बिचौलियामाथिको कारबाहीपछि अस्पतालको आम्दानी २५ प्रतिशत बढ्यो

चितवन, ३१ जेठ । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा स्थानीय प्रशासनले कर्मचारीसहित बाहिरी बिचौलियालाई पक्राउ गरी निगरानी बढाएपछि अस्पतालको आन्तरिक आम्दानी बढेको छ । यसका कारण बिरामीसमेत लाभान्वित भएका छन् । करिब एक महिनाअघिदेखि स्थानीय प्रशासनले अस्पतालका बिचौलियामाथि निगरानी र कारबाही प्रक्रिया अगाडि बढाएको थियो । यस अवधिमा पाँच जना कर्मचारीसहित २० जना बिचौलियालाई प्रहरीले पक्राउ गरी सार्वजनिक अपराध ऐनअन्तर्गत मुद्दा चलाएको थियो । यससँगै कार्यालय समयमा समेत लुकिछिपी निजी क्लिनिक तथा अस्पताल धाउने काम चिकित्सक र प्रविधिज्ञले छाडेका छन् भने बिरामीलाई छिटो हुन्छ भन्दै निजी क्लिनिक र अस्पताल पठाउने क्रमसमेत घटेको छ । अस्पतालभित्र औषधि, केमो, लज, ल्याब र डाक्टरका लागि बिरामी तान्न पुग्ने बिचौलिया अस्पतालमा देखिन छाडेको स्थानीयवासीले बताएका छन् । अस्पतालआसपास रहेका फार्मेसी र ल्याब मात्रै होइन, चौबीसकोठीमा लस्करै रहेका धेरै अस्पतालको व्यापार खस्किएको सञ्चालकले बताएका छन् । प्रशासनको कदमपछि क्यान्सर अस्पतालमा दैनिक सङ्कलन हुने राजस्वमा २५ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । अस्पतालको राजस्व उपशाखाका प्रमुख शिव पौडेलका अनुसार दैनिक दुई लाख ७५ हजार रुपैयाँको हाराहारीमा सङ्कलन हुने राजस्व तीन लाख ५० हजार रुपैयाँ पुगेको छ । यद्यपि अस्पतालमा बढी चल्ने सिटी स्क्यान, मेमोग्राफी, एमआरआई र केही महत्वपूर्ण परीक्षण अझै हुन सकेका छैनन् । आइतबारदेखि मङ्गलबारसम्म अस्पतालमा बिरामी बढी आउने हुँदा अस्पतालको आम्दानी बढी हुने गर्दछ । अस्पतालका उपनिर्देशक डा देजकुमार गौतमका अनुसार सिटी स्क्यान र मेमोग्राफी पुराना बिग्रिएर चीन सरकारले उपलब्ध गराएपछि जडानको क्रममा रहेका छन् भने विद्युत् आपूर्तिमा गडबड भएर र युपिएस बिग्रिएर एमआरआई सञ्चालनमा आउन सकेको छैन । आपूर्तिकर्तालाई भुक्तानी हुन नसक्दा परीक्षण गर्ने केमिकलको अभावमा केही परीक्षण नभएको उनले बताए । अस्पतालमा युरिया, गिलुभिन टोटल, गिलुभिन डाइरेक्ट, एसटी, एलटीजस्ता सामान्य परीक्षणसमेत केमिकलको अभावमा हुन सकेका छैनन् । सबै उपकरण सञ्चालनमा आएर ल्याब परीक्षण नियमित हुन सके राजस्व दोब्बर हुने स्वयम् गौतम बताए । सबै उपकरण चले अस्पतालका अधिकांश चिकित्सक, प्रविधिज्ञ र कर्मचारीको लगानी रहेका निजी अस्पताल, क्लिनिक, ल्याब नचल्ने हुँदा छिट्टै उपकरण बिगार्ने र रिएजेन्ट अभाव देखाइरहने काम कर्मचारीबाटै हुने गरेको आरोप छ । अस्पतालका लेखा प्रमुख पिताम्बर उपाध्यायका अनुसार अस्पतालबाट भर्ना, परीक्षण, डिस्चार्ज लगायतबाट वार्षिक १० करोड रुपैयाँको हाराहारीमा आम्दानी हुन्छ भने अन्य फार्मेसी, फलफूल बिक्री, सटर भाडा, चमेनागृह लगायतबाट एक करोड रुपैयाँभन्दा बढी आम्दानी हुन्छ । भित्री र बाहिरी दुवै बिचौलिया रोक्न सके आम्दानी दोब्बर हुने प्रस्ट देखिन्छ । बिचौलिया नियन्त्रणसँगै २५ प्रतिशत आम्दानी बढिसकेको यस अस्पतालमा हुन नसकेका सबै परीक्षण हुन सके अहिले नै आम्दानी दोब्बर हुने देखिन्छ तर त्यसका लागि स्थानीय प्रशासनको अनुगमन निरन्तर हुनुपर्ने स्थानीयवासीको भनाइ छ । अस्पताल बनाउन त्यहाँ कार्यरत चिकित्सक र प्रविधिज्ञको तलब बढाएर अस्पतालभित्रै पेइङ क्लिनिक सञ्चालन गर्ने र निजीमा काम गर्न रोक्ने काम हुन सके बिरामीले सस्तो शुल्कमा सहज उपचार पाउने क्यान्सर सेवा समाजका अध्यक्ष श्यामप्रसाद लामिछाने बताउछन् । प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंह चिकित्सक र प्रविधिज्ञसमेत बिचौलियाको भूमिकामा रहने र आफ्नो निजी अस्पताल र क्लिनिकमा लगेर बिरामी जाँच्ने गरेको भन्ने गुनासो आएपछि उनीहरुमाथि समेत निगरानी भइरहेको बताउछन् । अस्पताललाई हानि हुने र बिरामीलाई अप्ठ्यारो पार्ने जो सुकै भएपनि प्रशासनले नछाड्ने उनले बताए । प्रशासनको निगरानीसँगै अस्पतालका चिकित्सक र कर्मचारीसमेत दिनभर कार्यालयमा रहेर काम गर्न थालेका छन् । रासस

एनसेलद्वारा नागरिकको संचारमा पहुँच र प्रयोगको आधारभूत अधिकारको सम्मान गर्न आग्रह

काठमाडौं, ३१ जेठ । एनसेलले कम्पनीको बेस स्टेसनमा अज्ञात समूहले आक्रमण जारी राख्दै थप दूरसंचार पुर्वाधारमा भौतिक क्षति पु¥याउने कार्य गरेको घटनाको भत्सर्ना गरेको छ । संचार जस्तो अत्यावश्यक सेवा प्रदान गर्ने अति महत्वपूर्ण मोवाईल सेवा पूर्वाधारमा भौतिक आक्रमण गर्नु गैरकानूनी तथा गम्भिर अपराध भए पनि केहि अज्ञात समूहले शनिवार देखि एनसेलको विभिन्न जिल्लाका ग्रामिण क्षेत्रमा रहेका २४ वटा बेस स्टेसनमा क्षति पु¥याएका छन् । यसले करिब ५ लाख ५० हजार नागरिलाई प्रत्यक्षरुपमा संचार विहिन बनाएको छ भने देशभरका नागरिकलाई असर गरेको छ । “हामी सम्बन्धित सबैलाई नागरिकको संचारमा पहुँच तथा प्रयोग जस्तो आधारभूत अधिकारको सम्मान गर्न आग्रह गर्दछौं । यस्तो गतिविधि गर्नेले हेक्का राखौं ति ग्रामिण ईलाकामा यतिखेर कति व्यक्तिलाई आकस्मिक स्वास्थ्य सेवा चाहिएको हुनसक्छ, र तपाईंको गतिविधिले उनीहरुलाई गंभिर अवस्थामा पु¥याएको हुन सक्छ,” एनसेलका सुरक्षा निर्देशक महेन्द्र भट्टचनले भने । एनसेलले क्षति पुगेका टावरको यथासक्य चाँडो पुनस्र्थापनाका लागि प्रयत्नशिल रहेको जनाएको छ । “अप्रत्यासित घटनाबाट सेवा अवरुद्ध भई ग्राहकमा पर्न गएको असुविधा प्रति हामी क्षमाप्रार्थी छौं । यथासक्य छिटो नेटवर्क पुनस्र्थपना गरी सेवा सुचारु गर्ने प्रयास भईरहेको छ । यस क्रममा धैर्यधारण गरी सहयोग प्रदान गरिरहनु भएकोमा हामी आभार तथा धन्यवाद व्यक्त गर्दछौं,” भट्टचनले भने । बेस स्टेशन जस्ता दूरसंचार पूर्वाधारको सुरक्षाका लागि थप सुरक्षाको व्यवस्थापन गरिरहेको एनसेलले जनाएको छ । कम्पनीले सरकारलाई अत्यावश्यक सेवा ऐनले समेत नागरिकको अत्यावश्यक सेवाको रुपमा लिएको संचार सेवाको निर्वाध संचालनका लागि सहयोग गर्न अनुरोध गरेको छ । “हामीले घटनाका विवरण लगायतका जानकारी नेपाल दूरसंचार प्राधिकरण र अन्य सरकारी निकायलाई दिईसकेका छौं । साथै सरकारबाट प्राप्त सहयोगको प्रतिबद्धताकालागि आभार पनि व्यक्त गर्दछौं,” भट्टचनले भने । साथै यस्ता खाले गैरकानूनी कृयाकलापले देश र जनता कसैलाई पनि सहयोग नपुग्ने जनाउँदै एनसेलले सबैलाई जिम्मेवार भएर काम गर्न र कसैलाई पनि उकास्ने काम नगरी विधिको पालनाका लागि सहयोग गर्न अपिल गरेको छ । टावरमा भएको क्षतिको विवरण प्राप्त गर्ने क्रम जारी रहेको जनाउँदै एनसेलले यि घटनाले के कति क्षति भयो अहिले यकिन भईनसकेको जनाएको छ । एनसेलले १ करोड ४० लाख ग्राहकलाई मोबाईल सेवा प्रदान गर्दै आईरहेको छ ।

गत वर्षको तुलनामा साइबर अपराध दोब्बर

काठमाडौं, ३० जेठ । साइबर अपराध गर्नेको सङ्ख्या गत वर्षको तुलनामा चालु आव सकिन एक महिना बाँकीमै दोब्बर बढेको छ । महानगरीय प्रहरी अपराध महाशाखाका अनुसार आव २०७१/०७२ का तुलनामा आव २०७२/०७३ मा अपराध बढेको देखिएको छ । सोमध्ये आव ०७१/०७२ मा तीन सय नौ उजुरी परेकामा आव ०७२/०७३ मा ६५० परेको छ जुन आव ०७१/०७२ का तुलनामा दोब्बरभन्दा बढी हो । महाशाखाका प्रहरी नायब उपरीक्षक पशुपतिकुमार रायले साइबर अपराधमध्ये सबैभन्दा धेरै फेसबुकमा हुने गरेको जानकारी दिए । उनले भने, “साइबर अपराधमा आएका उजुरीमध्ये करिब ९० प्रतिशत अपराध फेसबुकबाट हुने गरेको पाइएको छ ।” फेसबुक, ट्विटर, बैंकिङ, अनलाइन, एटिएम लगायतको क्षेत्रमा बढी साइबर अपराध हुँदै आएको छ । चलचित्र प्रतिलिपि अधिकार हनन गर्ने एक, केटीका नाममा फेसबुक आइडी बनाएर पैसा माग्ने दुई र सरकारी बेकसाइट ह्याक गर्ने चार जनालाई पक्राउ गरिएको महाशाखाले जनाएको छ । महाशाखामा परेको चालु आवमा हालसम्म परेका उजुरीमध्ये २० उजुरीमा मुद्दा चलाइसकिएको रायले बताए । महाशाखाका प्रवक्ता सहकुल थापाले दैनिक सातदेखि दश उजुरी महाशाखामा पर्ने गरेको जानकारी दिँदै साइबर अपराधसम्बन्धी अनुसन्धान गर्ने प्राविधिक एकाइको आवश्यकता अत्यन्त जरुरी रहेको बताए । रासस