चार्टर्ड, नविल, इन्भेष्टमेन्ट, सिटिजन्स बैंक र इसेवामा विटक्वाइन कारोबारीको खाता नभएको पुष्टी

<p>काठमाडौं । लोकलविटक्वाइन्सडटकम नामक क्रिप्टो करेन्सी कारोबार गर्ने वेबसाइटमा भुक्तानीको लागि रकम जम्मा गर्न भनिएको स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल, नविल, नेपाल इन्भेष्टमेन्ट, सिटिजन्स बैंक र इसेवामा ती व्यक्तिहरुको खाता नभएको पुष्टी भएको छ । सम्बन्धित बैंकहरु र इसेवाले बेग्लाबेग्लै र संयुक्त रुपमा गरेको अनुसन्धानमा बैंकको नाम उल्लेख गर्ने दीपेन्द्र भुसाल४९ प्रयोगकर्ताको यी सबै बैंकमा खाता [&hellip;]</p>

काठमाडौं । लोकलविटक्वाइन्सडटकम नामक क्रिप्टो करेन्सी कारोबार गर्ने वेबसाइटमा भुक्तानीको लागि रकम जम्मा गर्न भनिएको स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल, नविल, नेपाल इन्भेष्टमेन्ट, सिटिजन्स बैंक र इसेवामा ती व्यक्तिहरुको खाता नभएको पुष्टी भएको छ ।

सम्बन्धित बैंकहरु र इसेवाले बेग्लाबेग्लै र संयुक्त रुपमा गरेको अनुसन्धानमा बैंकको नाम उल्लेख गर्ने दीपेन्द्र भुसाल४९ प्रयोगकर्ताको यी सबै बैंकमा खाता नभएको खुलेको हो ।

‘लोकलविटक्वाइन्सडटकममा विटक्वाइनको कारोबार गर्ने युजरनेम भएका दीपेन्द्र भुसालको बारेमा अध्ययन गर्यौं, हाम्रा बैंकमा यस्तो नाम भएका खातावाल पनि रहेनछन् र कुनै खातावालबाट त्यस्तो कुनै शंकास्पद कारोबार भएको पनि पाइएन, बैंकको प्रणालीले थाहा नपाउने गरी कसैले कुनै प्रकारको गैरकानुनी काम गरेको रहेछ भने अझै पनि अनुसन्धान गरेर आवश्यक कारबाही प्रक्रिया अघि बढाउँछौं,’ सो वेबसाइटमा भुक्तानीको लागि भनेर नाम उल्लेख भएको बैंकको एक उच्च अधिकारीले भने ।

विकासन्युजले हिजो (१४ वैशाखमा) लोकलविटक्वाइन्स नामक विटक्वाइन कारोबार गर्ने वेबसाइटमा भुक्तानीको लागि ती बैंकको नाम उल्लेख भएको सन्दर्भमा समाचार प्रकाशित गरेको थियो । समाचार प्रकाशित भएपछि नाम जोडिएका सबै बैंकहरुले बेग्लाबेग्लै र संयुक्त रुपमा अनुसन्धान गरेका थिए ।

नेपालमा गैरकानुनी रहेको विटक्वाइनको भुक्तानीका लागि नेपाली बैंकको नाम जोडिएको विषयमा नेपाल राष्ट्र बैंकले पनि अध्ययन थालेको छ । राष्ट्र बैंकले सम्बन्धित बैंकहरुलाई सो विषयमा के कस्तो भएको हो भनेर जवाफ मागेको छ । बैंकहरुले आफ्नो बैंकमा यस्तो गैरकानुनी काम नभएको प्रारम्भिक जवाफ राष्ट्र बैंकलाई दिएका छन् ।


चार्टर्ड, नविल, इन्भेष्टमेन्ट, सिटिजन्स बैंक र इसेवाबाट विटक्वाइनको कारोबार !


यता इसेवाले पनि आफ्नो संस्थामार्फत विटक्वाइनको कारोबार नभएको बताएको छ । सो वेबसाइटमा रकम भुक्तानीको लागि इसेवाको नाम उल्लेख गरिएको तर अनुसन्धान गर्दा त्यस्तो रकम भुक्तानी नभएको इसेवाको भनाइ छ ।

बैंक र इसेवाको एकै स्वरः गैरकानुनी काम हुन दिन्नौं

नविल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले नविल बैंकबाट विटक्वाइनको कारोबार नभएको र हुनै नसक्ने बताए ।

यस्तै, सिटिजन्स बैंक इन्टरनेसलले पनि विटक्वाइनको कारोबारको लागि आफूले कसैलाई पनि स्वीकृति नदिएको र यस्तो कार्य गैरकानुनी भएको बताएको छ ।

विटक्वाइनको कारोबारमा सिटिजन्स बैंकको नाम समेत उल्लेख भएको व्यहोराको समाचार प्रकाशित भए लगत्तै बैंकले आन्तरिक रुपमा छानविन गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले जानकारी दिए ।

‘समाचार आउने वित्तिकै हामीले छानविन थालिसकेका छौं, यो वेबसाइट फिनल्याण्डबाट संचालन भइरहेको देखिएको छ, हामीले कसैलाई पनि विटक्वाइनको कारोबार गर्न स्वीकृति दिएका छैनौं, यो कार्य सरासर गैरकानुनी हो,’ प्रमुख कार्यकारी अधिकृत पोखरेलले भने ।

नेपाल इन्भेष्टमेन्ट बैंकले पनि आफ्नो बैंकले विटक्वाइन तथा अन्य कुनै पनि प्रकारका क्रिप्टो करेन्सीको कारोबार गर्न अनुमति नदिएको बताएको छ । विटक्वाइन जस्ता क्रिप्टो करेन्सीको कारोबार गर्न सम्बन्धित बैंक र करेन्सीबीच सम्झौता हुनुपर्ने भएको र नेपालमा अवैध रहेको यस्तो कारोबार नेपाल इन्भेष्टमेन्ट बैंकबाट हुन सक्ने कल्पना पनि नगरिएको बैंकका नायव महाप्रबन्धक तथा सूचना अधिकारी विजेन्द्र सुवालले बताए ।

‘हाम्रो बैंकको नाम जोडेर हामीलाई बद्नाम गर्न पनि कसैले यस्तो कार्य गरेको हुन सक्छ, कसैले हुण्डी जस्तो गरी बैंकको प्रणालीले थाहा नपाउने गरी काम गरेको पनि हुन सक्छ, तर हामीले कसैसँग पनि विटक्वाइन वा यस्तै प्रकारका अरु कुनै पनि क्रिप्टो करेन्सीको कारोबारका लागि सम्झौता गरेका वा अनुमति दिएका छैनौं, जे जसरी हाम्रो बैंकको नाम जोडिएको छ, त्यसको अध्ययन गरेर हामी कानुनी कारबाहीको प्रक्रियामा जान्छौं,’ सूचना अधिकारी सुवालले भने ।

स्ट्याण्डर्ड चार्डर्ड बैंक नेपालले पनि आफ्नो बैंकबाट विटक्वाइन जस्ता क्रिप्टो करेन्सीको कारोबार नहुने र हुन पनि नदिने बताएको छ । नेपालको कानुन तथा नियामक निकायले कुनै पनि प्रकारका क्रिप्टो करेन्सीको कारोबारलाई गैरकानुनी तोकेकोले यसको कारोबार हुनै नसक्ने बैंकका सूचना अधिकारी प्रनु सिंहले बताइन् ।

‘स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल क्रिप्टो करेन्सी जस्ता कुनै पनि व्यवसायमा संलग्न छैन, नेपालको कानुन र नियामक निकायले तोकेका विषयको अधिनमा रहेर हामीले बैंकिङ कारोबार गरिरहेका छौं,’ सूचना अधिकारी सिंहले भनिन् ।

भुक्तानी सेवा प्रदायक इसेवाले पनि आफूले विटक्वाइन जस्ता क्रिप्टो करेन्सीको कारोबार गर्ने कुनै पनि संस्था, निकाय वा कम्पनीसँग सम्झौता गरेर कारोबार नगरे नगराएको बताएको छ । इसेवाले प्रदान गर्दै आएको रकम ट्रान्सफरको सुविधालाई कसैले दुरुपयोग गरेका वा कसैले आफ्नो कम्पनीलाई बद्नाम गर्ने उदेश्यले यस्तो गरेको भएपनि कारबाही प्रक्रियामा जाने इसेवाका प्रमुख संचालन अधिकृत रोशन लामिछानेले बताए ।

‘विटक्वाइन जस्ता क्रिप्टो करेन्सीको कारोबार गर्ने कुनै पनि मर्चेन्ट बैंकर हामीसँग आवद्ध छैनन्, नेपालमा गैरकानुनी मानिएको विटक्वाइनको कारोबारमा इसेवाबाट रकम भुक्तानी गर्न पाइने भन्ने कुरा सम्भव छैन, तर राष्ट्र बैंकले दिएको सीमासम्मको रकम इसेवाबाट एक व्यक्तिले अर्काे व्यक्तिलाई पठाउन सकिन्छ, यही सुविधा दुरुपयोग गरेर कसैले यस्तो कार्य गरेको रहेछ भने पनि हामी कानुनी कारबाही गर्छाैं,’ प्रमुख संचालन अधिकृत लामिछानेले भने ।

राष्ट्र बैंक भन्छः विटक्वाइन गैरकानुनी हो, कारोबार गर्न पाइदैन

नेपाल राष्ट्र बैंकका प्रवक्ता डा. गुणकर भट्टले विटक्वाइनको कारोबार नेपालमा गैरकानुनी भएको स्पष्ट पारेका छन् । नेपालमा विटक्वाइनको कारोबारमा प्रतिबन्द लगाइएकोले कसैले पनि यस्तो कारोबार गर्न गराउन नपाउने उनको भनाइ छ ।

‘विभिन्न बैंकको नाम जोडेर विटक्वाइन कारोबार हुने गरेको भन्ने जानकारी हामीले पनि भर्खरै पाएका छौं, विटक्वाइनको कारोबार नेपालमा गैरकानुनी हो, यो विषयमा कहाँ के भएको रहेछ भनेर हामी पनि बुझ्दैछौं,’ डा. भट्टले भने ।

के हो विटक्वाइन ?

विटक्वाइन एक किसिमको ईन्टरनेट मुद्रा (भर्चुअल करेन्सी) हो । पछिल्लो समय यसलाई कुनै पनि देशको कागजी नोटको विकल्पमा प्रयोग गर्ने गरिएको छ । यसलाई क्रिप्टोकरेन्सी पनि भनिन्छ । यो भनेको तपाईले कुनै १ हजार पर्ने सामान किन्नुभयो भने त्यो पैसा होईन त्यतिनै बराबरको विटक्वाइन दिन सक्नुहुनेछ ।

अहिले ईन्टरनेटमा हजारौं यस्तो मुद्राहरु छन् जो सिमित व्यक्तिले कुनै पनि पैसाको विकल्पमा प्रयोग गर्न सक्छन् । लाईटक्वाइन, ईजीक्यासलगायतका हजारौं यस्ता मुद्राहरुको कारोबार अहिले पनि इन्टरनेटमा भइरहेको छ । त्यसमध्ये विटक्वाइनको स्थापना २००९ स्थापना भएको मानिन्छ । त्यस समयमा कुनै कम्प्युटर सफ्टवेयरमा असाधारण काम गर्ने मानिसहरुलाई रिवार्डं (उपहार) को रुपमा यो प्रदान गर्ने गरिन्थ्यो ।

सफ्टवेयरमा आधारित यो मुद्राको सुरुवात कस्ले गर्यो भन्नेमा अहिलेसम्म पनि विवाद नै छ । किनभने यो खुल्ला मुद्रा हो र बिनानियन्त्रण कारोबार भइरहेको छ । यसलाई पैसा तिरेर आफूले खरिद गर्न सकिन्छ । विश्वको कुनै पनि देशमा यस्ता मुद्राको नियमनकारी निकाय छैन ।

क्रिप्टो करेन्सीको कारोबारमा लाभहानीको प्रसंग पनि जोडिन्छ । तर, यसमा करको विषयमा पनि धेरै देशले निर्णय गरिसकेका छैनन् । केही समय अघिमात्रै जापान सरकारले विटक्वाइनको कारोबारलाई बैधानिकता दिएको छ । जापानले बैधानिकता दिएपछि यसको माग उच्च गराउन सहयोग पुगेको थियो ।

विश्वका विभिन्न देशको चलनचल्तीको परम्परागत मुद्राले बिटक्वाइन किन्न पाइन्छ । मनि एक्सचेन्जरले विदेशी मुद्रा साटेजस्तो गरी अन्य मुलुकमा बिटक्वाइन पनि किन्न र बेच्न पाइन्छ । विश्वका विभिन्न स्थानमा बिटक्वाइन एटीएम मेसिनहरू छन् ।

विटक्वाइन विभिन्न विकसित देशमा मुद्राको विकल्पमा पनि प्रयोग गर्न पाइन्छ । तर नेपालमा भने नेपाल राष्ट्र बैंकले विटक्वाइन लगायत कुनैपनि यस्ता भर्चुअल मुद्राको कारोबारलाई बैधानिकता दिएको छैन ।

लगानीको उपकरण

विटक्वाइन लगायतका क्रिप्टो करेन्सीमा सुन र डलरमा जस्तै लगानी पनि गरिन्छ । तर यसमा लगानी गर्नु निकै नै जोखिमपूर्ण रहेको छ । विश्व इतिहासमा यसरी आएका मुद्राहरु टाट पल्टिएका अर्थात फेल भएका उदाहरण धेरै छन् । किनभने यो कुनै व्यक्ति तथा देशको नियन्त्रणमा छैन । यसको नियमनकारी निकाय तथा कुनै पनि नियमकानूनमा नभएको इन्टरनेट सफ्टवेयरमा आधारित भएको कारण कुनै पनि समयमा दुर्घटना नहोला भन्न सकिन्न ।

विटक्वाइनको सिको गर्दै धेरै क्रिप्टो करेन्सीहरु आएका छन् । लाईटक्वाइन, ईथेरियम, जिक्यास, विटक्वाइन क्यास जस्ता क्रिप्टो करेन्सी संचालनमा छन् । यी सबै एकै प्रकारका खुल्ला सफ्टवेयरमा आधारित क्रिप्टो करेन्सी हुन् । यस्ता भर्चुअल मनी कुनै पनि समय ह्याकर लगायतकाको फन्दामा पर्न सक्ने सम्भावना रहन्छ । र, कारणविनै ध्वस्त हुन पनि सक्छ । सुरक्षाको हिसाबले यस्ता मुद्राहरुमा लगानी गर्नु निकै नै खराब निर्णय हुनसक्छ ।

नेपालबाट सम्भव छ लगानी गर्न ?

करिब छैन । किनभने नेपाल राष्ट्र बैंकले क्रिप्टो करेन्सीलाई गैरकानुनीमा मानेको छ । गैरकानुनी कारोबारमा लगानी गर्न बैंक तथा वित्तीय संस्थाहरुबाट सहज हुदैन ।

अरु समस्या पनि छन् । जस्तो कि नेपालबाट विदेशमा लगानी गर्नको लागि कानुनी रुपमा पाइदैन । विदेश जाने नेपालीले बढीमा लान पाउने वा पठाउन पाउने रकम भनेको ५ सय अमेरिकी डलर हो । कसैले विदेशका कलेजमा भर्ना भएको र कलेज फिस तिर्न रकम पठाउनु पर्यो भने ५ सय डलरभन्दा बढी रकम पठाउन खोज्ने वित्तिकै स्वीफ्टले स्वचालित रुपमै रिजेक्ट गरिदिन्छ । त्यसैकारण बैंकका कुनै कर्मचारीले बद्मासी गर्न चाहेर पनि सम्भव छैन ।

सो वेबसाइटमा उल्लेख गरिएको विटक्वाइनको मूल्य १२ लाख रुपैयाँको हाराहारीमा छ । नेपालमा कसैले अर्काे व्यक्तिको नाममा बैंकमा रकम जम्मा गरिदिनुपर्यो भने १ लाख रुपैयाँभन्दा बढीमा तिनपुस्ते र प्रयोजन खुलाउनु पर्छ । यस्तो अवस्थामा विटक्वाइन किन्नको लागि अर्काे व्यक्तिको खातामा पैसा जम्मा गरिदिन नेपालका बैंक वित्तीय संस्थाले मान्दैनन् ।

अर्काे समस्या भनेको रकम निकाल्न पनि हो । आफ्नै खाताको १ लाख रुपैयाँभन्दा बढी रकम झिक्नु पर्यो भने पनि केवाईसी अपडेट भएको हुनुपर्छ । र, १० लाख रुपैयाँभन्दा बढी रकम नगद झिक्न पाइदैन । चेक काटेर अर्काे व्यक्तिलाई भुक्तानी दिनुपर्छ । एउटै विटक्वाइनको मूल्य १२ लाख रुपैयाँको हाराहारीमा छ ।

इसेवालाई नेपाल राष्ट्र बैंकले दिएको सीमा अनुसार सो परिमाणको रकम पठाउन पाइदैन । त्यसैकारण इसेवाबाट पनि सम्भव छैन ।

तर, सम्भवै नभएको पनि होइन ।

लोकलविटक्वाइन नामक वेबसाइटमा दीपेन्द्र भुसाल नाम गरेको प्रयोगकर्ताले एकभन्दा बढी बैंकको नाम उल्लेख गरेका छन् । यसको अर्थ सानो सानो परिमाणको रकम एकभन्दा बढी बैंकमा जम्मा गर्न लगाएर झिक्न खोजेको पनि हुन सक्छ ।

अर्काे विधि भनेको हुण्डी जस्तो प्रक्रियाबाट हो । जस्तो कि विटक्वाइनको कुनै कारोबारी विदेशमा छ र उसले नेपालमा भएका कसैलाई रकम दिएर विटक्वाइनको कारोबार गर्नै नसक्ने भने होइन । तर, यस्तो कार्य पनि गैरकानुनी हो ।

किन जोडियो नेपाली बैंकको नाम ?

सो वेबसाइटमा उल्लेख गरिएको बैंकबाट विटक्वाइनको कारोबार हुने भन्ने होइन । कारोबारीले भुक्तानीको लागि नेपालका ती बैंक र इसेवाबाट रकम भुक्तानी गरेमा आफूलाई सहज हुन्छ भनेर उल्लेख गरेका हुन् । यसैकारण कारोबारीले नेपाली बैंक वित्तीय संस्था र भुक्तानी सेवा प्रदायकलाई दुरुपयोग गर्न खोजेको भने देखिन्छ ।

लोकलविटक्वाइन कस्तो वेबसाइट हो ?

विभिन्न बैंकहरुले गरेको अनुसन्धानले लोकलविटक्वाइनडटकम विटक्वाइनको काराबोर गर्ने वेबसाइट भएको पुष्टी भएको छ । र, सो वेबसाइटमा देखिएका युजरहरु विटक्वाइनको कारोबारी भएको देखिएको छ ।

Share News