काठमाडौ । उपत्यकामा सञ्चालित ट्याक्सीमा कम्युटर विलिङ प्रणाली (प्रिन्टर मेसिन) जडान भएपनि अधिकाशं प्रिन्टर मेसिन बिग्रेका छन् । ट्याक्सीले यात्रुलाई ठगेको गुनासो बढेपछि उद्योग मन्त्रालयले विसं २०७३ पुुस १७ देखि नेपाल गुणस्तर तथा नापतौल विभागमार्फत प्रिन्टर मेसिन जडान कार्य शुरु गरेको थियो ।

यात्रु चढेपछि ओर्लने बेलासम्मको मिटरमा उठेको पैसा लिनेगरी जडान भएको प्रिन्टर मेसिन बिग्रेपछि यात्रुहरुले बिल पाउन छाडेका हुन् ।कतिपय ट्याक्सीमा प्रिन्टर मेसिन चलेपनि चालकले यात्रुलाई बिल दिदैनन् । अधिकाशं ट्याक्सीमा प्रिन्टर मेसिन बिग्रेको कारणका समस्या भएको हो ।
नेपाल मिटर ट्याक्सी व्यवसायी संघका अध्यक्ष अर्जुन गौतम प्रिन्टर मेसिन भरपर्दो नभएका कारण ट्याक्सीले यात्रुलाई प्रिन्टर बिल दिन नसकेको बताउछन् । “ट्याक्सीमा बिल जडान गर्ने क्रममा कमसल मेसिन पर्नजाँदा प्रिन्टर मेसिन चाँडो बिग्रिएका हुन्,”–उनले भने ।कमसल प्रिन्टर मेसिन भित्र्याउँदा १४ करोड रुपैयाँ विदेशिएको अध्यक्ष गौतमको भनाइ छ ।
“विलिङ जडान हुनु अगाडिनै हामीले विलिङ प्रक्रिया कमजोर छ, उपत्यकाको धुलो धुवाँमा सहज रुपमा चल्न सक्दैन भनेका थियौँ तर जबरजस्ती लागू गर्न खोजियो अहिले त्यसकारण चल्न सकेन,”–उनी भन्छन् ।उपत्यकाको नयाँ बसपार्क, कलङ्की, कोटेश्वर नयाँ सडक, वीर अस्पताल, लगनखेल, एयरपोर्ट, त्रिवि शिक्षण अस्पताल, ठमेल र दरबारमार्गलगायतका क्षेत्रका ट्याक्सीमा बढी ठगी हुने गरेको गुनासो छ ।
नेपाल गुणस्तर तथा नापतौल विभागका महानिर्देशक विश्वबाबु पुडासैनी चालकको हेलचक्र्याइँका कारण प्रिन्टर मेसिन नचलेको बताउछन् । “हामीले एक वर्षको वारेन्टी दिएर प्रिन्टर मेसिन जडान गरेका छौँ, तर धुलो र कागज अड्किँदा चालकले बेवास्ता गरेका कारण प्रिन्टर मेसिन चाँडो बिग्रिएको हो,” उनी भन्छन । ट्याक्सी प्रयोग गर्ने यात्रुलाई बिल लिनसमेत विभागले आग्रह गरेको छ ।
विभागले प्रिन्टर मेसिन जडान नभएका ट्याक्सी भेट्टाएमा १० दिन सञ्चालनमा रोक लगाउनुका साथै जरिवाना गर्ने गरेको छ । प्रिन्टर मेसिन जडान गर्ने काम नापतौल विभागको भए पनि लागू गराउने र प्रिन्टर बिल नदिने चालकलाई कारबाही गर्ने जिम्मा यातायात व्यवस्था विभागको भएको उनी बताउछन् ।
यातायात व्यवस्था विभागका प्रवक्ता तुलसीराम अर्याल प्रिन्टर मेसिन नदिने र बढी भाडा लिने चालकमाथि विभागले निरन्तर अनुगमन गरिरहेको बताउछन् । “गल्ती गर्ने ट्याक्सी चालकलाई निरन्तर रुपमा अनुगमन गरी कारबाही गरिरहेका छौँ,” उनी भन्छन ।
यातायात व्यवस्था विभागका अनुसार हाल काठमाडौँ उपत्यकामा १० हजार ६४५ ट्याक्सी दर्ता भएका छन् त्यसमध्ये आठ हजार ५०० ट्याक्सीमा प्रिन्टर मेसिन जडान गरिएको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख वसन्तकुमार पन्त मिटरमा जान नमान्ने, बढी भाडा लिने र ट्याक्सी बिल नदिने दैनिक ३० ट्याक्सी चालकलाई कारबाही गरेको जानकारी दिए । “दैनिक पाँच सयको हाराहारीमा हामी ट्याक्सी जाँच गछौँ त्योमध्ये ३०÷३५ ट्याक्सी चालक कारबाहीमा पर्छन्,” उनले भने ।
महाशाखाले अहिले बढी भाडा लिने तथा मिटरमा हिँड्न नमान्ने ट्याक्सी अनुगमन गर्न २० जना ट्राफिक प्रहरी बिना बर्दीमा खटाएको छ । महाशाखाले सडकमा बसेर बढी भाडा लिने चालकलाई ३ हजार रुपैयाँ जरिवाना समेत लिन शुरु गरेको महाशाखाका प्रमुख पन्त बताउछन्। रासस