एनसेलले ल्यायो दैनिक अनलिमिटेड डेटा रोमिङ् प्याक
काठमाडौं, १२ जेठ । देशको अग्रणी मोबाइल सेवा प्रदायक एनसेलले दैनिक अनलिमिटेड डेटा रोमिङ् प्याक ल्याएको छ । कम्पनीले एक्जियटा गुप्र नेटवर्क भित्रका देशहरुमा भ्रमण गर्ने ग्राकहहरुलाई ध्यानमा राखि उक्त योजना ल्याएको हो । कम्पनीका अनुसार बिहीबारबाट लागु हुने यो योजना अन्तर्गत ग्राहकले बाङ्लादेश, क्याम्बोडिया, मलेसिया र श्रीलंका भ्रमणको समयमा कर सहित १ हजार ५ सय रुपैँयामा प्याक खरिद गरी दैनिक अनलिमिटेक डेटा सेवाको फाइदा दिन सक्छन् । कम्पनीले जनाए अनुसार ग्राकहले प्रत्येक दिन स्वत सुचारु हुने दैनिक अनलिमिटेड डेटा रोमिङ् प्याक वा प्रत्येक दिन आफैले किन्न पर्ने प्याक प्रयोग गर्न सक्छन् । स्वत सुचारु हुने प्याक खरिद गर्दा ग्राहकले एक पटक प्याक खरिद गरेपछि भ्रमण अवधिभरी सहजै डेटा सेवा प्रयोग गर्न सक्नेछन् । अर्को प्याक भने आफ्नो आवश्यकता अनुसार दैनिक रुपमा खरिद गर्न पर्ने हुन्छ । प्याक खरिद गर्नका लागि ग्राहकले पहिला स्टार १७१२७ ह्यास डायल गरी प्राप्त जानकारी अनुसार रोमिङ् सेवा सुचारु गर्नु पर्दछ । त्यस पश्चात स्टार १७१२९ ह्यास डायल गरी दैनिक रुपमा आफै सुचारु हुने वा प्रत्येक दिन किन्न पर्ने दैनिक प्याक छान्न सक्छन् । यी प्याकका माध्यमबाट दुवै प्रिपेड र पोष्टपेड सेवाका ग्राहकले भ्रमणको बेलामा रोबि एक्जियटा (बाङ्लादेश), स्मार्ट एक्जियटा (क्याम्बोडिया), सेलकम एक्जियटा (मलेसिया) र डायलग एक्जियटा (श्रीलंका) को नेटवर्कमा कनेक्ट भई डेटा सेवा मार्फत आफ्ना आफन्तजनहरुसंग सहजै सम्पर्कमा रहन सक्नेछन् । कम्पनीका अनुसार दैनिक प्याक सुचारु गरेपछि २४ घण्टा सम्म प्रयोगका लागि समय सिमा हुनेछ । समयावधि सकेपछि, ग्राहकले पुन प्याक खरिद गर्न सक्छन् वा हाल लाग्दै आएको रु १५ प्रति एमबि शुल्कमा डेटा सेवा प्रयोग गर्न सक्छन् । प्रत्येकदिन आफै सुचारु हुने दैनिक प्याकको हकमा जुन सुकै समयामा प्याक खरिद गरेता पनि प्रयोग गर्ने समयसिमा मध्य रातमा सकिने छ र स्वत नयाँ प्याक सुचारु हुने कम्पनीले जनाएको छ ।
‘एनसेल, लास्टै ठूलो अफर’ योजना सार्वजनिक, एक हजारको रिचार्ज गर्दा एक हजार नै बोनस
काठमाण्डौं, ९ जेठ । मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले आफ्ना ग्राहकलाई रिचार्जमा आकर्षक बोनस पाइने ‘एनसेल, लास्टै ठूलो अफर’ योजना ल्याएको छ । यो योजना अन्र्तगत ग्राहकले रु २०० भन्दा माथिको रिचार्ज गर्दा प्रत्येक रिचार्जको रकम अनुसार रु १०० देखि रु १,००० सम्मको बोनस पाउन सक्छन् । एनसेलका अनुसार यो योजना एनसेलका प्रिपेड ग्राहकका लागि मात्र मान्य हुनेछ र जेठ १० गतेदेखि लागु भई आगामी भाद्र ४सम्म संचालनमा रहने छ । बोनस प्राप्त गर्नका लागि ग्राहकले कम्तिमा रु २०० वा सो भन्दा बढी मूल्यको ब्यालेन्स रिचार्ज गर्न पर्ने हुन्छ । यो योजना अन्र्तगत, ग्राहकले रु २०० को रिचार्ज गर्दा ५ दिनको लागि मान्यहुने रु १०० बोनस ब्यालेन्स प्राप्त गर्नेछन् । रु ३०० रिचार्ज गर्दा ७ दिन समयसिमा भएको रु २०० बोनस पाउनेछन् । त्यसैगरी, रु ५०० र रु १,००० को रिचार्ज गर्ने ग्राहकले क्रमशः रु ४०० र रु १,००० बोनस प्राप्त गर्नेछन् । रु ५०० रिचार्ज गरे बापत पाइने बोनस उपयोग गर्नका लागि १० दिनको समयसिमा हुनेछ भने रु १,००० रिचार्ज बापतको रु १,००० नै बोनस उपयोगका लागि भने १४ दिनको समयसिमा हुनेछ । “ग्राहकलाई सेवा प्रयोगको राम्रो अनुभव दिएर खुसी राख्नु सदा हाम्रो मुल उदेश्य रहि आएको छ ।” एनसेलका कर्पोरेट संवाद विज्ञ मिलन शर्माले भने । “रिर्चाजमा पाईने यो बोनस योजनाले हाम्रा ग्राहकलाई अझ सस्तोमा सेवाको प्रगोग गर्नका लागि एउटा राम्रो अवसर हुनेछ ।” यो योजना अन्र्तगत प्राप्त बोनसबाट ग्राहकले एनसेल नेटवर्क भित्र कल गर्न, एसएमएस र डेटा सेवा प्रयोग गर्न सक्नेछन् । रिचार्ज कार्ड, भरचुअल फन्ड ट्रान्सफर (भिएफटी) र इ–टप अप मार्फत गरिएका ब्यालेन्स रिचार्जमा यो योजना लागु हुने कम्पनीले जनाएको छ ।
म्याग्दी नदीमा बाढीको सूचना दिने प्रविधि जडान
म्याग्दी, ३ जेठ । म्याग्दी जिल्लाको देवीस्थान गाविसको फेदीमा आइतबार बाढी आउनुभन्दा पूर्व सूचना दिने प्रविधि जडान गरिएको छ । धौलागिरी हिमालको फेदीबाट जिल्लाको पश्चिमी क्षेत्र भएर बग्ने म्याग्दी खोलामा आउन सक्ने बाढीबाट हुने सम्भावित क्षति न्यूनीकरण गर्ने उद्देश्यले समुदायमा आधारित सूचना प्रणाली जडान गरिएको हो । बहुसरोकारवाला वन कार्यक्रम (लिभर्ड)को आयोजना, सङ्गम म्याग्दीको सहयोग एवम् ‘सस्टेनेबल इको इन्जिनियरिङ’को प्राविधिक सहयोगमा जडान गरिएको प्रविधि समुदायलाई हस्तान्तरण गरिएको छ । नदी किनारमा राखिएको पानीको सतह मापन गर्ने स्वचालित सचेतक उपकरणले सङ्केत प्रशोधन गरेर रेडियो ट्रान्समिटरमार्फत नजिकैको बस्तीमा राखिएको रेडियो रिसिवरलाई पठाउने सङ्केत उपकरणले प्रशोधन गरेर साइरन (घन्टी) बजाएर खतराको सूचना दिने प्राविधिक नरेन्द्र बज्राचार्यले जानकारी दिए । पहिलो सतहमा पानी बगे खासै आत्तिनु नपर्ने, दोस्रो सतहमा बगे सामान्य सचेत हुनुपर्ने र निरन्तर घन्टी बजेमा खतरा हुने भएकाले तटीय क्षेत्रका तल्लो बस्ती, सुरक्षाकर्मी र सञ्चारमाध्यमलाई सूचना प्रवाह गरेर पूर्व तयारी गर्ने संयन्त्र तयार गरिएको छ । उक्त प्रणालीले एक/एक मिनेटको अन्तरालमा सङ्केत गर्ने र तेस्रो सतहमा बगे खतराको चेतावनी दिने भएकाले बाढीबाट बच्न सावधानी अपनाउन सकिने प्राविधिक बज्राचार्यले बताए । अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास संस्था (इसीमोड)ले विकास गरेको यस्तो प्रविधि नेपालमा यसअघि म्याग्दीको बाबियाचौर, भुरुङ तातोपानी, बागलुङको खुङ्गा गाविसको हुन्द्राफेदी र महोत्तरीको जलेश्वरस्थित रातुखोलामा जडान गरिएको प्राविधिक बज्राचार्यले बताए । प्रमुख जिल्ला अधिकारी केशव आचार्यले तटीय क्षेत्रमा रहेका मानव बस्तीमा बाढीले पु¥याउने सम्भावित जनधनको क्षति न्यूनीकरणका लागि सूचना प्रणाली उपयोगी हुने विश्वास व्यक्त गरे। हिमताल फुट्ने, हिमपहिरो, पहिरो, भीषण वर्षा, बाढी र नदी थुनिएको अवस्थामा नदीमा बाढी आउने जोखिम रहेको छ । पछिल्लो पटक विसं २०५८ मा म्याग्दी नदीमा आएको बाढीले तटीय बस्तीका झोलुङ्गेपुल, व्यक्तिका घर, बाटो, विद्यालय भवनलगायत भौतिक संरचनामा ठूलो क्षति गरेको थियो । “बर्खायाममा भीषण वर्षा हुँदाको रातिको समयमा टर्च बालेर खोलामा कति बाढी आयो भनेर छिनछिनमा हेर्न जानुपर्ने अवस्था थियो” दरवाङका बासिन्दा वीरबहादुर कार्कीले भने “पूर्व सूचना प्रणाली जडान भएपछि ढुक्क भएर सुत्न पाउने भएका छौँ ।” रासस