काठमाडौं । सोमबार नेपाल सिमेन्ट उत्पादक संघले नेपालमा सडक निर्माण गर्दा सिमेन्ट प्रयोग गर्नु पर्ने धारणा राख्दै एउटा निर्देशिका पुस्तक सार्वजनिक गर्यो । सरकारले भौतिक पूर्वाधार निर्माण अन्तर्गत सडक निर्माणलाई प्राथमिकतामा दिए पनि त्यसको गुणस्तरमा प्रश्न उठ्ने गरेको भन्दै नेपालमा निर्माण हुने सडकको मोडालिटी परिवर्तन गर्न आवश्यक रहेको भन्दै संघले सो निर्देशिका पुस्तक जारी गर्यो ।
विशेषतः अहिले नेपालमा पक्की सडक निर्माण गर्दा बिटुमिनको प्रयोग गरेर कालोपत्र गर्ने गरिन्छ । तर, सिमेन्ट उत्पादक संघले बिटुमिनको प्रयोगले सडकको दीगोपन नहुने, वातावरणलाई असर गर्ने र बेलाबेला स्तरोन्नत्ति गर्नु पर्ने भएको कारणले सरकारको अनावश्यक खर्च पनि बढ्ने उल्लेख गर्दै अब नेपालको सडक निर्माणमा सिमेन्टको प्रयोग गर्नु पर्ने धारणा राख्यो ।
संघले इन्स्टिच्युट फर प्रोफेशनल ट्रेनिङ एण्ड म्यनेजमेन्ट (आइपीटीएम) नेपालको प्राविधिक सहयोगमा सो निर्देशिका जारी गर्दै सडक निर्माणमा बिटुमिन प्रयोग गर्दाका वेफाइदा र सडक निर्माणमा सिमेन्ट प्रयोग गर्दाको फाइदाहरु प्रस्तुत गर्यो ।
इन्स्टिच्युट फर प्रोफेशनल ट्रेनिङ एण्ड म्यनेजमेन्ट (आइपीटीएम) नेपालका अध्यक्ष किशोर शाक्यले सो निर्देशिका कार्यान्वयन भए नेपालकोे सडक निर्माणमा एउटा कोशेढुङ्गा सावित हुने बताए । उनका अनुसार सो निर्देशिकाको कार्यान्वयन गरेमा देशका सबै सडकहरु गुणस्तरीय र दीर्घकालीन हुनेछन् ।
उनले अब देशका सबै स्थानीय तहहरुमा निर्माण हुने सडकहरु सिमेन्टको प्रयोगबाट बन्नु पर्ने धारणा राखे ।
यस्तै, निर्देशिकाको प्राविधिक विषयमा प्रस्तुति दिँदै इञ्जिनियर डा. पदम शाहीले पनि अब देशमा बन्ने हरेक सडकमा सिमेन्टको प्रयोग गर्नु पर्ने जोड दिए ।
‘सुरुवाती चरणमा बिटुमिनभन्दा करिब दुई गुणा महँगाृ पर्ने भएपनि कंक्रिटको प्रयोगबाट बन्ने सडक दीर्घकालीन र गुणस्तरीय हुन्छ, दीर्घकालीन रुपमा हेर्दा सिमेन्ट प्रयोगबाट बन्ने सडक नै सस्तो पर्छ, बिटुमिन जस्तो २/४ वर्षमै बिग्रँदैन, यस्तो सकडमा ईन्धन तथा तेल पनि कम खर्च हुन्छ, वातावणमैत्री पनि हुन्छ, सवारी साधनको चक्का पनि धेरै तात्दैन, बिटुमिनको प्रयोगभन्दा कंक्रिटको प्रयोगबाट सडक निर्माण गर्दा देश र जनतालाई नै फाइदा हुन्छ,’ डा. शाहीले भने ।
उनका अनुसार बिटुमिनको प्रयोगबाटभन्दा सिमेन्टको प्रयोगबाट बनेको सडकमा सवारी गुडाउँदा तेल पनि १४ प्रतिशत कम खर्च हुन्छ ।
यस्तै, इञ्जिनियर राजेन्द्रराज शर्माले पनि बिटुमिनको प्रयोगभन्दा कंक्रिटको प्रयोगले बनेको सडक हरेक किसिमबाट प्रभावकारी हुने बताए । सिमेन्टको प्रयोगबाट बनेको सडक सेतो देखिने हुनाले राति सवारी चलाउँदा पनि भिजिविलिटीको समस्या नहुने उनको तर्क छ ।
उनका अनुसार नेपालमा करिब ५०० किलोमिटरको सडकमा मात्रै कंक्रिट पेभमेन्ट प्रयोग भएको छ ।
कार्यक्रममा सिमेन्ट उत्पादक संघका अध्यक्ष धु्रबराज थापाले देशमा सिमेन्ट उद्योगहरुले प्रयाप्त मात्रामा सिमेन्ट उत्पादन गरेपनि बजार नपाएको गुनासो गरे । त्यसैले सिमेन्टको खपत बढाउन पनि कंक्रिटको प्रयोग सडक निर्माणमा बढाउनु पर्ने धारणा राखे ।
‘अहिले ६५ वटा सिमेन्ट उद्योगले वार्षिक साढे दुई करोड टन सिमेन्ट उत्पादन गर्छन्, तर देशमा त्यसको ४० प्रतिशत अर्थात १ करोड टन मात्रै खपत हुन्छ, ६० प्रतिशत हामी निर्यात गर्न सक्ने अवस्थामा छौं, यसमा सरकारले सहयोग गरिदियोस्, अहिलेको विकल्प भनेको कि आन्तरिक खपत बढाउनु पर्ने कि निर्यातमा प्राथमिकता दिनु पर्ने नै हो,’ उनले भने ।
उनले आन्तरिक खपत बढाउन विकास खर्च र विकास निर्माणमा ध्यान दिनु पर्ने धारणा राखे । ‘अहिले पूर्वाधारको विकासमा गुणस्तर भएन भन्ने गुनासो पनि आउँछ, सडकहरु १/२ वर्षभन्दा बढी टिक्दैन भनेर बारम्बार सुनिन्छ, यसलाई कम गर्न अब सडकमा कंक्रिटको प्रयोग आवश्यक छ, त्यसका लागि हामी तयार छौं, सरकारले सहजीकरण गरोस्,’ उनले भने ।
यस्तै, कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्दप्रसाद ढकालले अब ‘क्वालिटी’सँगै ‘क्वालिटी’मा पनि ध्यान दिनु पर्ने बताए । सडकको बारम्बार स्तरोन्नति गर्नुभन्दा दोब्बर कष्ट परेपनि सडकमा सिमेन्टको प्रयोग नै उत्तम हुने उनको भनाई छ । यसलाई प्राथमिकता दिनु पर्ने उनको जोड छ ।
कार्यक्रममा नेपाल उद्योग परिसंघका उपाध्यक्ष विरेन्द्र पाण्डेले पनि आफुहरु यसमा सहकार्य गर्न तयार रहेको सुनाए । उनले यसका लागि सरकारी स्तरबाट पनि पहल हुन आवश्यक रहेको तर्क राखे ।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले पनि ३ खर्ब लगानी रहेको सिमेन्ट उद्योग क्षेत्रलाई सरकारले पनि विशेष प्राथमिकता दिएर हेर्नु पर्ने बताए । उनले अहिले सिमेन्ट उद्योगहरुको कारणले नै देश सिमेन्टमा आत्मनिर्भर भएको प्रशंग जोड्दै अब सिमेन्टको खपत बढाउन र निर्यातमा सहजीकरण गर्नका लागि सरकारले पहल गर्नु पर्ने धारणा राखे ।
देशलाई समृद्ध र आत्मनिर्भर कसरी गर्न सकिन्छ भन्नेमा सबैले सोच्नु पर्ने उल्लेख गर्दै उनले बंगलादेशलाई सिमेन्ट धेरै आवश्यक भएकोले त्यहाँ पनि निर्यात गर्न सकिने वातावरण सिर्जना गर्नु पर्ने बताए ।
‘भारतको सिमेन्ट नेपालको भन्दा सस्तो छ, सरकारले सिमेन्ट उद्योगहरुलाई सहुलियत दिएर सस्तोमा सिमेन्ट निर्यात गर्न सकिन्छ, निर्यात पनि बढ्ने भएपछि देशको अर्थतन्त्रमा पनि टेवा पुग्छ,’ उनले भने ।
सरकार के भन्छ ?
सरकारी स्तरबाट पनि सिमेन्टको प्रयोगबाट सडक निर्माण गर्नु पर्ने धारणा आएकोे छ । सहरी विकास मन्त्रालयका सचिव मणिराम गेलालले सिमेन्ट उद्योगहरुले देशको अर्थतन्त्रमा ठूलो योगदान गरेको बताउँदै उद्योगहरुलाई सहज वातावरण सिर्जनाका लागि सरकार सधैं तयार रहेको बताए ।
‘सिमेन्ट खपतका लागि बजार उपलब्ध गराउन सकियो भने राम्रो हुन्छ, यसको खपत बढाउन सकियो भने १४% व्यापार घाटा कम गर्न सकिन्छ भन्ने विषय पनि आएको छ, कंक्रिटबाट बन्ने सडक कष्ट बढी भएपनि दिर्घकालीन रुपमा सस्तो पर्ने देखिन्छ, अब योजना बनाउँदा स्वदेशी उत्पादनमा ध्यान दिन पनि आवश्यक छ,’ उनले भने ।
यस्तै, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रविन्द्र श्रेष्ठले सरकारले पनि सडक निर्माण गर्दा सिमेन्ट प्रयोग गर्नका लागि निर्देशिका तयार पारेको जानकारी दिए ।
‘यसका लागि हामीले पनि टेक्निकल गाइडलाइन तयार गरेका छौं, हामीले अहिले पनि पानी जम्ने ठाउँमा कंक्रिटको प्रयोग गरेर सडक बनाइराखेका छौं तर, कष्ट बढी नै यसको प्रमुख समस्या छ, अब कसरी अगाडि बढ्न सकिन्छ, छलफल गरौं,’ उनले भने ।
उनले अहिले सडकको माग बढी भएकोले पनि सरकारले जति सक्दो कम लगानीमा जोड दिइरहेको बताए । ‘बिटुमिन सडक बढी टिकिरहेको छैन, कंक्रिट पेभमेन्ट गर्दा २८ दिनसम्म राख्नु पर्ने, कतिपय ठाउँमा चाहेर पनि गर्न नसकेको अवस्था छ, बिटुमिनको क्वालिटी राम्रो छैन भन्ने कुरा आइरहेको छ,’ उनले भने ।
उद्योग मन्त्रालयका सचिव अर्जुन पोखरेलले पनि सिमेन्टको निर्यातमा सरकार सकारात्मक रहेको तर्क राखे । ‘के कसरी काम गर्न सकिन्छ प्रस्ताव ल्याउनुस, यो हाम्रो लागि नयाँ हो, विदेशी स्ट्यान्डर्ड र जनशक्ति हाम्रोमा छकि छैन भन्ने कुरा पनि आवश्यक छ, देशमा राम्रो काम गर्नु हामी सबैको दायित्व हो, रोड इञ्जिनियरिङ र रोड सेफ्टीमा ध्यान दिनु पर्ने हुन्छ, निजि क्षेत्रसँग सहकार्य गर्न सरकार तयार जहिल्यै तयार छ,’ उनले भने ।