
काठमाडौं । हिन्द महासागरबाट नेपालमा सिधा पानी जाहाज सञ्चालन गर्ने विषयमा नेपाल र भारतका अधिकारीबीच आइतबारदेखि काठमाडौंमा वार्ता सुरु हुने भएको छ ।
वार्तामा नेपालसम्म जाहाज चलाउने विषयमा प्रारम्भीक छलफल हुने भएको छ । वार्ता टोलीमा नेपालको तर्फबाट जल तथा ऊर्जा आयोगका सहसचिव माधव वेल्वासे र भारतका जल यातायात प्राधिकरणका उपाध्यक्ष प्रविर पाण्डले नेतृत्व गर्नेछन् ।
जाहाज सञ्चालनका विषयमा संभाव्यता अध्ययन गर्नका लागि वार्ता केन्द्रीत हुने नेपाली टोलीका प्रमुख वेल्वासेले जानकारी दिए । प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणका बेला हिन्द महासागरबाट नेपालमा पानी जाहज सञ्चालन गर्ने विषयमा दुई देशबीच सहमति भएको थियो ।
त्यसबेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल समुद्रसंग जोडिएको उद्घोष गरेका थिए । पानीजाहाज सञ्चालनमा आएमा वस्तु आयात र निर्यात लागत घट्ने देखिएको छ ।हाल कोलकोता बन्दरगाहमार्फत सामान आयात निर्यात भइरहेको छ । यो बन्दरगाह नेपालका लागि धेरै खर्चिलो भएको छ ।