काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले यही बैशाख २६ गतेदेखि जेठ १ गतेसम्म हुने प्रधानमन्त्रीको भियतनाम र कम्बोडियाको भ्रमण सफल र फलदायी हुने स्पष्ट पारेका छन् ।
मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै डा. भट्टराईले प्रधानमन्त्री ओलीको भ्रमण भियतनाम र कम्बोडियासँग द्धिपक्षीय सम्भावनाको खोजी गर्नमा पनि केन्द्रित हुने सुझाए । उनले भने,‘भियतनामसँग हाम्रो कुटनीतिक सम्बन्ध धेरै पूरानो हो । तर, यो बीचमा द्धिपक्षीय क्रियाकलापहरु सघन रुपमा हुन सकेका थिएनन् । भियतनाम दक्षिण पूर्वी एशियाको उदाउँदो राष्ट्र हो । द्वन्द्वपछि शान्ति कायम गर्दै स्थायित्व हाँसिल गरेको राष्ट्र हो । प्रधानमन्त्री ओलीको भ्रमणबाट हामीले लाभ लिन सक्छ।’
भट्टराईले बहुंख्यक भियतनामी जनताले बुद्ध धर्म मान्ने भएकोले नेपालमा बुद्धिष्ट पर्यटकहरु भित्र्याउनको लागि पनि प्रधानमन्त्रीको भ्रमण फलदायी हुने विश्वास दिलाए । उनले भने,‘लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थल बन्दैछ । हामीले सन् २०२० लाई पर्यटन वर्षको रुपमा मनाउँदैछौं । त्यसैले धार्मिक पर्यटकहरु भित्र्याउनको लागि पनि यो भ्रमण फलदायी हुनेछ ।’
परराष्ट्र मामिलाका जानकार तथा पूर्व राजदुत डा. शम्भुराम सिम्खडाले प्रधानमन्त्री ओलीको भियतनाम र कम्बोडियाको भ्रमण संस्कृति कुटनीतिलाई बढावा दिन महत्वपूर्ण रहेको टिप्पणी गरे । सिम्खडाले भियतनाम र कम्बोडिया दुवै देश संक्रमणकालीन अवस्थाबाट माथि उठेर उच्चस्तरको आर्थिक वृद्धिद्धर हासिल गरेका मुलुक भएकोले भ्रमणको क्रममा त्यसबाट लाभ लिन सक्नुपर्ने सुझाए ।
पूर्वराजदुत हिरण्यलाल श्रेष्ठले भियतनाम र कम्बोडिया दुवै देशसँग नेपालको पूरानो र प्राचिन सम्बन्ध भएकोले प्रधानमन्त्री ओलीको भ्रमण फलदायी र सफल हुने विश्वास दिलाए ।
वैशाखी–डेमा प्रधानमन्त्रीले मुख्य वक्ताको रुपमा बोल्ने कार्यक्रम रहेकोले उक्त सम्मेलनमार्फत ग्लोवल बुद्धिज्म र लुम्बिनीलाई अन्तर्राष्ट्रिय रुपमा प्रर्वद्धन गर्न पनि ‘माईल–स्टोन’ हुने श्रेष्ठको दाबी छ ।
त्यस्तै, सांस्कृतिक उपलब्धि हासिल गर्न पनि भ्रमण फलदायी हुने उनले विश्वास दिलाए । भियतनाम र कम्बोडियाका पर्यटकहरु नेपाल भित्र्याउनको लागि भ्रमणले महत्वपूर्ण भूमिका खेल्ने उनले विश्वास दिलाए ।