प्रभु समूह हवाई सेवामा प्रवेश, नयाँ हेलिकप्टर थप्दै
काठमाडौं, २४ मंसिर । मुक्तिनाथ एयरलाईन्स खरिद गरेर हवाई सेवामा प्रवेश गरेको प्रभु समूहले नयाँ हेलिकप्टर थप्ने भएको छ । प्रभु हेलिकप्टर प्रा.लिले आर६६ हेलिकप्टर खरिद प्रक्रिया थालेको छ । करिव १० लाख अमेरिकी डलरमा किन्न लागेको उक्त हेलिकप्टर २०१६ को जनावरीभित्र आई पुग्ने कम्पनीका महाप्रबन्धक विनोद थकालीले जानकारी दिए । इच्छाबहादुर डंगोलले सन् २०१० बाट शुरु गरेको मुक्तिनाथ एयरलाईन्स प्रभुले किनेको हो । मुक्तिनाथसँग एउटा मात्र हेलिकप्टर थियो । उसले पोखरा आसपास क्षेत्रमा उडान भर्दै आएको थियो । नयाँ हेलिकप्टर आएपछि पोखराको साथै पश्चिम नेपालमा सेवा विस्तार गर्ने थकालीले जानकारी दिए । नेपालमा हेलिकप्टर सेवा उद्दार र दृश्यावलोकनमा बढी प्रयोग हुने गरेको छ । पछिल्लो समयमा व्यापार महोत्सव र विवाहमा पनि हेलिकप्टर प्रयोग हुन थालेको उनले बताए । रेमिट्यान्स सेवा सञ्चालन गरेर अगाडि बढेको प्रभु समूहले बैंक, बीमा, जलविद्युत, पर्यटन, सूचना तथा प्रविधिको क्षेत्रमा लगानी गरेको छ ।
४० दिनलाई पुग्ने औषधी गोदाममा, एक महिनाभित्रै फास्टट्र्याकबाट औषधि खरिद
चितवन, २१ मङ्सिर । भारतको लामो नाका बन्दीका बावजुद ४० दिनलाई पुग्ने औषधी सरकारी गोदाममा रहेको बताउँदै स्वास्थ्य मन्त्रालयले एक महिना भित्रै थप औषधी खरिद गरिसक्ने तयारी थालेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री रामजनम चौधरीले औषधिको अभाव हुन नदिन स्टक रहेको औषधी नसकिँदै थप औषधी खरिद गरिसक्ने बताएका हुन् । भरतपुरमा पत्रकारहरूसँग कुुराकानी गर्दै उनले गोदामहरूमा बढीमा ४० दिनका लागिमात्रै औषधि भएकाले अब पनि ढिलो भए जीवन सुरक्षाका लागि अत्यावश्यक औषधिको अभाव हुने बताए । उनले पुरानो खरिद प्रक्रियाबाट औषधि झिकाउन सम्भव नहुने भन्दै फास्टट्र्याकबाट औषधि खरिदका लागि कार्यविधि तयार भइसकेको उल्लेख गरे । एक दुई दिनभित्र टेन्डर आह्वान गरिने भन्दै मन्त्री चौधरीले गुणस्तर प्राप्त नेपाली कम्पनीलाई प्राथमिकता दिने बताए । उनले आपूर्तिकर्तालाई हवाई मार्गबाट भए पनि समयमै औषधि आपूर्ति गर्न लगाउने बताए । केही जीवनरक्षक औषधिहरू नेपालमा नबन्ने भएकाले ती औषधि हवाई मार्गबाट ल्याउने गरी फास्टट्र्याकबाटै खरिद गरिने मन्त्री चौधरीले जानकारी दिए । भरतपुरको विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको निरीक्षणसमेत गरेका मन्त्री चौधरीले अस्पतालमा अत्यावश्यक उपकरणहरू लामो समयदेखि बिग्रँदासमेत मर्मत नगरी बाहिर महँगोमा परीक्षण गराउँदै आएकोप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताए । क्यान्सर अस्पतालको सिटी स्क्यान, मेमोग्राम, ब्राकी थेरापीलगायतका महत्वपूर्ण उपकरण लामो समयदेखि बिग्रिएपछि बिरामीले चार गुणा महँगो शुल्क तिरेर निजी अस्पतालमा परीक्षण गराउँदै आएका छन् । मन्त्री चौधरीले ती उपकरण मर्मत गर्न सम्भव भए तत्काल गर्न र मर्मत हुन नसके फास्टट्र्याकबाटै तत्काल खरिद प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको बताए ।
‘हात्ती’ जस्तै बने सौराहाका हात्ती
चितवन, १८ मंसिर । तत्कालिन नेकपा माओवादीले जनयुद्धको नाममा सुरु गरेको ससस्त्र विद्रोहको बेलामा राजतन्त्रलाई ‘सेतो हात्ती’को उपमा दिने गरिन्थ्यो । नेपालको सन्दर्भमा राजतन्त्र सेतो हात्ती भएको र राजा पाल्न नसकिने अवस्था भएको भन्दै तत्कालिन माओवादीका कार्यकर्ता गाउगाउमा गएर ‘सेतो हात्ती’ फाल्नु पर्ने बताउथे । नेपाली समाजमा अर्काे उपमा पनि चलेको छ । ‘श्रीमती पाल्नु, हात्ती पाल्नुभन्दा मंहगो’ हुन्छ भन्ने । श्रीमती पिडितहरुले चलाएको उपमा हुन सक्छ यो । यसको तात्पर्य हो, नेपालको सन्दर्भमा हात्ती पाल्न सहज भने छैन । तर चितवनका ब्यवसायीले यी सवै उपमा र मान्यता चिर्दै हात्ती पालेर दैनिक राम्रै गुजारा चलाइ रहेका थिए । पर्यटक घुमाएर आम्दानी गर्ने उद्देश्यले सौराहामा पालिएका हात्ती यतिबेला साच्चिकै ‘हात्ती पलाइ’ भएका छन् । पछिल्लो राजनीतिक अवस्था र असहज परिस्थितिको कारण पर्यटक आवागमन कम हुदा सौराहाका हात्तीहरु काम नपाएर फुर्सदिला बन्दै गएका छन् । र, हात्ती पालिरहेका ‘साहूहरु’लाई अहिले हात्ती पाल्दाको वास्तविक पिडाबोध भएको छ । अन्य वस्तुभाउ पाल्नुभन्दा हात्ती पाल्नु आफैमा खर्चिलो छ । सौराहामा पर्यटक बोक्नकै लागि ६२ वटा निजी हात्ती पालिएका छन् । नयाँ हात्ती किन्न अहिले एउटैको करिब ८० लाख रुपैयाँ पर्छ । सौराहाका एउटै होटलले एकदेखि तीन वटासम्म हात्ती पाल्दै आएका छन् । एउटा हात्तीलाई पाल्न मासिक एक लाख रुपैयाँको हाराहारी खर्च हुने गरेको व्यवसायीको भनाइ छ । राईनो लजका सञ्चालक विष्णुप्रसाद अर्याल एउटा हात्तीलाई दैनिक एक किलो सख्खर, पाँच पाथी धान, एक किलो चना, तीन क्विन्टल घाँस र १५ किलो पराल खुवाउनुपर्ने बताउछन् । हात्ती सञ्चालन गर्न र पाल्न दुई जना माउते चाहिन्छन् । जसका लागि प्रतिमाउते मासिक १० हजार रुपैयाँ तलब र खाजा खाना गरेर झण्डै ३० हजार रुपैयाँ खर्च हुन्छ । अहिले हात्तीले मासिक मुस्किलले ३० हजार रुपैयाँ मात्रै आम्दानी गर्ने गरेको व्यवसायीको भनाइ छ । यी सबै खुवाएर पाल्दै गरेका हात्तीले मुस्किलले तीन दिनमा एक पटक मात्रै काम पाउने गरेको युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाका अध्यक्ष दीपक भट्टराई बताउछन् । गतवर्ष यतिबेला सौराहामा हात्ती नै चढ्नका लागि पर्यटकले तीन दिनसम्म कुर्ने गरेको ब्यवसायीहरुको भनाइ छ । ‘यसवर्ष तीन दिनमा एउटा हात्तीको पर्यटक बोक्ने पालो आउँछ, गत वर्ष एकै दिनमा हात्तीले बिहान र बेलुका गरेर चार पटक पर्यटक घुमाउने गर्दथे,’ भट्टराई भन्छन् । सौराहा घुम्न आउने पर्यटकलाई बाघमारा, कुमरोज र चित्रसेन सामुदायिक वन एवम् मृगकुञ्ज मध्यवर्ती वनमा घुमाउने गरिन्छ । हात्तीले कम्तीमा दुई घण्टा पर्यटकलाई घुमाउँछन् । महँगो मूल्यमा खरिद गरेका हात्ती र खर्चिलो पालन एकातर्फ हुनु, अर्काेतर्फ भूकम्पयता काम नपाउनुले व्यवसाय कष्टकर बनेको व्यवसायीको भनाइ छ । क्षेत्रीय होटल सङ्घका द्वितीय उपाध्यक्षसमेत रहेका भट्टराईले यतिबेला सौराहामा २० प्रतिशतको हाराहारीमा मात्रै पर्यटक आएको बताए । ठूलो संख्यामा आउने चिनियाँ पर्यटक यतिबेला खासै आएका छैनन् भने स्वदेशका स्कूल कलेजका विद्यार्थी पनि इन्धनको अभावले आएको पाइँदैन । हात्ती पाल्न यत्तिको कठिन कहिल्यै नभएको व्यवसायी बताउँछन् । एउटा हात्तीमा चार जना चढाएर जङ्गल घुमाइन्छ । हात्ती पाल्न कठिन हुँदै गर्दा होटल व्यवसायीले सरकारी तवरबाट घाँस काट्ने व्यवस्था मिलाइदिनसमेत आग्रह गरेका छन् । उनीहरूले पुरानो पदमपुर क्षेत्रमा राम्रो घाँस पाइने हुँदा काट्ने व्यवस्था गरिदिए हात्ती पाल्न सहज हुने माग गर्दै आएका छन् । ‘यो संकटमा मध्यवर्ती र पुरानो पदमपुर क्षेत्रमा घाँस काट्ने अनुमति दिए हात्ती पाल्न सहज हुन्थ्यो,’ राईनो लजका सञ्चालक अर्यालले भने । बैंकको महंगो ब्यादमा खरिद गरिएका हात्तीको आम्दानी कम हुन थालेपछि ऋण कसरी तिर्ने चिन्ता पनि व्यवसायीमा छ ।