काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता तथा सांसद योगेश भट्टराईले पाँच बर्षपछिको चुनावमा विकासको ग्राफ देखाएर भोट भाग्ने घोषणा गरेका छन् । संसदमा आगामी आर्थिक बर्षको बजेटमाथीको छलफलमा भाग लिँदै सांसद भट्टराईले भने–‘पाँच बर्षपछि अर्काे घोषणा पत्रमा सडक र विद्युत उत्पादनका कुरा गर्दैनौं । हामी कति बाटो बनाउँछौं, कति बिजुली निकाल्छौ भनेर जाँदैनौं । हामी तथ्यांकमा के गर्यौं भनेर देखाउँछौं । विकासको ग्राफ देखाएर जनतासँग भोट माग्छौं ।’
उनले पाँच बर्षपछिको निर्वाचन प्रतिपक्षीसँग लिखतमा संवाद नगरेर आफुहरुले गरेका कामको फेहरिस्ता देखाएर संवाद गर्ने दावी पनि गरे ।
‘पाँच बर्षपछि हामी ग्राफमा विकासको तथ्यांक देखाएर भोट माग्न जान्छौं । त्यसकारण माननिय मन्त्रीज्यूहरुलाई भन्न चाहान्छु की पाँच बर्षपछि त्यस्तो दिन ल्याउनका लागि लाग्नुस् ।’, सांसद भट्टराईले भने ।
उनले बजेट मार्फत तराई मधेशको तुलनामा हिमाल र पहाडलाई कम प्राथमिकता दिइएको आरोप लगाए । उनले प्रश्न गरे–‘मा सिमा जोडिएका स्थानीय गाउँपालिकाका लागि बजेट छ, हिमालमा किन छैन ? उत्तरमा पनि सिमा जोडिएका क्षेत्र छन, त्यहाँ बजेट खोई ?’
तराईबाट मध्यपहाडी पुष्पलाल मार्ग जोडिने सडकले प्राथमिकता पाएको तर हिमाल र पहाडले नपाएको गुनासो पनि भट्टराईको थियो ।
त्यस्तै, तराई मधेशका जिल्ला सदर मुकामहरुको भौतिक पुर्वाधार विकासका लागि बजेट विनियोजन गरिएको तर हिमाल र पहाडले नपाएकोमा पनि दुःख व्यक्त गरे । बजेटले हिमाली क्षेत्रलाई न्याय नसकेको गुनासो सांसद भट्टराईको थियो ।