारणले अर्थतन्त्र सिथिल बनेको समयमा औद्योगिक क्षेत्रमा प्रवाह हुने कर्जाको सीमा नै घट्ने गरि आएको यस नीतिले नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकले यस अघि तय गरेको औद्योगिक वातावरण निर्माण गर्ने नीतिलाई नै प्रतिकूल असर गरेको छ,’ विज्ञप्तिमा भनिएको छ ।
राष्ट्र बैंकबाट साना व्यवसाय तथा व्यापारलाई सहज देखिने तथा ठूला एवं मझौला उद्योगलाई प्रभाव पार्ने गरी मार्गदर्शन आएको परिसंघ बताउँछ ।
यस मार्गदर्शनले ठुला तथा मझौला उद्योगहरूलाई सहयोग नगर्दा उत्पादन तथा आपूर्ति श्रृंखलाको सुरु तथा अन्त्यमा रहने साना उद्योग व्यवसायलाई समेत नकारात्मक असर पुग्ने बताउँदै परिसंघले मार्गदर्शनलाई सच्याउन अनुरोध गरेको छ ।
गत आर्थिक वर्षको पहिलो छ महिनामा मासिक औसत ८२ अर्ब भन्दा बढीले विस्तार भएको निजी क्षेत्रको कर्जा गत आर्थिक वर्षको पछिल्लो छ महिनामा मासिक औसत ७.३ अर्बले मात्र विस्तार भएकाे बताउँदै परिसंघले कर्जा ग्राह्य क्षमता नै घट्ने गरी आएको मार्गदर्शनले अर्थतन्त्रलाई थप संकुचित पार्ने बताएको छ ।