तीन लाख भूकम्प पीडितको डिजिटल तथ्यांक तयार

काठमाडौं, २ चैत । केन्द्रिय तथ्यांक विभागले तीन लाख भूकम्प पीडितको डिजिटल तथ्यांक संकलन गरेको छ ।भूकम्प प्रभावित ११ जील्लामा सुरु गरिएको डिजिटल तथ्यांक संकलनका क्रममा तीन लाख पीडितको तथ्यांक संकलन सम्पन्न भएको हो ।‘चैत १ गतेसम्ममा तीन लाख भूकम्प पीडितको तथ्यांक संकलन सम्पन्न भएको छ, चैत मसान्त भित्र सबै पीडितको एकिन तथ्यांक आउँछ ।’ केन्द्रिय तथ्यांक विभागका उप महानिर्देशक रुद्र सुवालले भने । यस अघि सरकारले वितरण गरेको भूकम्प पीडित परिचय पत्र उनका अनुसार हालसम्म ४५ प्रतिशत भूकम्प पीडितको डिजिटल तथ्यांक संकलन भैसकेको छ । विभागले १५ सय जना इञ्जिनियरहरु मार्फत सो काम गरिरहेको छ । हालसम्म दोलखाका दुई गाबिस बाहेक अन्य गाबिसको तथ्यांक संकलन गरिसकिएको छ । दोलखामा लामाबगर र गौरीशंकर गाबिस बाहेक ७० हजार भूकम्प पीडितको तथ्यांक संकलन गरिएको हो । यी दुई हिमाली गाबिसमा भने मौसमी प्रतिकुलताका कारण तथ्यांक संकलन गर्न ढिलाई भएको हो । विभागले चैत मसान्त भित्र तथ्यांक संकलनका काम सकेर घर निर्माणका लागि रकम उपलब्ध गर्न मिल्ने व्यवस्था गर्न लागेको छ । गत बैशाख १२ गतेको भूकम्प परि करिब ८ लाख परिवार घरबार बिहिन भएको प्रारम्भिक तथ्यांक संकलन गरिएको थियो । तर त्यसमा गैर पीडित समेत सामेल भएको देखिएपछि सरकारले डिजिटल तथ्यांक संकलन थालेको हो । भूकम्प पीडितको डिजिटल तथ्यांक संकलनका लागि विश्व बैंकको आर्थिक सहयोग गरेको हो ।

सामसङ ग्यालेक्सी एस७ र एस७ एज नेपाली बजारमा, ७७ हजार ९ सय र ८८ हजार ९ सयमा किन्न पाईने

काठमाडौं, ३६ फागुन । सामसङको ग्यालेक्सी एस७ र ग्यालेक्सी एस७ एज नेपाली बजारमा भित्रिएका छन् । सामसङको नेपाली बिक्रेता आइएमएस प्राली र हिम इलोक्ट्रोनिक्सले सामसङका नयाँ मोबाइल नेपाली बजारमा भित्र्याएका हुन् । स्मार्ट मोबाइलको बजारमा पछिल्लो संस्करणका रुपमा नेपाल भित्रिएका यी मोबाइलमध्ये सामसङ एस७ को मुल्य ७७ हजार ९ सय रुपैंयाँ र एस७ एजको मुल्य ८८ हजार ९ सय रुपैंयाँ तोकिएको छ । के के छन फिचर ? सामसङ एस ७ सामसङ एस ७ मा आईपी६८ को पानी तथा धुलो नपस्ने रेसिस्टेन्स रहेको छ । यसमा ४ जीबीको रोम, ३२ जीबीको इन्टर्नल र ६४ जीबीको एक्सटर्नल मेमोरी, ५.१ क्वाडकोर प्रोसेसर, १२ एमपीको स्मार्ट आइओएस क्यामेरा, ३००० एमएएचको ब्याट्री, ८०२.११ को वाईफाइ कनेक्टिभिटी लगायतका सुबिधा रहेका छन् । यसमा ५.१ इञ्चको ३डी मेटल ग्लासको स्क्रिनका साथमा जिरोटच एक्सपिरियन्सको सुबिधा पनि छ । न्युन प्रकाशमा समेत उच्च गुणस्तरको फोटो खिच्न सकिने यो मोबाइलमा सेल्फी, पानोरमा र थर्ड पार्टी एप्लिकेशन समेत रहेका छन् । सामसङ एस ७ एज सामसङ एस ७ एजमा ५.५ क्वाडकोर प्रोसेसर, ३२ जीबी इन्टर्नल र २०० जीबीसम्मको एक्सटर्नल मेमोरी, ३६०० एमएएचको ब्याट्र, २.४ गिजाहर्जको वाइफाई कनेक्टिभीटी रहेको छ । न्युन प्रकाशमा समेत उच्च गुणस्तरको फोटो खिच्न सकिने यो मोबाइलमा सेल्फी, पानोरमा र थर्ड पार्टी एप्लिकेशन समेत रहेका छन् । प्री बुकिङमा आकर्षक अफर कम्पनीले यी दुबै मोबाइलको प्र बुकिङमा आकर्षक छुटको अफर पनि अघि सारेको छ । बिहिबारदेखि सुरु हुने प्री बुकिङमा एस७ को खरिदमा १९ हजार ९ सय पर्ने सामसङ गिअर र एस७ एजको खरिदमा २० हजार मुल्य पर्ने सामसङ ब्याग सित्तैमा उपलब्ध हुनेछ । सिमित प्याक अफर पनि कम्पनीले ग्यालेक्सी एस७ एज, गिअर एस२ क्लासिक र लेभल युलाई एक लाख २२ हजारमा उपलब्ध गराउनेछ । यसमा २० हजार मुल्यको लेदर ब्याग समेत प्राप्त हुन्छ । त्यस्तै, एस७, गिअर ए२ र लेभल यु एक लाख ८ हजारमा किन्न सकिन्छ । त्यसमा २० हजार मुल्यको लेदर ब्याग पनि प्रदान गरिनेछ । ग्यालेक्सी एस७ र एस ७ एजको सार्वजनिक समारोहलाई सम्बोधन गर्दै सामसङ इलेक्ट्रिोनिक्स नेपालका प्रणरत्न स्थापीतले नयाँ मोबाइलले स्मार्ट फोनका पारखी नेपालीहरुलाई नयाँ आयाम थपेको बताएका थिए । कार्यक्रममा सामसङ इण्डियाका राजीब मिश्रा, आइएमएसका दिपक मलहोत्रा, दिकेश मलहोत्रा, हिम इलेक्ट्रोनिक्सका शेखर गोल्छा लगायतको सहभागीता रहेको थियो ।

टेलिकमको भन्दा एनसेलको आम्दानी ३५ प्रतिशत धेरै, राजश्व १०७ प्रतिशत बढि

काठमाडौं, २० फागुन । कारोबार रकम, थप लगानी र राजश्वमा योगदानका आधारमा नेपाल टेलिकमभन्दा एनसेल धेरै अगाडि देखिएको छ । नेपाल दुरसञ्चार प्राधिकरणले विहीबार सार्वजनिक गरेको प्रतिवेदन अनुसार टेलिकमले भन्दा एनसेलले ३५ प्रतिशत बढी आम्दानी गरेको छ । त्यस्तै टेलिकमको भन्दा एनसेलले थप लगानी २० अर्ब ६८ करोडले बढी गरेको छ । राजश्वमा पनि टेलिकमले भन्दा एनसेलले १०७ प्रतिशतले बढी योगदान गरेको छ । ग्राहक संख्या पनि टेलिकमको भन्दा एनसेलको बढी छ । ९५ प्रतिशत सेयर सरकारी स्वामित्वमा रहेको नेपाल टेलिकम सबैभन्दा पूरानो कम्पनी हो । करिव ५ दशकसम्म दुरसञ्चार क्षेत्रमा नेपाल टेलिकमको एकाधिकार थियो । एनसेल निजी लगानीमा खुलेको पहिलो टेलिकम कम्पनी हो, जसमा ८० प्रतिशत सेयर विदेशी लगानी रहेको छ । नेपाल दुर सञ्चार प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार गत आर्थिक वर्ष २०७१/७२ मा एनसेलले ५५ अर्ब ५६ करोड ९३ लाख आम्दानी गरेको छ । सोही अवधिमा नेपाल टेलिकमले जम्मा ४१ अर्ब १८ करोड १५ लाख रुपैंयाँ मात्रै आम्दानी गरेको देखिन्छ । गत बर्ष एनसेलले टेलिकमको भन्दा १४ अर्ब ३८ करोड ७८ लाख अर्थात ३४ दशमलब ९३ प्रतिशतले बढी आम्दानी गर्न सफल भएको हो । एनसेलले बिभिन्न शिर्षक अन्तरगत २८ अर्ब ८ करोड राजश्व बुझाउँदा नेपाल टेलिकमलले भने जम्मा १३ अर्ब ५२ करोड ६० लाख मात्रै राजश्व बुझाएको छ । यो राजश्व टेलिकमले बुझाएको भन्दा १४ अर्ब ५६ करोड अर्थात १०७ प्रतिशतले बढी हो ।सो अवधीमा नेपाल टेलिकमले जम्मा १२ अर्ब ४६ करोड थप लगानी गरेको छ भने एनसेलले ३३ अर्ब १४ करोड लगानी थपेको देखिन्छ । नेपाल टेलिकमले पाँच हजार ९४ जनालाई रोजगारी दिएको छ भने एनसेलले ५ सय २२ जनालाई रोजगारी दिएको छ । एनसेलको ग्राहक संख्या एक करोड ५३ लाख रहेका छन भने टेलिकमको जम्मा एक करोड २९ लाख रहेको छ ।