काठमाडौं । नेपाली उत्पादनहरुको बजारीकरण, व्यापारीक अन्तरक्रिया, आयात–निर्यातको सूचना आदान–प्रदानमा विशेष जोड दिंदै पाँचौं संस्करणको ुनेपाल चेम्बर एक्स्पो २०२२ु को आयोजना गरिने भएको छ ।
नेपाल चेम्बर अफ कमर्शले वाणिज्य मन्त्रालय एवं व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको सहकार्यमा आगामी असार २ देखि ६ गतेसम्म राजधानीको प्रदर्शनी मार्गस्थित भृकुटीमण्डप प्रदर्शनी कक्षमा एक्स्पो आयोजना गर्न लागेका हो ।
राष्ट्रको सर्वाङ्गिण विकासका लागि निजी क्षेत्रको सक्रिय सहभागिता अपरिहार्य रहेकाले एक्स्पो आयोजना गरिँदै आइएको चेम्बरले जनाएको छ । पछिल्ला चार संस्करणहरूको सफलता पुर्वक आयोजना गरीसके पछि चेम्बरले मेलाको पाँचौ संस्करणमा व्यापारीक अन्तरक्रिया, आयात–निर्यातको सूचना आदान–प्रदान तथा नेपाली उत्पादनको बजारीकरणमा विशेष जोड दिएको जनाएको छ ।
चेम्बरको अनुसार एक्सपोमा अन्तराष्ट्रिय व्यापारीक समुदायको प्रत्यक्ष सहभागिताले अन्तराष्ट्रिय क्षेत्रमा भइरहेका आर्थिक क्रियाकलाप, नविन प्रविधिको प्रयोग एवं व्यापार व्यवस्थापनका नयाँ आयामहरूलाई नजिकबाट नियाल्न नेपाली उद्योगी व्यवसायीहरूलाई सहयोग मिल्ने छ ।
बंगलादेश पार्टनर कन्ट्री रहेको यस वर्ष वाणिज्य मन्त्रालय र इपीबी बंगलादेशको सहकार्यमा उद्योगी व्यवसायीहरुले सहभागिता जनाउने भएका छन् । एक्स्पोमा अटोमोबाइल, इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स, फ्लोरिङ एण्ड फर्निसिङ, होम एप्लाइन्सेस, फेसन वेयर एण्ड एसेसरिज, गार्मेन्ट एण्ड टेक्सटाइल, मोबाइल एण्ड ग्याजेट्स, एफएमसिजी, हाइड्रो, लजिस्टिक, ह्याण्डिक्राफ्ट एण्ड ह्याण्डलुमस, सुज एण्ड लेदर आइटम, कस्मेटिक्स, फुड एण्ड डेरी प्रडक्ट्स आदि सामग्रीहरूको प्रदर्शनीले आगन्तुकहरूका लागि एक्स्पो एउटा उपयुक्त आकर्षण बन्न सक्ने विश्वास गरिएको चेम्बरले जनाएको छ ।
ुनेपाल चेम्बर एक्स्पो २०२२ु को गोल्ड स्पोन्सर हुलास हिप्को सुपरबिल्ड रहेको छ । यस्तै मेलाको अफिसियल इन्स्योरेन्स प्रभु इन्स्योरेन्स रहेको छ र लर्निङ पार्टनरको रुपमा ब्रोडवे इफोसिस रहेको छ भने एक्स्पोको सम्पुर्ण व्यवस्थापनको जिम्मा इन्ट्रोडक्सन ट्रेड सोज नेपाल प्रालिले लिएको छ ।
एक्स्पोमा १५० वटा स्टलहरू रहने र एक्स्पोमा नेपाललगायत भारत, पाकिस्तान, बङ्गलादेश तथा अन्य मुलुकमा उत्पादित सामग्रीहरू पनि रहने आयोजक पक्षले जनाएको छ ।