काठमाडौं । व्यवसायीको बैंक खाता बन्द भएपछि यातायात क्षेत्र अस्तव्यस्त बन्दै गएको छ । यातायात व्यवस्था विभागले भदौ ३१ गते नै अग्रिम टिकट खुल्ला गर्ने व्यवसायीसँग सहमति गरेपनि व्यवसायीहरुले इन्धनको मूल्य बृद्धि भएको भन्दै खुलाउन असहमति जनाए ।
शनिबार यातायात मन्त्रालयमा सचिव मधुसुदन अधिकारीको नेतृत्वमा बसेको बैठकले ४ बुँदामा सहमति गर्यो । सहमतिमा तत्कालै १० प्रतिशत भाडा बृद्धि गर्ने लगायतको सहमति भएको छ । सहमतिको बुँदा नम्बर ३ मा तत्कालिन यातायात व्यवसायीको बन्द रहेको बैंक खाताबाट समितीको अनिवार्य दायित्वभित्र पर्ने खर्चहरुको भुक्तानी छिटो छरितो गर्न व्यवस्था मिलाइदिन गृह मन्त्रालयसँग अनुरोध गर्ने उल्लेख गरिएको छ ।
भौतिक,पुर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले यसअघि नै मन्त्रालयमा पत्रकार सम्मेलन गरि कुनैपनि हालतमा बैंक खाता खुल्ला गर्न नसकेको व्यवसायीहरुलाई स्पष्टिकरण दिइसकेका छन् । साथै व्यवसायीलाई बैंकबाट रकम झिक्न जिल्ला प्रशासन मार्फत मिलाइएको थियो । तर व्यवसायी अनुकुल नभएपछि सो बाटो मार्फत रकम झिक्न व्यवसायीहरुले चासो दिएनन ।
काठमाडौं जिल्लामा ३ व्यवसायीले मात्र रकम निकासा गर्न निवेदन दिएको सहायक जिल्ला प्रमुख अधिकारी वासुदेव घिमिरेले बताए । यसबाट नै स्पस्ट हुन्छ कि व्यवसायीहरु बैंक खाता खुल्ला गर्नुे पक्षमा छन् ।

के गर्नुपर्छ बैंक खाता खुलाउन ?
विभागका कानून अधिकृत दिपक घिमिरेका अनुसार बैंक खाता खोल्न यातायात मन्त्रालय र गृहमन्त्रालयले सामूहिक निर्णय गरि अर्थ मन्त्रालयमा पत्र काट्नु पर्नेछ । पुनः अर्थले राष्ट्र बैंकलाई पत्र काट्नु पर्नेछ । राष्ट्र बैंकले निर्देशन दिएपछि मात्र बैंक खाता खुल्नेछ ।
सिन्डिकेटको अन्त्य भएपछि व्यवसायीहरु कम्पनी मार्फत सञ्चालनमा आउनु पर्नेछ । यसरी आउँदा संस्था दर्ता ऐन अनुसार संस्थामा रहेको सम्पती सिधैं सरकारमा जानेछ । बैंक खाताकै कारण मन्त्रालयले यातायात समितिको मंसिरसम्म म्याद थपेको यातायात मन्त्रालयको एक कर्मचारीले बताए । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको उच्च श्रोतका अनुसार प्रत्येक व्यवसायीहरुसँग १ करोड रूपैयाँ भन्दा बढी रकम रहेको छ । यस हिसाबले २४५ वटा व्यवसायी समितिसँग साढे २ अर्ब रूपैयाँभन्दा बढी रकम रहेको छ ।
मन्त्रालयले अधिकार दिएपछि हौसिए व्यवसायी
सहमतिको बुँदा नम्बर ४ मा अग्रिम बुकिङ लगायत पुर्व निर्णय बमोजिमको सम्र्पुण कार्य नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले गर्ने उल्लेख गरिएको छ । मन्त्रालयले अग्रिम टिकट बुकिङको सम्पुर्ण जिम्मा महासंघलाई दिएपछि व्यवसायीहरु हौसिएका छन् ।
महासंघका सचिव सरोज सिटौलाले सोमबार आकस्मिक बैठक बोलाएर मात्रै खुल्ने नखुल्ने निर्णय गर्ने बताए । मन्त्रालयले हाम्रो मागको बारेमा औपचारिक जानकारी दिएको छैन, मन्त्रालयको पत्र आएपछि हामी बैठक बस्छौ र टिकट बुकिङ खोल्ने नखोल्ने निर्णय गर्छौ, सिटौलाले विकासन्युजसँग भने ।
सरकारले यातायात व्यावसायीसँग भाँडा बढाउने सहमति गरेपनि टिकट बुकिङ खुलाउन आनाकानी गरेका हुन् । सिहंदरबारमा भएको बैठकमा यातायात व्यवसायी, यातायात व्यवस्था विभाग, नेपाल प्रहरी लगायतको उपस्थिति रहेको थियो ।
यो पनि हेर्नुहोस्
२४५ यातायात व्यवसायीको साढे २ अर्ब रुपैंया जफत हुँदै, यसरी आउँदैछ राज्य कोषमा