दमौली । चालु आर्थिक वर्षको पहिलो छ महिनामा तनहुँमा एक हजार ६५ उद्योग दर्ता भएका छन् । तीमध्ये सबैभन्दा बढी कृषिजन्य उद्योग रहेका छन् ।
घरेल् तथा साना उद्योग कार्यालय तनहुँका अनुसार दर्ता भएका उद्योगमध्ये ७२१ कृषिजन्य, ७४ उत्पादनमूलक, १९७ पर्यटनमूलक, १६६ सेवामूलक, चार सूचना तथा प्रविधिमूलक रहेका छन् । कार्यालयमा कृषिजन्य, ऊर्जामूलक, खनिजजन्य, पूर्वाधार, पर्यटनमूलक लगायतका उद्योग दर्ता हुँदै आएका छन् ।
दर्ता भएकालाई निजी र साझेदारी लघु उद्यम, घरेलु उद्योग र साना उद्योगमा वर्गीकरण गर्ने गरिएको छ । गत आर्थिक वर्षमा जिल्लामा दुई हजार एक उद्योग दर्ता भएका थिए । आर्थिक वर्ष २०७६/७७ मा जिल्लामा तीन हजार ५१५ उद्योग थपिएको थियो ।
कृषि र पशुपालनमा युवाको आकर्षण बढेसँगै कृषिसम्बन्धी उद्योग दर्तामा वृद्धि भएको कार्यालयका प्रमुख नारायणप्रसाद ढकालले बताए । ‘कोरोना भाइरस सङ्क्रमणका कारण वैदेशिक रोजगारीबाट फर्किएका युवाले गाउँमै उद्यम सुरु गरेका छन्’, उनले भने, ‘कृषि तथा वनजन्यतर्फ दुग्ध डेरी, गाईपालन, बाख्रापालन, कुखुरापालन, मौरीपालन, माछापालन, तरकारी खेतीतर्फ आकर्षण बढ्दो छ ।’ जिल्लामा दर्ता भएका उद्योगले पाँच हजारभन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिएका छन् ।
कार्यालयले सोही अवधिमा ३० लाख भन्दा बढी राजस्व सङ्कलन गरेको छ । दर्ता भएका उद्योगबाट ३० लाख ४३ हजार राजश्व सङ्कलन भएको कार्यालयले जनाएको छ । एक लाखसम्म पुँजी भएको उद्योगले एक हजार १ सय, ३ लाखसम्म पुँजी भएको उद्योगले तीन हजार १००, पाँच लाखसम्म पुँजी भएको उद्योगले ६ हजार १००, ५० लाखसम्म पुँजी भएको उद्योगले १२ हजार १००, एक करोडसम्म पुँजी भएको उद्योगले २० हजार १००, पाँच करोडसम्म पुँजी भएको उद्योगले ३० हजार १०० र पाँच करोडभन्दा माथि पुँजी भएको उद्योगले ५० हजार ११० दर्ता बापत शुल्क बुझाउनुपर्छ ।