अन्तर्राष्ट्रिय बजारमा सातु ब्राण्डिङ गर्ने सपनामा २४ वर्षे पृथ्वीकल्याण, १ करोड लगानी

<p>काठमाडौं । नेपालको मौलिक परिकार सातुलाई नेपालीमाझ पुनः परिचित गराउने र अन्तराष्ट्रिय बजारमा ब्राण्डिङ गर्ने अभियानमा पोखराका एक युवा जुटेका छन् । पछिल्लो समय नेपालीले विर्सदै गरेको तर अत्यन्तै प्रभावकारी र पौष्टिक आहारका रुपमा प्रमाणित सातुलाई नेपालीले नै विर्सदै गएको देखेर यसको ब्राण्डिङमा कस्सिएका हुन् पोखराका एक युवा पृथ्वीकल्याण पराजुली । उनलाई सातुको ब्राण्डिङ गर्ने [&hellip;]</p>

काठमाडौं । नेपालको मौलिक परिकार सातुलाई नेपालीमाझ पुनः परिचित गराउने र अन्तराष्ट्रिय बजारमा ब्राण्डिङ गर्ने अभियानमा पोखराका एक युवा जुटेका छन् ।

पछिल्लो समय नेपालीले विर्सदै गरेको तर अत्यन्तै प्रभावकारी र पौष्टिक आहारका रुपमा प्रमाणित सातुलाई नेपालीले नै विर्सदै गएको देखेर यसको ब्राण्डिङमा कस्सिएका हुन् पोखराका एक युवा पृथ्वीकल्याण पराजुली ।

उनलाई सातुको ब्राण्डिङ गर्ने सोच पनि कोभिड महामारीका कारण आएको हो ।

‘कोभिड महामारीको समयमा हामी सबै घरभित्र थुनिएका थियौं, खाद्यान्न र मेडिकलका सवारी साधान भने गुडिरहेका थिएँ, त्यो बेला मैले खाद्यान्नको महत्व नजिकबाट महसुस गर्न पाएँ,’ पोखराकै एक कलेजमा एमबीए गर्दै गरेका २४ वर्षे युवा पुथ्वीकल्याणले सुनाए ।

उनको खास रुची फेसन वा अटोमोबाइल्स क्षेत्रमा काम गर्ने कि भन्ने पनि थियो । कोभिड महामारीको समयमा खाद्यान्न र मेडिकल क्षेत्रले प्राथमिकता पाएको देखेपछि उनको ध्यान खाद्यान्न तर्फ मोडिएको हो ।

‘कोभिडको पहिलो लहरकै बेलामा रिसर्च गर्न थालें, एउटा यस्तो नेपाली ब्राण्ड बनाउने, जसको नेपाली पहिचान पनि होस, अन्तराष्ट्रिय बजारमा पुर्याउन पनि सकियोस र व्यवसायिक सफलता पनि प्राप्त गर्न सकियोस्, यस्तै परिकार खोज्दै जाँदा सातु भेटियो,’ पराजुलीले सातु ब्राण्ड रोज्नुको कथा सुनाए ।

खासमा भन्ने हो भने पृथ्वीकल्याणलाई व्यवसाय गर्नुपर्छ भन्ने अठोट गर्ने वातावरण कोभिड महामारीले बनाइदियो । उनले नेपालको राम्रोमध्येमा पर्ने कलेजबाट बीबीए गरेका थिए । बीबीए अध्ययनको क्रममा विदेश घुमेका पनि थिए भने विभिन्न देशका विद्यार्थीसँग संगत गर्दा गर्दै कुन देश कस्तो छ भन्ने अनुभव पनि भइसकेको थियो ।

‘काम गर्नको लागि विदेश जान्नँ भन्ने निष्कर्षमा कलेज पढ्दा नै पुगिसकेको थिएँ, किनभने विदेशका विभिन्न देशका विद्यार्थीसँग कुरा गर्दा उनीहरुको देश र हाम्रो देशको बारेमा जान्न पाइसकेको थिएँ, अध्ययकै क्रममा विदेश पनि गइसकेको थिएँ, जागिर खाएर हुँदैन, नेपालमै केही गर्ने तर उद्यम व्यवसाय नै गर्ने भन्ने यकिन कोभिड अघि नै गरेको थिएँ, के गर्ने भन्ने निर्णय भने कोभिड महामारीको बीचमा गरेको हूँ,’ उनले सुनाए ।

पोखराका होटललाई केमिकल तथा होटल एसेसरिज सप्ताई गर्ने एक सप्लायरसँग उनको चिनजान थियो । कोभिड महामारी सुरु भएपछि होटल बन्द भए । होटल बन्द भएपछि त्यो सप्लायरको व्यवसाय पनि बन्द भयो ।

तर, त्यही सप्लायरले डिस्इन्फेक्सनका सामान आयात गर्ने अनुमति पनि पायो । सो सप्लायरसँग मिलेर पथ्वीकल्याणले पोखरामा स्यानिटाइजर र डिस्इन्फेक्सनका सामान बेच्न थाले । त्यसरी सामान बेच्दा उनलाई दुईटा फाइदा भयो– व्यापार कसरी गर्ने भन्ने र धेरथोर पैसा पनि ।

‘कोभिडकै बीचमा लामो रिसर्च गरेपछि सातुलाई ब्राण्डिङ गर्न सकिन्छ भन्ने निष्कर्षमा पुगें, त्यही निष्कर्षका आधारमा अहिले मल्टिग्रेन, प्रोटिनप्लस र नट्टी डिलाइट गरी ३ प्रकारका पोसिलो सातु बजारमा पठाइरहेका छौं,’ उनले सुनाए ।

उनले सातुलाई नेपालको मौलिक उत्पादनका रुपमा अन्तराष्ट्रिय बजारमा बजारीकरण गर्ने सपना पनि पालेका छन् ।

‘इन्डोनेसियाको बालीमा जानुभयो भने उनीहरुले केराको चिप्सलाई आफ्नो उत्पादनका रुपमा परिचित गराउन खोज्छन्, थाइल्याण्ड जानुभयो भने आँपलाई त्यसरी नै ब्राण्डिङ गरिन्छ, विभिन्न देशले आफ्नो उत्पादनको बजारीकरण गरिरहेको छ, हामीसँग केही छैन, सातुलाई नै ब्राण्डिङ किन नगर्ने भनेर म अघि बढिरहेको छु, हेरौं कति गर्न सकिन्छ,’ उनका यी वाक्य सकिँदा युवा अठोट भने झल्कदै थियो ।

उनको सातु अहिले पोखराका सबै डिपार्टमेन्टल स्टोरहरुमा पाइन्छ । काठमाडौंमा पनि सेल्सबेरी र सेल्वेजमा पाइन्छ । उनले पोलिसो फुड्स भनेर फेसबुकमा पेज पनि बनाएका छन् । पोसिलो फुड्स डटकम नामक वेबसाइट पनि छ ।

‘हामी नेपालभर अनलाइन अर्डर लिएर डेलिभरी गरिरहेका छौं,’ पोसिलो सातु कहाँ कहाँ पाइन्छ भन्ने प्रश्नमा पृथ्वीकल्याणले भने ।

उनको उत्पादन बजारमा आउन थालेपनि औपचारिक रुपमा लन्च भने गरिएको छैन । यही बैशाख महिनामा औपचारिक रुपमा लन्च गर्ने सोच बनाएका छन् ।

पोसिलो सातु प्लाष्टिकको बट्टामा पाइन्छ । यस्तो सातु ८०० ग्राम र २ केजीको प्याकमा उपलब्ध छ । मूल्य भने फरक फरक छ ।

मल्टिग्रेनको ८०० ग्रामको ३ सय रुपैयाँ र २ केजीको ६ सय रुपैयाँ मूल्य छ । यस्तै, प्रोटिनप्लसको ८०० ग्रामको ४८० रुपैयाँ र २ केजीको ९६० रुपैयाँ छ । नट्टी डिलाइट सातुको मूल्य ८०० ग्रामको ४४० रुपैयाँ र २ केजीको प्याकको ८८० रुपैयाँ छ ।

पृथ्वीकल्याण अहिले कलेज पनि जादैछन् । एमबीए गर्दै गरेका उनको दैनिकी विहान ६ बजे कलेज जाने र साढे ९ बजे कम्पनीमा पुगेर काम गर्ने हो ।

‘व्यवसायको सिलसिलामा कहिले काठमाडौं, कहिले चितवन, कहिले कहाँ, कहिले कहाँ हिडिरहनु परेको छ तर, सोचेभन्दा बढी हौसला पाएको छु, जसले पोसिलो सातु चाख्नु भएको छ, उहाँहरुले गज्जव रहेछ भन्नुभएको छ, हामी सातुको लिटो खाएर हुर्केका थियौं, यो सातुले मलाई व्यवसायिक सफलता दिन्छ भन्नेमा ढुक्क छु,’ कुराकानीको अन्तिमतिर पृथ्वीकल्याण केही रोमान्टिक पारामा अनुभव ‘सेयर’ गरिरहेका थिए ।

उनका बुवा पेशाले कानुन व्यवसायी हुन् भने आमा सरकारी सेवामा कार्यरत छन् । सातु उत्पादन गर्ने कम्पनीमा पृथ्वीकल्याणले करिब १ करोड रुपैयाँ लगानी गरिसकेको सुनाए । उनको उद्योगमा अहिले १२ जनाले काम गरिरहेका छन् । उद्योगका मेसिनहरु भारत तथा चीनबाट आयात गरिएको हो ।

सातुमा विभिन्न प्रकारका पौष्टिक तत्वहरु समावेश गरिएको छ । आवश्यक मात्रा मिसाएर तयार पारिएको सातु जोसुकैले सेवन गर्दा हुन्छ ।

‘एक स्वस्थ्य प्रौड व्यक्तिले एक पटकमा ५० ग्राम खाए पुग्छ, यो भनेको ठूलो चम्चाको ३ चम्चा हो, बिरे नुन र कागती मिसाएर सर्वत बनाएर खाए पनि भयो, दुधसँग सातु खाने कुरा त हामीलाई परम्परादेखि नै थाहा छ, तातोपानीसँग खाए पनि हुन्छ, बढी शारीरिक श्रम गर्नुपर्ने, कम तौल भएका केटाकेटी तथा अन्य सबै स्वस्थ्य तथा विरामी मानिसले यसको प्रयोग गर्न मिल्छ,’ पराजुलीले थपे ।

पोसिलो सातुमा चिनी राखिएको छैन । तर, प्राकृर्तिक रुपमा गुलियोपन भने पाउन सकिन्छ ।

Share News