हेलिकोप्टर चढेर मन्त्री स्कूल उद्घाटनमा, हेलिकोप्टर अवतरण हुँदा वृद्ध घाइते

काठमाडौं १५, भदौ । वाणिज्य मन्त्री रोमी गौचन हेलिकोप्टर चार्टर गरेर गोरखाको एक विद्यालय भवन उद्घाटन गर्न पुगेका छन् । काठमाडौँबाट करिब एक सय ५० किलोमिटरको दूरीमा रहेको महालक्ष्मी उच्च मावि ताप्लेको भवन उद्घाटन गर्न मन्त्री गौचन एकलाख रुपैयाँ बढी तिरेर हेलिकोप्टर चार्टर गरेर पुगेका हुन् । उनी मङ्गलबार दिउँसो एक बजे कार्यक्रम उद्घाटन स्थलमा पुगेका थिए । मन्त्री चढेको हेलिकोप्टर अवतरण हुँदा हावाले उडाएको प्रवेशद्वारको काठले लागेर ताप्ले ९ का ९० बर्षीय हरिप्रसाद भट्ट घाइते भएका छन् । स्थानीय कलाधर भट्टका अनुसार वृद्धको टाउकोमा चोट लागेको छ । गाउँको एउटा विद्यालय भवन उद्घाटन गर्न हेलिकोप्टर उडाएर तडकभडक देखाएकोप्रति स्थानीयबासी भने सन्तुष्ट छैनन् । ‘भूकम्पले आहात बनाएको ठाउँमा यस्तो तडकभडक सुहाएन’ माओवादी केन्द्रका गाउँ संयोजक समेत रहेका भट्टले भने, ‘आफू उद्घाटन गर्दै हिड्दिन भन्ने प्रधानमन्त्रीले मन्त्रीलाई यस्तो तडकभडक गर्न दिनु ठिक भएन ।’ प्रधानमन्त्रीले आफ्ना मन्त्रीलाई नियन्त्रणमा राख्न नसकेको समेत उनले टिप्पणी गरे । अर्का स्थानीयबासी रज्मदिन मियाँले असन्तुष्टि व्यक्त गरे । ‘एक करोड ५५ लाख खर्च गरेर विद्यालय भवन बनाइदिने संस्थाका अध्यक्ष, उपाध्यक्ष सबै गाडीमा आएका छन् । तर मन्त्री एक घण्टा बस्न हेलिकोप्टरमा आउनु भयो’ मियाँले भने, ‘हेलिकोप्टर उडाउने पैसाले मन्त्रीले कुनै गाउँको विद्यालय भवन बनाउन सहयोग गरेको भए राम्रो हुनेथियो ।’अन्नपूर्ण पोष्टबाट ।

नेपाल टेलिकमको २५५ एमबी डाटा अफर, भदौ १६ गतेदेखि लागू

काठमाडौं, १४ भदौ । नेपाल टेलिकमले जिएसएम प्रिपेड मोबाइल प्रयोगकर्ताहरुका लागि बुवाको मुख हेर्ने दिनको अवसरमा शुभ बिहानी–सन्ध्या डाटा प्याक अफर ल्याउने भएको छ । सो अफर विहान ५ बजेदेखि ९ बजेसम्म र साँझ ३ बजेदेखि ७ बजेसम्म प्रयोग गर्न सकिने छ । कम्पनीका अनुसार  उपभोक्ताले १०० एमबी डाटा सव्सक्राइब गर्नका लागि स्पेशल १०० एमबी र २५५ एमबी डाटा सव्सक्राइब गर्नका लागि SPECIAL225MB लेखेर १४१५ मा एसएमएस पठाउनु पर्छ । उपरोक्त महसुल दरमा नियमानुसार लाग्ने कर समावेश गरिएको छैन । उक्त अफर आगामी भदौ १६ गतेदेखि ३ महिनासम्म लागू हुने कम्पनीले जनाएको छ ।

विदेश उड्ने जहाजका चार लाख सिट खाली

काठमाडौं, १४ भदौ ।  अन्तराष्ट्रिय उडान भर्ने २९ वटा बायु सेवा कम्पनीको चार लाख सिट खाली भएको छ । जहाजको क्षमता अनुसार यात्रु नपाउँदा गत आर्थिक वर्षमा नेपाल हुँदै अन्तराष्ट्रिय उडान भर्ने ती कम्पनीहरुको चार लाख सिट खाली भएको हो । २९ कम्पनीले बार्षिक ३६ लाख १३ हजार जनालाई बोक्न सक्छन् । तीमध्ये गत आर्थिक वर्षमा जम्मा ३२ लाख १७ हजार यात्रुलाई मात्रै उडान गराएका हुन् । नेपालमा उडान भर्ने कम्पनीहरुले सातामा २१ वटासम्म उडा भर्न पाउँछन् । नेपालले हालसम्म ३८ देशसँग हवाई सेवा सम्झौता गरेको छ भने १५ वटा मुलुकसँग उडान भरिरहेको छ । समाचारः अन्नपूर्णपोष्टबाट