के बैंकहरुको नाफाले सिमा नाघेकै हो त ? किन यसो भन्दैछन् अर्थमन्त्री र गभर्नर ?

<p>काठमाडौं । २८ वटा बाणिज्य बैंकहरुले गत आर्थिक बर्ष २०७४/७५ मा ५१ अर्ब २८ करोड रुपैंयाँ नाफा कमाए । जुन अघिल्लो बर्षको भन्दा ९ अर्ब २१ करोड अर्थात २१.८९ प्रतिशतले बढी हुन्छ । लगानी योग्य पूँजीको चरम अभाव, अर्थतन्त्रका अन्य परिसूचकहरुले खासै राम्रा संकेतहरु देखाउन नसकिरहेका बेला बैंकहरुले हासिल गरिरहेको नाफाले अर्थमन्त्री र गभर्नरलाई आकर्षित [&hellip;]</p>

काठमाडौं । २८ वटा बाणिज्य बैंकहरुले गत आर्थिक बर्ष २०७४/७५ मा ५१ अर्ब २८ करोड रुपैंयाँ नाफा कमाए । जुन अघिल्लो बर्षको भन्दा ९ अर्ब २१ करोड अर्थात २१.८९ प्रतिशतले बढी हुन्छ ।

लगानी योग्य पूँजीको चरम अभाव, अर्थतन्त्रका अन्य परिसूचकहरुले खासै राम्रा संकेतहरु देखाउन नसकिरहेका बेला बैंकहरुले हासिल गरिरहेको नाफाले अर्थमन्त्री र गभर्नरलाई आकर्षित गरेको देखिन्छ ।

मन्त्रालयमै पत्रकार सम्मेलन आयोजना गरेर अर्थमन्त्री डा. युवराज खतिवडाले भनेका छन्, ‘बैंकले सुपर नर्मल प्रोफिट कमाउने वातावरणबाट व्यवसाय फस्टाउँदैन् । अब बैंक मात्रै नाफामा जाने अनि व्यवयाय अघि नबढ्ने अवस्था रहँदैन्, प्रतिष्पर्धाको स्तर बढ्दै गएर ब्याजदर घट्दै जानुपर्छ ।’

अर्थमन्त्रीकै लाइनमा गभर्नर डा. चिरञ्जीवी नेपाल पनि उभिएका छन् । उनले अर्थ समितिको बैठकमै आर्थिक बर्ष २०७७।७८ मा निक्षेप र कर्जाको ब्याजदर फरक(स्प्रेड) ४.४ प्रतिशत झार्ने बताए । यस अघि ५ प्रतिशत रहेको स्प्रेद दरलाई मौद्रिक नीतिले ४.५ प्रतिशतमा झार्नुपर्ने व्यवस्था गरेको छ । अब २०७६ असार मसान्त अवधीमा बाणिज्य बैंकहरुको स्प्रेडदर ४.५ प्रतिशतमा सिमित हुनुपर्नेछ । यद्यपी ५ प्रतिशतकै सिमा रहेको अवस्थामा पनि असार मसान्त अवधीमा बैंकहरुको स्प्रेड दर ५.८१ प्रतिशत कायम थियो ।

गभर्नर डा. नेपालले भनेझै २०७८ को असार मसान्तमा स्प्रेड दर ४.४ प्रतिशतमा सिमित हुने हो भने बाणिज्य बैंकहरुको स्प्रेड दर २०७५ असारमा कायम रहेको ५.८१ प्रतिशतबाट २४.२६ प्रतिशतले घटाउनुपर्नेछ ।

अर्थात अर्थमन्त्री र गभर्नर दुबैले बैंकहरुको अधिक नाफामा अंकुश लगाउने सुत्रका रुपमा स्प्रेड दर कटौतीलाई उपयोग गरिरहेको र अब पनि त्यसैलाई निरन्तरता दिने सोँच बनाएको स्पष्ट देखिएको छ ।

अर्थमन्त्री खतिवडाले आफु गभर्नर हुँदा निक्षेप र कर्जाको ब्याजदर अन्तर(स्प्रेड) ५ प्रतिशत तोक्दाको दिन सम्झँदै भने, ‘मैले गभर्नर हुँदा ५ प्रतिशत स्प्रेड तोक्दा कुनै पार्टीको नीति वित्तिय क्षेत्रमा लागु गर्यो भन्ने आरोप लगाईयो । बैंकहरुले धेरै नाफा कमाए भनेर नै स्प्रेड तोकेका थिएँ । अहिले ४.५ प्रतिशत स्प्रेड तोकिएको छ । दिर्घकालमा त्यो अझै घट्दै जानुपर्छ ।’

अर्थमन्त्री डा. युवराज खतिवडाले बैंक मात्रै नाफामा जाने तर तिनै बैंकबाट ऋण लिएर सञ्चालित व्यवसाय भने खुम्चिँदै जाने अवस्था अब रहन नहुने बताउँदै आएका छन् ।

उनले विद्यमान ब्याजदरबारे आफु सचेत रहेको र नेपाल राष्ट्र बैंकले पनि ध्यान देला भन्ने अपेक्षा पनि व्यक्त गरिरहेका छन् । ‘उच्च ब्याजदरबारे सरकार सचेत छ र ध्यान पनि दिएको छ । नेपाल राष्ट्र बैंकले पनि ध्यान देला भन्ने लाग्छ ।’ मन्त्री खतिवडाले भने ।

नेसनल बैंकिंग ईन्स्टिट्युटका सिइओ सञ्जिव सुब्बाले अर्थतन्त्रको गति र बैंकहरुको नाफाका बीचमा ठूलो अन्तर देखिएमा सचेत हुनुपर्ने बताए ।

उनले बैंकहरुले पनि सामान्यतः व्यापार गर्ने भएपनि अर्थतन्त्र प्रतिको जिम्मेवारी पनि ख्याल गर्नुपर्ने धारणा राखे । ‘अर्थतन्त्र र बैंकको नाफाको अवस्था फरक देखियो भने राज्य सचेत हुन पर्छ । बैंकहरुको ब्याज आम्दानी बढेको सत्य हो तर त्यसको आधार खोजिनु पर्छ । ब्याज आम्दानीले नाफा बढाएको देखिन्छ ।’, सुब्बाले भने । उनले बैंकहरुको नाफा दिगो छ की छैन् ? दिगो प्रतिफल यसै गरि आउँछ की आउँदैन ? भन्नेबारे पनि अध्ययन आवश्यक रहेकोमा जोड दिए ।

‘कृषिमा र उत्पादन मुलक क्षेत्र मा लगानी गरेर नाफा कमाएका हुन भने राम्रै हो, सेयर, घर जग्गा, ट्रेडिङ्ग, आयात जस्ता व्यापारमा लगानी गरेर नाफा कमाएका हुन भने त्यो त्यति राम्रो होइन् । राज्यले सचेत भएर हेर्नुपर्छ ।’ सुब्बाले भने । बैंकहरुले सानो मार्जिनमा पनि नाफा कमाउन सक्ने ठाउँ खोज्नुपर्नेमा उनको जोड देखिन्छ ।

सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले भने अर्थमन्त्री र गभर्नरले बैंकको नाफा बढि भयो भनिरहँदा लगानीकर्ताले प्रतिफल कम भैरहेको गुनासो गर्न थालेको बताए । ‘पाँच बर्ष अघि एक सय रुपैंयाँ लगानी गर्नेले २५ रुपैंयाँ प्रतिफल पाउँथे, आज १८ रुपैंयाँमा सिमित भएको छ, अब बैंकहरुको नाफा बढि भयो कसरी भन्ने ?’, दाहालले प्रतिप्रश्न गरे ।

Share News