दरबारमार्ग महोत्सव : कोरोना सकिएको सन्देश, २ वर्ष यताकै ठूलो कार्यक्रम

<p>काठमाडौं । १५औं दरबारमार्ग महोत्सव सुरू भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ, रेष्टुरेन्ट एण्ड बार एशोसिएशन नेपाल (रेबान) र दरवारमार्ग विकास बोर्डले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रम सुरु भएको हो । कार्यक्रमको मुख्य प्रायोजक एनसेल बनेको छ । विगत २ वर्षदेखि थला परेको आन्तरिक र बाह्य पर्यटन प्रबर्द्धन र कोभिडले थलिएको उद्योग व्यवसायलाई पुनरुत्थान [&hellip;]</p>

काठमाडौं । १५औं दरबारमार्ग महोत्सव सुरू भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ, रेष्टुरेन्ट एण्ड बार एशोसिएशन नेपाल (रेबान) र दरवारमार्ग विकास बोर्डले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रम सुरु भएको हो । कार्यक्रमको मुख्य प्रायोजक एनसेल बनेको छ ।

विगत २ वर्षदेखि थला परेको आन्तरिक र बाह्य पर्यटन प्रबर्द्धन र कोभिडले थलिएको उद्योग व्यवसायलाई पुनरुत्थान गर्ने लक्ष्यसहित महोत्सव सुरू भएको महासंघले जनाएको छ ।

महोत्सवको औपचारिक कार्यक्रममा प्रमुख अतिथि रहेका महासंघका अध्यक्ष शेखर गोल्छाले स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्न र विदेशी पर्यटकलाई नेपाल ल्याउनका लागि यस कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताए ।

उनले महोत्सवमा साना तथा मझौला उद्यमीहरुलाई प्रोत्साहन गर्न स्वदेशी वस्तुमा प्रयोग गर्न पनि अनुरोध गरे ।

पछिल्लो साढे दुई वर्ष कोरोनाको कारण सहज नभएको बताउँदै उनले अब सबैले मिलेर स्वेदशी उत्पादन प्रयोग गरी सकारात्मक सोचका साथ अगाडि बढ्नु पर्ने धारणा राखे ।

‘पछिल्लो साढे दुई वर्ष कोरोनाको कारण सहज थिएन, हामी असहज अवस्थामा थियौं, त्यतिखेर नेपालमा ३० लाख पयर्टटक भित्र्याउने तयारी गरिरहेका थियौं तर, त्यो सम्भव भएन, अब हामीले सकारात्मक ढंगले अगाडि बढ्न आवश्यक छ, त्यसको सन्देश प्रवाह गर्न दरबारमार्ग महोत्सवमा सुरु गरिएको हो, जुन पछिल्लो साढे दुई वर्ष यताकै हामीले गरेको ठूलो कार्यक्रम हो,’ उनले भने ।

उनले स्वदेशी उत्पादन प्रयोग नगर्यो भने व्यापार घाटा, शोधान्तर स्थिती र तरलताको संकट जहिल्यै व्यहोर्नु पर्ने बताउँदै अब स्वदेशी उत्पादनमा प्राथमिकता दिनु पर्ने धारणा राखे ।

यस्तै, कार्यक्रममा महासंघकी निवर्तमान अध्यक्ष भवानी राणाले पनि दरबारमार्ग महोत्सवले अब कोरोना सकिएको र पर्यटनका हिसावले नेपाल खुला भएको सन्देश दिएको बताइन् ।

‘यस्ता कार्यक्रमले पर्यटनको विकास, अर्थतन्त्र चलायमान गर्ने हाम्रो विश्वास छ, महासंघले विभिन्न प्रदेश र अन्तर्राष्ट्रिय रुपमा पनि यस्त खालका कार्यक्रम गर्दै आएको छ, यस्ता कार्यक्रमले स्वदेशी उत्पादनलाई प्रवद्र्धन गर्न टेवा पुग्छ,’ उनले कार्यक्रममा भनिन् ।

महोत्सवमा सातै प्रदेशको संस्कृति झल्कने विभिन्न जातजातिका कला संस्कृतिहरूको प्रस्तुति भइरहेको छ । आन्तरिक पर्यटनलाई प्रवद्र्धन गरी देशको पर्यटन विकासमा टेवा पुर्याउने र नेपाली उत्पादन, परिकार र संस्कृतिको प्रवद्र्धन गर्ने उदेश्यले महोत्सव आयोजना भएको हो ।

महासंघले महोत्सवको मूल नारा सहकार्य ‘स्थानीय उत्पादन तथा आन्तरिक पर्यटन प्रवद्र्धन’ रहेको जनाएको छ ।

महोत्सवमा गीत संगीत, विभिन्न नेपाली खानाका परिकारका साथै विविध मनोरञ्जनात्मक प्रस्तुतिहरू र महोत्सव आयोजना हुने क्षेत्रमा अन्य रमाइला गतिविधिहरु सहित यो महोत्सव बेलुका ८ः १५ बजेसम्म आयोजना गरिनेछ ।

महोत्सवमा शारीरिक रुपमा भिन्न क्षमता भएका उद्यमीहरुले उत्पादन गरेका हस्तकलाका वस्तु तथा सामाग्रीहरु पनि प्रदर्शनीमा राखिएका छन् ।
महिला उद्यमीसहित हस्तकला उद्यमीहरुबाट उत्पादित वस्तुहरुका उत्पादन पनि प्रदर्शनीमा छन् । महोत्सव स्थलमा ६० वटा स्टल छन् ।

Share News