
काठमाडौं । प्रभु बैंकले महिला सफा टेम्पो चालकहरुलाई अधिकतम १ लाख रुपैयाँ र विद्यालय शिक्षकहरुलाई अधिकतम ४ लाख रुपैयाँ कर्जा प्रदान गर्ने भएको छ । बैंकले ‘सहयात्रा समृद्दिको(पार्टनरशीप फर प्रोसपेरिटी)’ नामको कर्जा योजना अन्तर्गत पहिलो चरणमा काठमाडौं उपत्यका भित्रका महिला सफा टेम्पो चालक र विद्यालयका शिक्षकहरुलाई सो मात्राको कर्जा सुविधा सरल र सहज तरिकाले उपलब्ध गराउने भएको हो ।
बैंकले आज मात्रै ‘सहयात्रा समृद्दिको(पार्टनरशीप फर प्रोसपेरिटी)’ नामको कर्जा योजना शुरु गरेको हो । यो कर्जा योजना शुभारम्भको अवसरमा बैंकले काठमाडौं उपत्यका भित्रका १० जना महिला सफा टेम्पो चालकहरुलाई कर्जा प्रमाणपत्र हस्तान्तरण गरेको छ । यो कर्जा योजना तोकिएका अन्य पेशा, उधम र व्यबसाय साथै काठमाडौं उपत्यका बाहिर पनि क्रमशः लागू गर्दै जाने व्यहोरा जानकारी गराइन्छ ।
नेपाल राष्ट्र बैंक, सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धि एकिकृत कार्यविधी, २०७५ अन्तर्गतको यो कर्जा योजना आइडिया स्टुडियो नेपाल सँगको सहकार्यमा कोभिड-१९ को कारणले प्रभाबित र समस्यामा परेका साना उधमी तथा व्यबसायी, स्वरोजगार उधमी, शिक्षीत बेरोजगार युवा, बिदेशबाट फर्केका बेरोजगार युवा, परम्परागत पेशा र व्यबसायमा सँलग्न उधमी हरुको बिधमान र्आिथक कठिनाईलाई व्यवस्थापन गर्न र यस माहामारीमा उनीहरुका पेशा, उधम र व्यवसायहरुलाई पुन सुचारु गर्न सहयोग पुर्याउने लक्ष्यका साथ ल्याईएको हो । सहयात्रा समृद्दिको यो कर्जा योजना उक्त समुहलाइ आर्थिक उन्नति सहित जिवनभरको एउटा वित्तीय आधार र संयन्त्र तयार गर्ने एउटा प्रयास पनि हो ।
सरकारबाट जारी लामो समयसम्मको बन्दाबन्दीको कारण उपत्यकामा टेम्पो लगायत अन्य सार्वजनिक सवारी साधनहरुमा रोक लगाए सँगै विशेषगरी महिला सफा टेम्पो चालकहरु आर्थिक संकटका बिच बाँचिरहेका छन् । नियमित रुपमा भईरहेको आम्दानी गुमाउनु परेसँगै दैनिक रोजीरोटीको लागी आर्थिक जोहो गर्ननसक्दा अहिले निकै ठूलो आर्थिक दबाबका बिच आफ्नो घर व्यवहार चलाउन उनीहरु बाध्य छन् ।
अर्कोतिर, हाल विद्यालयहरुले विधार्थीहरुका लागि अनलाईन कक्षाहरु संचालन गरिरहेका छन् तर शिक्षकहरुले अनलाइन कक्षा संचालनका लागि आवश्यक पर्ने इन्टरनेट पहुँच, कम्प्यूटर तथा फर्निचर जस्ता न्यूनतम आवश्यकताहरुको जोहो गर्न सकेका छैनन् । यही समस्यालाई मध्येनजर गर्दै बैंकले उक्त योजना ल्याएको हो ।
‘सहयात्रा समृद्दिको’ कर्जा योजना र यसको प्रक्रियामा ग्राहकहरुले कर्जा संगसंगै वित्तीय साक्षरता, वित्तीय व्यवस्थापन र अनुशासनको ज्ञान तथा सीपहरु पनि सिकुन भन्ने अभिप्राय केन्द्रित गरिएको छ । यस विषमताको घडिमा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा मार खेपिरहेका व्यक्ति र व्यबसायहरु यस कर्जा योजनाबाट लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।