एनसीसी बैंकको नाफा ७५ करोड, खराब कर्जा घट्यो

<p>काठमाडौं । चालु आर्थिक वर्षको ६ महिना अर्थात पुस मसान्तसम्ममा नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंकले ७५ करोड ६३ लाख रुपैयाँ नाफा गरेको छ । गत आर्थिक वर्ष (आव) को सोही अवधिमा बैंकले ७३ करोड ९८ लाख रुपैयाँ नाफा गरेको थियो । बैंकले प्रकाशित गरेको चालु आवको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकले सर्वसाधारणलाई [&hellip;]</p>

काठमाडौं । चालु आर्थिक वर्षको ६ महिना अर्थात पुस मसान्तसम्ममा नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंकले ७५ करोड ६३ लाख रुपैयाँ नाफा गरेको छ । गत आर्थिक वर्ष (आव) को सोही अवधिमा बैंकले ७३ करोड ९८ लाख रुपैयाँ नाफा गरेको थियो ।

बैंकले प्रकाशित गरेको चालु आवको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकले सर्वसाधारणलाई ६४ अर्ब ८९ करोड ५८ लाख रुपैयाँ कर्जा तथा लगानी गरेको छ । गत आवको सोही अवधिसम्ममा बैंकले ६० अर्ब ८५ करोड रुपैयाँ कर्जा तथा लगानी गरेको थियो ।

गत पुस मसान्तसम्ममा बैंकमा सर्वसाधारणको ६३ अर्ब ६१ करोड ७३ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ । गत आवको सोही अवधिसम्ममा बैंकले ६५ अर्ब ९७ करोड ९७ लाख रुपैयाँ निक्षेप संकलन गरेको थियो । गत वर्षको पुस मसान्तको तुलनामा यो वर्षको पुस मसान्तमा बैंकसँग सर्वसाधारणको निक्षेप केही घटेको छ ।

गत पुस मसान्तसम्ममा बैंकले ४ अर्ब ३३ करोड ६६ लाख रुपैयाँ व्याज आम्दानी गरेको छ भने २ अर्ब ६७ करोड ११ लाख रुपैयाँ व्याज खर्च गरेको छ । गत वर्षको पुस मसान्तसम्ममा एनसीसीले ३ अर्ब ८९ करोड १२ लाख रुपैयाँ व्याज आम्दानी गरी २ अर्ब ४२ करोड ५८ लाख रुपैयाँ व्याज खर्च गरेको थियो । गत आवको ६ महिनामा १ अर्ब ४६ करोड ५४ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकले चालु आवको सोही अवधिमा १ अर्ब ६६ करोड ५४ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको छ ।

बैंकको खराब कर्जा अनुपात केही घटेको छ । गत आवको पुस मसान्तमा ३.५३ प्रतिशत रहेको खराब कर्जा अनुपात चालु आवको सोही अवधिमा २.८२ प्रतिशतमा झरेको छ । गत आवको पुस मसान्तसम्ममा ७.९५ प्रतिशत रहेको बैंकको कष्ट अफ फण्ड चालु आवको सोही अवधिसम्ममा ७.५० प्रतिशतमा झरेको छ ।

बैंकको कर्जा निक्षेप अनुपात ७६.६० प्रतिशत छ । गत आवको पुस मसान्तमा यस्तो अनुपात ७८.२१ प्रतिशत थियो । बैंकको बेस रेट गत आवको पुस मसान्तको १०.८७ प्रतिशतबाट केही घटेर यो वर्षको पुस मसान्तमा १०.५८ प्रतिशत भएको छ ।

बैंकको व्याज अन्तर (स्प्रेड) दर गत आवको पुस मसान्तको तुलनामा केही घटेको छ । गत आवको पुस मसान्तमा ५.३८ प्रतिशत रहेको व्याज अन्तर चालु आवको सोही अवधिमा ५.१८ प्रतिशत छ । नेपाल राष्ट्र बैंकले चालु आवको अन्त्यसम्ममा बैंकको व्याज अन्तर दर ४.४ प्रतिशतमा झारिसक्न निर्देशन दिएको छ ।

Share News