वीरेन्द्रनगर । सङ्घर्षबाटै सफलता प्राप्त हुन्छ । सङ्घर्षलाई निरन्तर अगाडि बढाएमा सफलता प्राप्त गर्न असम्भव पनि छैन भन्ने कुरालाई जीवनमा चरितार्थ गरेर देखाएकी छिन्, वीरेन्द्रनगर वडा नं १२ की नन्दा नेपाली (राना)ले । जीवनमा धेरै आरोह–अवरोह पार गर्ने क्रममा पीडा, अवहेलना पनि सामना गर्नुपर्दा सङ्घर्ष गरेरै सफल उद्यमी बनेकी नन्दाले अहिले विपन्न परिवारका महिलालाई रोजगारीसमेत दिँदै आएकी छिन् ।
दैलेखमा जन्मिएरै हुर्किएकी उनले कर्मघर भने दाङ रोजिन् । दलितकी छोरी रानाका छोरासँग प्रेम विवाह गरेका कारण नन्दालाई घरबाट अस्वीकार गरियो । सामान्य परिवारकी छोरी उनलाई दाइजो नल्याएको निहुँमा घरपरिवारले अपहेलना गर्थे । ‘पहिलो कुरा अन्तरजातीय विवाह, त्यसमाथि दाइजो पनि नल्याएकाले घरमा राम्रो मान्ने कुरा नै भएन’, नन्दा भन्छिन्, ‘घरमा बस्न नसक्ने अवस्था नभएपछि हामीले घरै छाडेर हिड्याैँ ।’
नन्दा र उहाँका श्रीमान्ले सुर्खेतको वीरेन्द्रनगरमा कोठा भाडामा बसेर मजदुरी गर्न थाले । ‘कहिले घर बनाउने ठाउँमा काम गरेँ कहिले इँटा बोक्ने र गिट्टी बालुवाको काम गरेँ,’ उनी भन्छिन्, ‘साँझ र बिहानको हातमुख जोड्न पनि नसकिने अवस्था थियो, साथ दिने आफन्त कोही थिएनन् ।’ दिनभरि काम गरेवापत ३०० देखि ३५० सम्म पाउने गरेको नन्दाले बताइन् ।
भोक र तिर्खा सहेरै पनि नन्दा मजदुरी गर्थिन् । उहाँका श्रीमान् भारत कमाउन जान्थिए तर पनि दुवै जनाको कमाइले गुजरा चलाउनै धौधौ हुन्थ्यो । नन्दालाई लाग्थ्यो अरु पेशा गर्न पाए गुजरा सजिलै चलाउन सकिन्छ कि । मजदुरी गरेको पैसा पनि खाना खर्च कटाएर बचाउने गरेकी उनले सिलाइकटाइ तालिम लिएपछि कपडा सिलाउने उपकरण किनिन् । यो कामले पहिलाको भन्दा केही राहत भएको नन्दालाई अनुभूति हुँदै गयो । सिलाइकटाइ गर्न थालेपछि छोरा छोरीलाई पढाउन लेखाउन अलि सहज भयो ।
व्यवसायमा सफलता प्राप्त हुँदै गएपछि त्यसलाई बढाउन मन लाग्यो उनलाई । नन्दाले विसं २०६७ मा विनिता होजियारी व्यवसाय दर्ता गरेर व्यवसाय गर्दै आइन् । उनले त्यहाँ अडरका विभिन्न डिजाइन, लेडिज र जेन्सको लागि स्वीटर, ड्रेसका स्वीटर, महिलाले लगाउने प्लाजोलगायत पोशाक तयार गर्दै आएकी छिन् । उनले तयार पारेकाे पोशाक अहिले सुर्खेतका बजार, दैलेख र नेपालगञ्जसम्म पुग्ने गर्दछ । ‘अहिले हामीले तयार गरेको सामानको बजारमा एकदमै बढी माग भइरहेको छ, पु¥याउनै भ्याइनभ्याइ छ’, नन्दा भन्छन्, ‘बजारमा जति सामानको माग भएको छ, त्यसअनुसार पु¥याउन सकिएको छैन ।’
उनलाई अहिले वीरेन्द्रनगर नगरपालिकाले दुईवटा ठूला होजियारी उपकरण सहयोग गरेपछि व्यवसाय पनि बढेको छ । महिला स्वरोजगार कार्यक्रमअन्तर्गत नन्दालाई उक्त उपकरण सहयोगस्वरुप उपलब्ध गराइएको नगरपालिकाका महिला तथा बालबालिका शाखाका ज्योति केसी बताउँछिन् । उनले विभिन्न पसलमा होलसेल मूल्यमा सामान पठाउँदै आएकी छिन् । अहिले व्यवसायमा नन्दा र श्रीमान् दुबैले काम गर्दै गर्दा नभ्याएपछि थप तीन कामदारसमेत राखिएको छ । ‘हामीले मात्र व्यवसाय धान्न सकेनाैँ अहिले तीन महिला पनि राखेकी छु’, नन्दा भन्छिन्, ‘उहाँहरु पनि आर्थिक अवस्था कमजोर भएका दीदीबहिनी हुनुहुन्छ, विगतमा आफैँले पनि धेरै दुःख पाएकाले यस्तै दुःख पाएका महिलालाई काम गर्न राखेको हुँ ।’
पहिले काम काम खोज्दै हिँड्ने उनी अहिले मासिक डेढ लाखभन्दा बढीको कारोबार गर्ने गरेको बताउँछिन् । ‘पहिले दिनभरि काम गरेको ३०० बुझ्थे त्यही काम पाउन पनि धौधौ थियो’, नन्दा भन्छिन्, ‘अहिले अन्य दिदीबहिनीलाई पनि रोजगार दिन पाएकी छु ।’ आजभोलि नन्दाका श्रीमान् पनि खुसी देखिन्छन् । कमाउनका लागि बारम्बार भारत जाने गरेका उनले अहिले घरमै व्यवसाय गरेर राम्रो आम्दानी गरेका छन् । त्यति मात्र होइन, यही व्यवसायको आम्दानीबाट नन्दाले घर र जग्गा पनि किनेकी छिन् ।
व्यवसाय अझै बढाउने सोचमा छिन् उनी । ‘यो व्यवसायलाई अझै ठूलो बनाएर धेरै दीदीबहिनीलाई तालिम दिने र यही रोजगार दिने सोच छ’, नन्दा भन्छिन्, ‘जसलाई साँझबिहान दुःख गरेर गुजारा गर्न समस्या भएको छ, उहाँहरूलाई यहाँ रोजगारी दिने हो ।’ महिला आर्थिकरूपमा सक्षम भएपछि हिंसा नहुने उनको बुझाइ छ । आफूसँग भेटिने जो–कोही महिलालाई पनि नन्दा आर्थिक आयआर्जनमा लाग्न सुझाव दिन्छिन् । ‘महिला हिंसाको मुख्य कारण भनेकै महिला आफू आर्थिकरूपमा सक्षम नहुनु रहेछ । जुन कुरा मैले आफ्नै जीवनमा भोगैं’, उनी भन्छिन्, ‘पहिले दाइजो नल्याएको भनेर हेप्ने घरपरिवारको अहिले ममाथिको दृष्टिकोण फरक छ ।’
पहिले २० हजार लगानीबाट सुरु गरेको व्यवसाय लाखौँको कारोबार गर्न सफल हुँदा नन्दा आफैँ दङ्ग छिन् । ‘पहिला त्यति रकमबाट सुरुआत गरेको व्यवसाय यति राम्रो हुँदा आफैँलाई अचम्म लाग्छ’, उनी भन्छन्, ‘उहिले एक पोका नुन किनेर खान सकिँदैनथ्यो, दिने पनि कोही थिएनन्, अहिले त हाम्रोमा आएर एक छाक खाना खाएर जानुप¥यो भन्ने धेरै हुन्छन् । यति फरक हुँदोरहेछ ।’
यता वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकाल महिला स्वरोजगार कार्यक्रमबाट नगरका धेरै महिला व्यवसाय गरेर आत्मनिर्भर बनेको बताउँछिन् । ‘महिला स्वरोजगारअन्तर्गत कतिपयले अटो चलाउनुभएको छ, कतिले ढाका बुनाइ, सिलाइकटाइजस्ता तालिम लिएर व्यवसाय सुरुआत गर्नुभएको छ’, उनी भन्छिन्, ‘स्वरोजगार कार्यक्रमबाट महिलाले राम्रो सफलता प्राप्त पनि गर्नुभएको छ ।’ रासस