
नेपालगञ्ज । निजी वायुसेवा कम्पनी बुद्ध एयर प्राइभेट लिमिटेडले नेपालगञ्जदेखि भारतको नयाँ दिल्लीसम्म अन्तर्राष्ट्रिय उडानको तयारी थालेको छ । बुद्धले सरकारलाई भारतसँग आवश्यक नीतिगत र प्राविधिक प्रक्रियाका विषयमा छलफल अघि बढाउन आग्रह गरेको छ ।
उडान तयारीका सम्बन्धमा सोमबार बुद्ध एयरले यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा नेपालगञ्ज–दिल्लीका लागि दैनिक तीन उडान गर्न सकिने जनाएको छ ।बुद्धका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले नेपालगञ्ज–दिल्ली उडानका लागि सरकारलाई गत सोमबार निवेदन दिइएको बताए।
उनका अनुसार, बुद्ध एयरले बिहान ७ बजे, अपराह्न १ बजे र साँझ ७ बजे गरी दैनिक तीन उडान गर्ने तयारी गरेको छ । दैनिक २०० यात्रुले उडान भर्ने पनि प्रबन्ध निर्देशक बस्नेतले जानकारी दिए।
नेपालगञ्ज–दिल्ली उडानका लागि नेपालगञ्जको राँझा विमानस्थलको अहिलेको टर्मिनललाई अन्तर्राष्ट्रियस्तरको बनाइनुपर्ने, सुरक्षा संरचना थप गरिनुपर्ने र अध्यागमनको व्यवस्था गरिनुपर्ने बताइएको छ । यी सबै काम सक्न करीब आठ महिना लाग्न सक्ने बुद्ध एयरले जनाएको छ । रासस