काठमाडौं । आइतबारको सेयर बजारमा विभिन्न ७ कम्पनीको करोडौँ बढीको सेयर कारोबार भएको छ । सो दिन नेपाल बैंक, एनआईसी एशिया बैंक, बैंक अफ काठमाण्डू, नेपाल लाइफ इन्स्योरेन्स, नागरिक लगानी कोष, अपर तामाकोशी हाइड्रोपावर र कुमारी बैंकको एक करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ ।
सो मध्ये सबैभन्दा बढी नेपाल बैंकको सेयर कारोबार भएको छ । जसको एकैदिन ११ करोड ५९ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । बैंकको सेयर मूल्य प्रतिकित्ता ३०० रुपैयाँ रहेको छ ।
त्यस्तै, एनआईसी एशिया बैंक र बैंक अफ काठमाण्डूको २ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । त्यस्तै, नेपाल लाइफ इन्स्योरेन्स, नागरिक लगानी कोष, अपर तामाकोशी हाइड्रोपावर र कुमारी बैंकको एक करोड बराबरको सेयर किनबेच भएको छ ।
आइतबारदेखि नेपाल स्टक एक्स्चेञ्जमा कारोबार खुल्ला गरिएको अपर तामाकोशी एकैदिन करोडौँको सेयर कारोबार भएको छ । जसको आइतबार मात्रै एक करोड १६ लाख रुपैयाँ बराबरको सेयर बिक्री भएको छ । सो दिन हाइड्रोको सेयर मूल्य प्रतिकित्ता २२४ रुपैयाँ रहेको छ । २२४ मा कारोबार भएसँगै आईपीओका लगानीकर्ताले केही महिनाभित्रै १२४ प्रतिशत नाफा कमाएका छन् ।
हाइड्रोपावरको सेयरका लागि नेप्सेले ७४.८९ रुपैंया देखि २२४.६७ रुपैंयासम्मका कारोबार गर्न सकिने गरी प्रारम्भिक रेञ्ज तोकिदिएको थियो । जसमा उच्चतम मूल्यमा कारोबार भएको छ ।
समग्रमा आइतबारको बजारमा कुल १५८ कम्पनीको ३७ करोड २९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो दिनको नेप्से परिसूचक ५.७८ अंकले घटेर ११७५ अंकमा झरेको छ ।
बजारमा उत्पादनमूलक र अन्य समूह बाहेक बाँकी समूहको सूचक राताम्मे भएका छन् । सबैभन्दा बढी निर्जीवन बीमा समूह ७१.२७ अंकले घटेको छ ।