काठमाडौं । नेपाल बैंकको सञ्चालक समितिमा सरकारको तर्फबाट मनोनित हुने सञ्चालकको संख्या घटेको छ । बैंकले सञ्चालक समितिमा सञ्चालकको प्रतिनिधित्व सम्बन्धी साविकको व्यवस्थामा परिवर्तन गरी नेपाल सरकारबाट मनोनित हुने ४ (चार) जना सञ्चालकबाट घटाई ३ (तीन) जना मात्रै कायम गर्ने भएको हो ।
असोज १९ गते सम्पन्न बैंकको विशेष साधारण सभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । साथै, सभाले सर्वसाधारण सेयरधनीको तर्फबाट निर्वाचित हुने २ (दुई) जना सञ्चालकबाट वृद्धि गरी ३ (तीन) कायम गर्ने प्रस्तावलाई पारित गरेको छ ।
साथै, बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बमोजिम हुने गरी प्रबन्धपत्र तथा नियमावलीलाई समयानुकूल अद्यावधिक गर्न प्रबन्धपत्र तथा नियमावलीका अन्य व्यवस्थामा संशोधन/थपघट गर्ने प्रस्तावलाई सभाले पारित गरेको छ ।
साथै, बैंकको प्रबन्धपत्र तथा नियमावलीको प्रस्तावित संशोधनमा नियमनकारी निकायहरुबाट कुनै फेरबदलको सुझाव प्राप्त भएमा सो बमोजिम आवश्यक फेरबदल गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव समेत सभाले पारित गरेको छ ।
बैंकले भिडियो कन्फ्रेन्स÷वेविनार मार्फत विशेष साधारण सभा सम्पन्न गरेको हो ।