काठमाडौं। मुलुकभित्र महिला उद्यमशीलता प्रवद्र्धनका लागि व्यवसाय सम्बद्ध नीति, कानुन र नियमनको वातावरण हुनुपर्नेमा विज्ञहरूले जोड दिएका छन् ।
उद्यमी मैत्री प्रशासन, व्यवसाय प्रवद्र्धन र सम्बद्र्धनमा सहयोगी वातावरण, पूँजिमा पहुँच र सुलभता र न्यूनतम आधारभूत पूर्वाधार आवश्यक रहेको पनि विज्ञहरूको जोड छ । नेपाल उद्योग वाणिज्य महासंघद्वारा हालै ललितपुरमा आयोजित महिला उद्यमी राष्ट्रिय कार्यशाला गोष्ठी तथा कर्पोरेट नाइट मा विज्ञहरूले सो कुरा औल्याएका हुन ।
सरकारी, निजी र बैंकिङ क्षेत्रका तर्फबाट कार्यपत्र प्रस्तुत गरिएको उक्त कार्यक्रममा तथ्यांक विभागद्वारा हालै सार्वजनिक राष्ट्रिय आर्थिक गणना २०७५ मा मुलकभर ९ लाख २२ हजार चारसय व्यवसाय संचालनमा रहेको र सोमा करिव ३४ लाख श्रम मध्ये महिलाको संख्या १३ लाख ६३ हजार अर्थात ४० प्रतिशत हिस्सा महिलाहरूको रहेको तथ्यांक प्रस्तुत गरियो ।
विगत एक दशक यता ठुलो संख्यामा पुरुष बिदेशिएका कारण परिवारको लालनपालन गर्न नेपाली महिलाहरू आय आर्जन पेशामा आवद्ध हुन थालेको कुरा पनि सो अवसरमा औल्याइयो ।
महिला उद्यमीको स्थलगत सहभागिताको स्थिति हेर्दा २०/२५ नगर र सहरी क्षेत्रहरू र व्यापारिक केन्द्रहरूमा उपभोक्ता मा“गमा केन्द्रित केही लघु, घरेलु र साना उद्योगस्तरमा व्यवसायहरू संचालनमा रहेको तथ्यांक सो अवसरमा प्रस्तुत गरियो । खासगरी महिला संलग्न व्यवसायमा कम लगानी, सिमित उत्पादन र व्यापार रहेको पनि सो अवसरमा विज्ञहरूबाट प्रस्तुत कार्यपत्र औल्याइएको थियो ।
अन्य अधिकांश क्षेत्रहरूमा महिला उद्यमीहरूको सहभागिता स्थानिय कृषि, खनिज र बनस्पती कच्चा पदार्थमा आधारित लघु र घरेलु उद्योग वर्गीकरणका प्राय फुर्सदको समयमा गर्ने गतिबिधि जिबिकोपार्जन स्तरको रूपमा रहेको समेत कार्यक्रममा जानकारी गराइयो । औधोगिक नीति, औधोगिक व्यवसाय ऐन, आर्थिक ऐन र वार्षिक कार्यक्रमहरूमा प्रवद्र्धन पक्षमा विशेष जोड दिए पनि उपलव्धी भने अपेक्षाकृत हाँसिल हुन नसकेको गुनासो विज्ञहरूको थियो ।
विज्ञहरुका अनुसार महिला उद्यमशीलता विकासमा मुलतः सिमित जानकारीका कारण प्रतिस्पर्धात्मक क्षमताको कमी र आत्मविश्वासको कमी, सामाजिक स“स्कारको कारण निजी जिम्मेवारी निभाउने क्रममा व्यवसायमा केन्द्रित हुन नसक्ने, परम्परागत संस्कारको कारण गतिशिलता र जोखिमी उठाउने मनोभावनाको कमी, अधिकांशमा श्रृजनात्मक र सोचको साटो देखासिकी गरी व्यवसाय सुरु गर्ने चलन, अधिकांशको अचल सम्पत्तिमा स्वामित्व नहुँदा व्यवसाय सुरू गर्न पूँजी जुटाउन कठिनाई, बैक वित्तिय संस्थाबाट कर्जा र वैकल्पिक लगानी, पूजी स्रोत उपलब्ध गर्न जानकारीको अभाव र पहुँचमा कठिनाई समस्याहरू रहेको औल्याइयो ।
सो कार्यक्रमको उद्घाटन मन्तव्यमा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थम माया थापाले देशमा लामो समयसम्म राजनीतिक अस्थिरता र अन्यौलको वातावरण भएकोले उद्योग व्यवसाय क्षेत्र धरासायी भएको प्रष्ट पार्नुहुदै अब देशमा राजनैतिक स्थिरता आएको र विभिन्न ऐन, कानूनहरूको निर्माण भइ अनुकुल वातावरण बन्दै गएकाले उद्यमी व्यवसायीले आ–आफ्ना स्थानबाट सीप, क्षमता एवं दक्षताको उपयोग गरी समृद्ध नेपाल र सुखी नेपाली सरकारको उद्देश्यलाई सफल पार्न सहयोग गर्न आग्रह गरे।
नेपालका ७७ वटै जिल्लाका महिला उद्यमीहरूको प्रतिनिधित्व रहेको उक्त कार्यशाला गोष्ठीमा महिला उद्यमीहरूका महत्वपूर्ण विषयवस्तुहरू जस्तैः महिला उद्यमी एवं उद्योग व्यवसाय क्षेत्रको प्रवद्र्धनका लागि हुनुपर्ने व्यवस्थाहरू, कर राजस्व सम्बन्धी नीति, ऐन नियममा भएका व्यवस्थाहरू, औद्योगिक व्यवसाय ऐन, वाणिज्य नीति एवं अन्य सम्बन्धित नीति, ऐन नियमहरूमा भएका व्यवस्था र कार्यान्वयनको स्थिति साथै बै“क तथा वित्तिय स“स्थाबाट कर्जा प्रवाहको लागि गरिएका व्यवस्थाहरूबारे सम्बन्धित विषयका विशेषज्ञहरुबाट प्रस्तुतिकरण गरिएको थियो ।