काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वअर्थमन्त्री डा रामशरण महतले वर्तमान सरकार मुलुक र जनताका आवश्यकता र चाहनालाई एकातिर पन्छाएर काल्पनिक योजनाका सपना बाँड्नेतिर मात्र लागेको बताएका छन् ।

रामेछापमा मन्थली उच्च माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री हस्तान्तरण कार्यक्रममा बोल्दै उनले मुलुकका आवश्यकता र प्राथमिकताहरु एकातिर छन, तर सरकार काल्पनिक योजनाका सपना बाँडेर हिडिरहेको आरोप लगाए । नेपाल प्रेस युनियन रामेछापले आयोजना गरेको अर्को एक कार्यक्रममा बोल्दै नेता डा महतले धेरैजसो पुरानै कार्यक्रमहरुलाई निरन्तरता दिइएको र प्रचार मात्रै बढी गरिएको दावी गरे ।
रेलको सन्दर्भमा कुरा गर्दै डा. महतले आर्थिक प्रतिफलको कुनै लेखाजोखा नगरिएको उक्त परियोजनालाई आफ्नो भन्दा छिमेकी देशको हितमा अघि सारिएको टिप्पणी गरे । उनको भनाई थियो, त्रिदेशीय मोडलबाट मात्र हित हुने भएकोले उनीहरु यसैका लागि मात्र उत्सुक भएको हुनसक्छ । महंगो पर्ने ऋणबाट यति ठूलो आयोजना सञ्चालन लाभदायी छैन । हाम्रा तत्कालका प्राथमिकताहरु अरु नै छन ।
मुलुकको अवको एजेण्डा आर्थिक भएको स्पष्ट पार्दै नेता डा महतले राजनीतिक स्थायित्व कायम भएको अवस्थामा पनि सरकार भने आर्थिक विकासको मामलामा अलमलमा परेको जिकिर गरे । उनको भनाई थियो, तत्काल पूरा नहुने खालका काल्पनिक कुरा गरेर सरकारले जनताका तत्कालका आवश्यकताहरुलाई वेवास्ता गरिरहेको छ । अर्काको अभिरुचिमा समय विताउनुभन्दा मुलुक र जनताको सर्वोपरी हितमा काम गर्नुपर्ने अहिलेको आवश्यकता हो ।
कांग्रेसका नेता भरत चौलगाईले विद्यालयलाई २० थान सीसी क्यामेरा उपलब्ध गराएका थिए । कालिञ्चोक फाउण्डेसन र नेपाल विद्यार्थी संघले सो विद्यालयका १ हजार ७६ विद्यार्थीहरुलाई शैक्षिक सामाग्री उपलब्ध गराएको थियो ।
कार्यक्रममा जिल्ला समन्वय समितिका संयोजक प्रेमवहादुर खड्का, नेकापूर्व सभापति रामचन्द्र खड्का, प्रमुख जिल्ला अधिकारी कृष्ण शर्मा, फाउण्डेसनका अध्यक्ष दिनेश खड्का, महासमिति सदस्य रमेशकुमार महत, अर्जुन केसी, भरत चौलगाई, विनितकृष्ण महत लगायतले विद्यालयको शैक्षिक विकासका बारेमा बोलेका थिए ।