नेविसंघ महाधिवेशन खर्च झण्डै पाँच करोड, माउ पाटिको भन्दा बढी खर्च
काठमाडौं ७, भदौ । भर्खरै सकिएको नेविसंघको महाधिवेशनले झण्डै पाँच करोड रुपैयाँ खर्चिएको हिसाव सार्वजनिक भएको छ । यो खर्च माउ पाटि काग्रेस महाधिवेशनको भन्दा एक करोड रुपैयाँ बढी भएको पनि उल्लेख छ । कांग्रेसको सबैभन्दा ठूलो भातृ संगठन नेपाल विद्यार्थी संघको ११ औं माहाधिवेशन गर्न चार करोड ८७ लाख रूपैयाँ खर्च भएको छ। तीन हजारभन्दा बढी महाधिवेशन प्रतिनिधिका लागि १२ दिन बस्ने, खाने र महाधिवेशन तयारीका लागि पौनो पाँच करोड भन्दा बढी खर्च भएको छ । खानामा झन्डै दुई करोड ३४ लाख र बस्नलाई एक करोड ९८ लाख गर्दा नेविसंघको महाधिवेशन लागत खान र बस्नलाई मात्र ४ करोड ३२ लाख खर्च भएको देखिन्छ। नवनिर्वाचित कोषाध्यक्ष शिव रिमालले पाँच करोड जति खर्च भएको बताए। नेविसंघले २३ देखि २५ साउनसम्म तीन दिनका लागि बढीमा एक करोड ८६ लाख खर्च लाग्ने हिसाब निकालेको थियो । तर, महाधिवेशन लम्बिदै जाादा तीन करोडभन्दा बढी खर्च भएको छ। अध्यक्षका रूपमा नेविसंघको महाधिवेशन सम्पन्न गराएका अध्यक्ष रञ्जित कर्णले खान, बस्न र महाधिवेशन तयारीका लागि पाँच करोडसम्म लागेको जानकारी दिए। ‘चार दिनका लागि हाम्रो अनुमानित खर्च बढीमा दुई करोड, नत्र एक करोड ८६ लाखमा सकाउने भन्ने थियो,’ कर्णले भने, ‘तर, तीन दिनको महाधिवेशन १२औं दिनसम्म लम्बिएपछि पाँच करोडजति खर्च भयो। अब केही दिनमा कति खर्च लाग्यो, अन्तिम हिसाबकिताब निकाल्छौं।’ माउ पार्टी कांग्रेसले झन्डै ३२ सय प्रतिनिधिसहित गत साउनमा तीन दिनमा सकाएको १३औं महाधिवेशनमा झन्डै चार करोड २० लाख रुपैयाँ खर्च भएको थियो। तर, आफ्नै विद्यार्थी संगठनको महाधिवेशनमा चार करोड ८२ लाख रुपैयाँ खर्च भएको छ। नेविसंघको महाधिवेशन प्रतिनिधि संख्या र केन्द्रीय समिति पार्टीको भन्दा धेरै र ठूलो छ। कांग्रेसका ६ पदाधिकारीसहित ८५ सदस्यीय केन्द्रीय समिति छ भने नेविसंघमा २८ पदाधिकारी र एक सय ५१ सदस्यीय कार्यसमिति बन्दै छ। समाचार स्रोत नयाँ पत्रिका
लेजरलाइटको सीधा प्रभावले निगमको जहाजलाई चुनौती, काठमाडौं भित्रिसकेकोले सकुशल अवतरण
काठामाडौं ७, भदौ । नेपाल वायुसेवा निगमको जहाज शुक्रबार काठमाडौं विमानस्थल नजिक आइपुगेपछि लेजरलाईको सीधा प्रभावले अवतरणै चुनौति दियो । जहाजको ककपीट (चालक दल भएकै ठाँउमा) सीधा लेजरलाइट परेका कारण जहाजल अवतरणमै चुनौति दिएको समाचार आजको कान्तिपुरमार्फत सार्वजनिक भएको छ । गत शुक्रबार बैंककबाट फर्किंदै गरेको नेपाल वायुसेवा निगमको एयरबस ए–३२० विमान काठमाडौं भित्र छिरिसकेको थियो । साँझको बेला अँध्यारो उपत्यकाभित्र आइसकेको जहाज ठैंचु नाघेर हात्तिवनमाथिको आकासमा भएको थियो । त्यहीबेला ककपिटमा विपरित दिशा जडीबुटीबाट विकिरण उत्सर्जन गर्ने लेजर लाइटले ककपिटमा आक्रमण गर्यो । १ सय ४० यात्रु बोकेर आइरहेको विमानलाई अवतरण गराउन खोजिरहेका क्याप्टेनका आँखामा असर पर्यो । उनीहरु झस्किए । नेपाली आकासमा पाइलटहरुले यस्तो अवस्था यसअघि कहिल्यै ब्यहोरेका थिएनन् । विदेशी मुलुकमा बेलाबेला भइरहने यस्तो समस्या नेपाली पाइलटले गत शुक्रबार पहिलोपटक फेस गरे । लेजरलाइटले उत्सर्जन गरेको हरियो चुम्बिकय विकिरणले ककपिटको कमाण्ड सम्हालिरहेका चालकदलको आँखामै हानेपछि अप्ठ्यारो अवस्था पैदा भयो । धन्न त्यो विमानको कोपाइलट सिटमा बसेका चालकले यसबारे पूर्व जानकारी र अध्ययन गरेकाले सावधानी अपनाइ हाले । क्याप्टेनलाई तत्कालै विमानस्थल बाहिरबाट कुनै अपराधिक मानसिकता भएकाले लेजर लाइट हानेको हुन सक्ने ब्रिफिङ्ग गर्दै उनले विमानलाई ओभरसुट वा गो–अराउन्ड दायाँबाया मोड्ने कार्य गराएनन् । १६ सय मिटर हाराहारी उचाईबाट बिस्तारै डिसेन्ड झर्दै गरेको विमान हात्तिवन, इमाडोल कटाउदै जडीबुटीतर्फ आयो । लेजरलाइट ककपिटमा परीनै रह्यो । स्रोतका अनुसार त्यो लेजरलाइटले करिब ४० सेकेन्डसम्म ककपिटमा पाइलटलाई हानि पुर्यायो । जब विमान विमानस्थलको रेखाभित्र पस्यो अनि मात्रै लेजरलाइटको आक्रमण हट्यो । चालकदलले विमानलाई सेफ ल्याण्डिङ्ग गरीसकेपछि एयरट्राफिकलाई ग्राउण्डबाट खबर गरे । तत्काललै नेपाल वायु सेवा निगमका चालकदलले यस्तो गतिविधिले जहाज दुर्घटनामा पर्न सक्ने खतरा औल्याउँदै तत्कालै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा लिखित उजुरी हाले । यतिले मात्रै नपुगेर सोमबार पनि निगमकातर्फबाट घटनाबारे विस्तृत प्रतिवेदन पनि प्राधिकरणलाई दिइएको छ ।
नेपाल टेलिकमद्धारा ७५ वटै जिल्लामा माइक्रोवेभ रेडियो लिंकको पहुँच विस्तार
काठमाडौं, ६ भदौ । नेपाल टेलिकमले ७५ वटै जिल्लामा माइक्रोवेभ रेडियो लिंकको पहुँच पु¥याई सेवा उपलब्ध गराउन थालेको छ । उक्त माइक्रोवेभ लिंक स्थापना पश्चात १७० एमविपिएसको लिंकमार्फत ल्याण्डलाइन, जिएसएम, सिडिएमएका टेलिफोन सेवा तथा एडिएसएल, टुजि, इभिडिओ इन्टरनेट सेवाको डाटा क्षमतामा उल्लेख्य सुधार हुने कम्पनीले जनाएको छ । साथै भविष्यमा थ्रीजि र वाइम्याक्स सेवा पनि सञ्चालन गर्न सकिने छ । यसबाट विशेषगरी कर्णालीबासी उपभोक्ताहरुले अधिकतम लाभ प्राप्त गर्ने अपेक्षा गरिएको छ । कम्पनीका अनुसार कम्पनीले ७५ औं जिल्लाको रुपमा हुम्लाको सिमिकोटमा सो प्रविधिमार्फत सेवा उपलब्ध गराउन थालेको छ । यस अघि गत असार २१ गते डोल्पा जिल्लामा र त्यस अघि मुगु जिल्लामा माइक्रोवेभ रेडियो लिंकको पहुँच पु¥याएको थियो । नेपाल टेलिकमका प्राविधिकहरु मार्फत भौगोलिक दृष्टिले निकै कठीन उच्च पहाडी क्षेत्रमा ट्रान्समिसन उपकरणहरु जडान गरी सेवा सञ्चालन गरिएको हो । आगामी दिनमा सम्भव भएका अन्य ग्रामीण क्षेत्रमा समेत माइक्रोवेभ रेडियो लिंकमार्फत सेवा विस्तार गर्ने कम्पनीको योजना रहेको छ ।