
काठमाडौं । सपर्स लघुवित्त वित्तीय संस्थाको प्रस्तावित ३२.५ प्रतिशत साधारण सेयर (आईपीओ) जारी गर्ने प्रस्ताव पारित भएको छ । आइतबार सम्पन्न संस्थाको दोस्रो वार्षिक साधारण सभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो ।
सभाले पारित गरे बमोजिम जारी पुँजीको ३२.५ प्रतिशतले हुन आउने २ करोड ६९ लाख रुपैयाँ बराबरको २,६९,६३० कित्ता साधारण सेयर सर्वसधारणलाई निष्कासन गर्ने छ । हाल कम्पनीको जारी पुँजी ८ करोड २९ लाख रुपैयाँ रहेको छ ।
विशेष प्रस्ताव अन्तर्गत प्रबन्धपत्र तथा निमयावलीमा संसोधन, जारी पुजीलाई वृद्धि गर्दै संस्थापक तथा सर्वसाधारणको शेयर स्वामित्वलाई ७०ः३० को अनुपातबाट ६७.५०ः३२.५० हुने गरी संशोधन गर्ने तथा थप पाँच जिल्लामा कार्यक्रम विस्तार गर्ने प्रस्ताव पारित भएको छ ।
जनता बंैक नेपाल लि, मेगा बैंक नेपाल लि. र ७५ जना व्यवसायिक तथा प्रतिष्ठित व्यक्तित्वहरुले प्रर्वद्धन गरेको यो वित्तीय संस्थाले हाल २० वटा शाखा मार्फत करिब १२,००० सदस्यहरुलाई ४६ करोड कर्जा लगानी गरेको छ । साथै, कम्पनीले करीब ९ करोड रुपैयाँ बचत संकलन गरेको प्रमुख कार्यकारी अधिकृत तथा कम्पनी सचिव सजल खड्काले बताए ।
१० करोड रुपैयाँ अधिकृत पुँजी रहेको वित्तीय संस्थाको हाल चुक्ता पुँजी ५ करोड ६० लाख रुपैयाँ रहेको छ । सर्वसाधारणलाई सेयर जारी गरे पश्चात कम्पनीको चुक्ता पुँजी ८ करोड २९ लाख रुपैयाँ पुग्नेछ ।