काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले सरकारले निजी क्षेत्रको कुरा नै नसुने समृद्धि नआउने बताएका छन् ।
नेपाल राजश्व परामर्श समितिले सोमबार आयोजना गरेको आर्थिक वर्ष २०७९/०८० को राजश्व नीति तथा कर सुधार सम्बन्धि अन्तरक्रिया कार्यक्रममा उनले सो कुरा बताएका हुन ।
उनले आगामी आर्थिक वर्षको बजेटमा निजी क्षेत्रका उद्योगीको केही माग सम्बोधन भएको भन्दै धेरै उद्योगीलाई समस्या पार्ने देखिएको बताए ।
यस्तै, उनले बजेटमा तरलता समस्याका कारण ६ महिनामा ब्याजदर दोब्बर भएको, शोधानान्तर स्थिती र मूल्यबृद्धिको विषय समाधान नभएको बताए ।
‘हाम्रा केही माग सम्बोधन भएमा छन्, तर, धेरै उद्योगीलाई समस्या पर्ने देखिन्छ, बजेटमा गरेका विषय कार्यान्वयनमा उद्योगी व्यवसायी ससंकित छन्’, उनले भने ।
अध्यक्ष गोल्छाले भारत सरकारले निर्यात नीति परिवर्तन गर्दा नेपालमा प्रभाव पर्ने बताए । उनले सरकारको नितीका कारण एक वर्षमै सबै उद्योग बन्द हुने अवस्था आउनसक्ने आंकलन गरे । ‘सरकारले गलत नीतिले नेपालमा कुनै पनि लगानीकर्ताले लगानी नै गर्दैनन्, एक वर्षमै भएका सबै उद्योग बन्दहुन सक्छन’, उनले भने ।