सनराइज बैंकको स्थापना र दुगड परिवारको संघर्ष

<p>काठमाडौं । एमभी दुगड ग्रुपका अध्यक्ष मोतिलाल दुगडले आइतबार ‘कृषि उद्यमदेखि जलविद्युतसम्म’ पुस्तक विमोचन गरेका छन् । उनले काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै सो पुस्तक विमोचन गरे । ३५४ पृष्ठ लामो पुस्तकमा आफ्नो पुर्खाको इतिहास, बाल्यकाल, नेपाली व्यापार व्यवसाय र बैंक तथा वित्तीय संस्थाको विषयमा पनि चर्चा गरेका छन् । उनले पुस्तकमा नेपाली बैंक तथा [&hellip;]</p>

काठमाडौं । एमभी दुगड ग्रुपका अध्यक्ष मोतिलाल दुगडले आइतबार ‘कृषि उद्यमदेखि जलविद्युतसम्म’ पुस्तक विमोचन गरेका छन् । उनले काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै सो पुस्तक विमोचन गरे । ३५४ पृष्ठ लामो पुस्तकमा आफ्नो पुर्खाको इतिहास, बाल्यकाल, नेपाली व्यापार व्यवसाय र बैंक तथा वित्तीय संस्थाको विषयमा पनि चर्चा गरेका छन् । उनले पुस्तकमा नेपाली बैंक तथा वित्तीय संस्थासँगको दुगड ग्रुपको सम्बन्धसँगै सनराइज बैंक स्थापनाको विषयमा पनि छर्लङ्ग पारेका छन् । प्रस्तुत छ उनको आत्मकथामा आधारित सनराइज बैंक स्थापनाको कथा

टीएम ग्रुपमै रहँदा वि.स. २०६२/६३ तिर ठूल्दाई तोलाराम दुगड, म मेरो छोरा विवक दुगडबीच उद्यम–व्यवसायलाई विस्तारै विविधीकरण गर्दै नयाँ क्षेत्रमा जानुपर्ने छलफलपछि हामीले बैक र जीवनबीमा कम्पनी स्थापना गर्नु उपयुक्त हुने निर्णय गरेका थियौं । त्यसमध्ये हाम्रो पहिलो प्राथमिकता बैंक र त्यसपछि बीमा कम्पनी स्थापना गर्ने थियो । तर बैंक र बीमा कम्पनी दुवै एकैपटक स्थापना गर्न सजिलो थिएन । किनभने त्यसका लागि एकातिर ठूलो लगानीको आवश्यकता पर्थ्यो भने अर्कोतिर एउटै परिवारले निश्चित प्रतिशतभन्दा बढी सेयर लिन नपाउने कानूनी प्रावधान थियो । त्यसैले हामीले सबैभन्दा पहिले सम्भावित अन्य लगानीकर्ताहरू खोज्ने काम थाल्यो । त्यसक्रममा अन्य व्यावसायिक समूहहरू बैंक स्थापनाका लागि हामीसँग जोडिए ।

निवदेन दर्ता नगर्ने हल्ला र ‘सनराइज’ नामकरण

त्यसैबेला एउटा हल्ला चलिरहेको थियोः नेपाल राष्ट्र बैंले अब बैंक स्थापनाका लागि दिइने निवेदनहरू दर्ता नगर्ने निर्णय गर्दै छ भनेर । त्यो हल्ला कति सत्य थियो हामीलाई थाहा थिएन, तर त्यो हल्लाले हामीलाई बैंक स्थापनाको काम अब छिटछिटो सक्नुपर्छ भन्ने बोध भने गरायो । हुन पनि त्यत्रो प्रयास भइसकेको अवस्थामा नेपाल राष्ट्र बैंकले निवेदन नै दर्ता नगरिदिएको अवस्थामा हाम्रो हालत के हुन्थ्यो ? मच्चियो, मच्चियो, थच्चियोजस्तो । त्यसैले हामी हतारियौं, यो स्वाभाविक पनि थियो । त्यसबेलासम्म नेपाली बजारमा विदेशी बैंकहरूसँगको साझेदारीका साथै नेपाली निजीक्षेत्रको लगानीमा थुप्रै बैंक स्थापना भइसकेका थिए । निजीक्षेत्रबाट बैंकहरू स्थापना गर्न दिने निर्णयपछाडि वि.सं. २०४७ को राजनीतिक परिवर्तनको महत्त्वपूर्ण हात थियो । किनभने, सरकारले उदारीकरणसँगसँगै निजीक्षेत्रका लागि लगानीका थुप्रै अवसर खोलिदिएको थियो । नेपालको केन्द्रीय बैंक भएकोले बैंक स्थापनाका लागि नेपाल राष्ट्र बैंकको स्वीकृति आवश्यक थियो ।

बैंकक स्थापनाका लागि निवेदन दिनुअघि नाम छान्नु आवश्यक थियो । दाइ तोलाराम दुगडको सल्लाह र स्वीकृति अनि अन्य सबै समेतको सहमतिमा हामीले बैंकको नाम ’सनराइज बैंक लि.’राख्ने निर्णय गर्यौं र यसको थिम राख्यौं  ‘राइजिङ्ग टु सर्भ’ त्यसपछि नेपाल राष्ट्र बैंकमा निवेदन दर्ताका लागि चाहिने सबै कागजात हतारहतार जम्मा गर्यौं र निवेदन दर्ता गर्यौं । आवश्यक सबै कागजात जुटाउने र नेपाल राष्ट्र बैंकमा निवेदन दर्ता गर्ने कार्यको जिम्मा भने जनार्दन शर्माजीलाई दिइएको थियो । त्यस काममा उहाँलाई दीपक नेपाल (उनी अहिले सर्वसाधारणका तर्फबाट बैंकको सञ्चालकसमेत छन्) लगायतका अन्य साथीहरूले पनि सघाउनुभएको थियो । आवश्यक कागजातहरू जुटाउन लगानीकर्ता सबै समूहका साथीहरूको सक्रियता पनि अत्यन्त उत्साहजनक र सहयोगपूर्ण रह्यो ।

नेपाल राष्ट्र बैंकमा निवेदन दर्ता

नेपाल राष्ट्र बैकमा निवेदन दर्ताका लागि जाँदा जनार्दन शर्माजीसँगै दीपक. नेपाल र म पनि थियौं । हामी साढे १० बजे नै नेपाल राष्ट्र बैंकको नियमन विभागका प्रमुखको कार्यकक्षमा पुगेका थियौं । त्यसबेला उक्त विभागको प्रमुखमा सुरेन्द्रमान प्रधान हुनहुन्थ्यो । हामीले निवेदन उहाँलाई दियो । उहाँले निवेदन सरसर्ती पढनुभयो र मलाई प्रश्न गर्नुभयो, ‘दुगडजी के साँच्चै बैंक खोल्ने हो त ?’ मेरो स्वीकारोक्तिपछि उहाँले निवेदनमा तोक लगाई दिनुभयो । केही समय उहाँसँग कुराकानी गरेपछि हामी उहाँको कार्यकक्षबाट । निस्कियौं र निवेदन दर्ता गरेर दर्ता नम्बर लिएर फर्क्यौं । नेपाल राष्ट्र बैंकका नियमन विभागका तत्कालीन प्रमुख प्रधानज्यूले सोध्नुभएको मलाई हिजोअस्ति जस्तो लाग्छ तर समय कति छिटो बितिसकेछ । नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त हनासाथ अघि बढन सजिलो होस् भनेर हामीहरू निवेदन दर्तापछि पनि अन्य आवश्यक कामहरूमा निरन्तर जुटिरह्यौं । साथै, नेपाल राष्ट्र बैंकमा गएर निवेदनमाथि के भइरहेको छ भनेर नेपाल राष्ट्र बैंकर अन्य सम्बन्धित क्षेत्रसँग बेलाबेला बुझ्ने कामको जिम्मा जनार्दन शर्मा र दीपकनेपाललाई दियौं । एक दुई दिनको फरकमा उहाँहरु नेपाल राष्ट्र बैक गएर निवेदनमाथि के–कस्तो कारबाही भइरहेछभनेर बुझ्ने गर्नुहन्थ्यो । केही दिनपछि यो काम दीपक नेपाल एक्लैले गर्न थाल्नुभयो । म पनि नेपाल राष्ट्र बैङ्क र अन्य सम्बद्ध क्षेत्रसँग सम्पर्क गरेर के भइरहेछ भनेर अनुगमन गरिरहन्थे । हाम्रो निरन्तरको प्रयत्नपछि निवेदन दिएको करीब ६ महिनाभित्र हामीले नेपाल राष्ट्र बैंकबाट सनराइज बैंक लि. स्थापनाका लागि एलओआई (लेटर अफ इन्टेन्ट) प्राप्त गर्यौं । एलओआई पाउनका लागि आवश्यक कागज जुटाउन सबै ग्रुपका साथीहरूले भरपुर सहयोग गर्नुभएको थियो । हामीले एलओआई पाएकै दिन बैंकअफ एशियाले पनि एलओआई पाएको थियो ।

संस्थापक सञ्चालक समिति, बैङ्क स्थापना र समुद्घाटन

बैंक स्थापनाका समयमा बैंक सञ्चालक समितिको संस्थापक अध्यक्षमा मेरा ठूल्दाइ तोलाराम दगड हनुहन्थ्यो भने सञ्चालक सदस्यहरूमा मसहित अन्य व्यक्तिहरू थियौं । बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) किशोर महर्जन हुनुहुन्थ्यो भने बैंकका उच्च अधिकृतहरूमा आशा राणा अधिकारी, बलराम विष्टलगायत रहनुभएको थियो ।

एलओआई पाउनासाथ हामीले बैंक स्थापनाका लागि गर्नुपर्ने कामहरूलाई दु्रतगतिले अघि बढायौं । सबैभन्दा पहिले बैंकको प्रधान कार्यालय स्थापनाका लागि आवश्यक घर खोज्नुथियो । किनकि एलओआईमा तोकिएको समयसीमाभित्रै हामीले प्रधान कार्यालय स्थापना गरिसक्नु पर्थ्यो । हामीले गैहीधारामा बैंकको प्रधान कार्यालय स्थापना गर्यौं । त्यहाँ प्रधान कार्यालय राख्दा धेरैले त्यस्तो एकान्त र टाढाको ठाउँमा पनि बैंकको कार्यालय राख्ने हो भनेर प्रश्न पनि नगरेका होइनन् । हामीले लिएको घर त्यतिखेर नयाँ डिजाइनमा बनेको ठूलो चारतले थियो र आकर्षक थियो । सुरूमा हामीले उक्त घरको आधा भाग मात्र कार्यालयका लागि लिएका थियौं तर पछि लगत्तै अपुग हुन्छ होला भन्ने सोचेर पुरै घर लियौं । त्यसबेला त्यस क्षेत्रमा अरू बैंकहरू एउटै थिएनन् तर पछि अरू कतिपय बैंकहरूले त्यस क्षेत्रमाआफ्ना प्रधान कार्यालय वा शाखा÷प्रशाखाहरू खोलेको देख्दा हाम्रो छनोट अत्यन्त उपयुक्त र दूरदर्शी थियो भन्ने प्रमाणित भयो ।

मोतिलाल दुगड र उनका छोरा विवेक दुगड ।

एलओआई लिएको करीब ४ महिनापछि नै हामीले नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको वाणिज्य बैंकको हैसियतले बैंक तथा वित्तीय संस्थाको कारोबार गर्नेगरी बैंक सञ्चालनका लागि इजाजत प्राप्त गर्यौं । हामीले इजाजत प्राप्त गरेको मिति थियो । वि.सं. २०६४ असोज २० । नेपाल राष्ट्र बैंकले दिएको समयसीमाभित्र बैंक सञ्चालन गर्नुपर्ने भएकोले तत्कालीन सञ्चालक समितिको अध्यक्ष र मसहित सबै सदस्यले धेरै मिहिनेत गर्नुपरेको थियो । त्यसपछि हामीले बैंकको उद्घाटनका लागि आवश्यक तयारी गर्यौं र अन्ततोगत्वा मेरो ठूल्दाइ तथा बैंकका अध्यक्ष तोलाराम दुगडको विशेष आग्रहमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाबाट वि.सं. २०६४ । कात्तिक २१ मा सनराइज बैंकको विधिवत् समुद्घाटन भयो । संयोगले भनौं, त्यो दिन म जन्मेको बार ’बुधबार’ थियो । सामान्यतया नेपालमा बैंकहरूको उदघाटन अर्थमन्त्रीहरूबाट हने गरेको पाइन्छ, प्रधानमन्त्रीले गर्नु अपवादजस्तो मात्र देखिन्छ ।

तर, उदघाटन समारोहमा भने म उपस्थित भइँन । उद्घाटन हुने निश्चितभएपछि नै दाइ तोलाराम दुगडलाई मैले भनें, “बैंक उद्घाटनको तपाईं गराउनुहोस् । मलाई किन–किन उद्घाटनका दिन धर्मगुरूकहाँ पुग्ने ईच्छा जागृत भएको छ ।” ठूल्दाइले मेरो निर्णयप्रति आपत्ति व्यक्त गर्नुभयो र भन्नुभयो, “तिमीले नेतृत्व लिएर बैङ्कलाई स्थापनाको चरणसम्म पुर्याएका छौं, यति धेरै मिहिनेत गरेका छौं । उद्घाटनका दिन तिम आचार्यश्रीकहाँ नजाऊ ।“ तर मैले विनम्रतापूर्वक आफ्नो कुरा राखेपछि दाइले स्वीकृति दिनुभयो । यसरी दाइको अनुमति लिएर म राजस्थानको उदयपुरमा त्यसबेलाका धर्मगुरू आचार्यश्री महाप्रज्ञको दर्शन गर्न गएँ । आचार्यश्रीको दर्शनपछि उहाँलाई मैले मेरो त्यस्तो अनौठो ईच्छा जागृत भएको जाहेर गरेपछि उहाँले पनि अचम्म मान्नुभयो । त्यसपछि मैले सनराइज बैंकको स्थापना भई आज उद्घाटन हुने जानकारी दिँदै आशीर्वाद दिन आग्रह गरेकोमा उहाँ सदाझै मुस्कुराउनु भयो र प्रसन्नमुद्रामा मङ्गल पाठ सुनाई आशीर्वाद दिनुभयो । आचार्यश्रीको आशीर्वाद प्राप्त हुँदा मेरो हृदय खुसीले गद्गद् भयो र आफ्नो निर्णयप्रति अझै सन्तुष्टि महसुस गरेँ ।

सञ्चालक समितिको अध्यक्षको जिम्मेवारी

सनराइज बैक लि.को संस्थापक अध्यक्ष दाइ तोलाराम दुगडको वि.सं. २०६८ जेठ १५ गते निधन भएपछि सञ्चालक समितिका तत्कालीन सदस्यहरूको अनरोधमा अध्यक्षको पद सँभाल्ने जिम्मेवारी मेरो काँधमा आयो । बैंकको स्थापनाको सपना देख्नेदेखि संस्थापक सञ्चालक समितिको सदस्यको रूपमा समेत काम गरिसकेको हुनाले सञ्चालक साथीहरूले यो जिम्मेवारी मलाई सुम्पेको हुनुपर्छ जस्तो मलाई लाग्छ । दाइ तोलाराम दुगडले पनि स्थापना कालदेखि आफू बाँचुञ्जेल बैंकको हित र प्रगतिमा अविस्मरणीय योगदान पुर्याउनुभयो । मैले अध्यक्ष पद सँभालेपछि रिक्त रहेको सदस्य पदमा भने दाइ तोलाराम दुगडको छोरा मालचन्द दुगड नियुक्त भए । सञ्चालक साथीहरूले जिम्मेवारी दिएपछि म लगभग १० वर्षदेखि बैंकको सञ्चालक समितिको अध्यक्ष रहेको छु । यो जिम्मेवारी मैले सरूमा वि.सं. २०६८ जेठ१६ गते पाएको थिएँ ।

छोटो समयमा उल्लेखनीय उपलब्धि

बैंक स्थापना भएको अहिले १४ वर्ष पूरा भई १५ वर्षमा प्रवेश गरेको छ । प्रारम्भकालीन साढे ३ वर्ष दाइ तोलाराम दुगडको नेतृत्व र त्यसपछि मेरो नेतृत्वमा बैंकको कार्यप्रगति उत्तरोत्तर दिशामा अघि बढेको छ । मैले अध्यक्षको हैसियतले सक्दो सेवा गर्दै आएको छु । बैंक स्थापना कालदेखि नै सञ्चालकको रूपमा रही पछि अध्यक्षसमेतको लामो अनुभव बटुलेको हुनाले मेरो नेतृत्वमा बैंकले अहिले राम्रो प्रगति गरिरहेको छ । यस अवधिमा बैंकले पूँजी वृद्धि, लगानी विस्तार र विविधीकरण, निक्षेप सङ्कलन, शाखा विस्तार, रोजगारी लगायतका क्षेत्रमा ठूलो उपलब्धि हासिल गरेको छ । यी उपलब्धिहरू बैंकका सबै सञ्चालक सदस्यज्यूहरू, प्रमुख कार्यकारी अधिकृतलगायतसबै कर्मचारी र हामीलाई विश्वास गर्ने सेवा निष्ठा, सेवा र समर्पणको प्रतिफल हो भन्ने मैले ठानेको छु । विश्वमै अनि आफलाई ‘बैङ्कको पहिलो जीवित जैन अध्यक्ष’ को रूपमा पाएकोमा पनि मैले आफूलाई गौरवशाली ठानेको छु ।

सनराइज बैंकको हालका सीईओ सुमन शर्मा ।

स्थापना कालमा बैंकको चुक्ता पूँजी रू. १ अर्बमा सीमित रहेकोमा अहिले बढेर वि.सं. २०७७ फागुन मसान्तसम्ममा लगभग रू. १० अर्ब पुगेको छ । अहिले देशभरिमा गरेर यसका शाखा संख्या १३९ पुगेको छ, त्यसमध्ये काठमाडौं उपत्यकामा ४४ र उपत्यकाबाहिर ९५ वटा रहेका छन् । यसबाहेक ६६ वटा शाखारहित बैङ्किङ सेवा, १२ वटा एक्सटेन्सन काउन्टर र १६० वटा एटीमएम रहेका छन् । देशका सातै प्रदेशमा प्रादेशिक कार्यालय छन् । सेवारत कर्मचारीहरूको संख्या वि.सं. २०७७ असोजसम्मको तथ्याङ्कअनुसार १ हजार ४९७ रहेको छ । बैंकले देशभरका ७ लाखभन्दा बढी सेवाग्राहीलाई बैंकिङ् सेवा पुर्याइरहेको छ । सामाजिक उत्तरदायित्वअन्तर्गत सामाजिक सेवामा पनि बैंक निरन्तर क्रियाशील रहँदै आएको छ । प्रत्येक वर्ष असोज २१ गते बैंकले आफ्नो वार्षिकोत्सव मनाउने गरेको छ । उक्त दिन बैंकको आर्थिक सहयोगमा नेपाल बाल सङ्गठनले बालबालिकाहरूलाई फलफूल र शैक्षिक सामग्री उपलब्ध गराउने गर्छ ।

एउटा संयोग

एउटा अनौठो संयोगको कुरा पनि उल्लेख गर्न चाहन्छु । सनराइज बैंक स्थापनाका लागि नेपाल राष्ट्र बैंकमा निवेदन दर्ताका क्रममा जसले तोक लगाउनुभएको थियो, उहाँ अर्थात् सुरेन्द्रमान प्रधानलाई नेपाल राष्ट्र बैङ्कबाट निवृत्त हुनुभएको केहीपछि हामीले ४ वर्षका लागि बैंकको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्यौं । उहाँले आफ्नो ४ वर्षको कार्यकाल सफलतापूर्वक सम्पन्न गर्नुभयो ।

(दुगडकाे  ‘कृषि उद्यमदेखि जलविद्युतसम्म’ पुस्तकबाट साभार) 

Share News