५५ करोडमा विक्री भयो सीता एयर, सुरेश राठी समूहले किन्यो

काठमाडौं १७, भदौ । आन्तरिक उडानको वायुसेवा कम्पनी सीता एयर विक्री भएको छ । विराटनगरका व्यापारी सुरेश राठीसहितको समूहले यो वायुसेवाको पूर्ण स्वामित्व खरिद गरेको हो । सीता एयर खरीद गर्ने विषयमा दुई महिना अगाडि नै सीता एयर र राठीको समूहबीच सम्झौता भएपनि औपचारिक रुपमा स्वामित्व परिवर्तन गर्न भने अझै केही समय लाग्ने भएको छ । राठीले अर्का एक व्यवसायीसँगको सहकार्यमा सीता एयर खरिद गर्न लागिएको जानकारी दिए ।  निजी लगानीको सीता एयर खरिद गर्न ५५ करोड रुपैयाँ खर्च गरिएको पनि खरिदकर्ता राठीले बताए । उनका अनुसार खरिदको सम्झौता केही महिना अगाडि नै भएपनि औपचारिक रुपमा कम्पनीको स्वामित्व परिवर्तन गर्न अझै दुई महिना लाग्न सक्ने भएको जानकारी दिए । एयरमा आफूले लगानी गरेको भएपनि साइलेन्ट पार्नरको रूपमा बस्न चाहेको र हवाई क्षेत्रकै एक जना यो वायुसेवामा हुने भएकोले कुनै हल्ला नगरिएको पनि राठीले बताए । सीता एयर स्रोतका अनुसार दुई महिना अगाडि भएको दुइपक्षित सम्झौतालाई औपचारिकता दिन लागिएको छ । कम्पनीको स्वामित्व हस्तान्तरण गर्न आवश्यक प्रक्रिया मिलाउन अझै चार/पाँच दिन लाग्ने भएको पनि सीता एयर स्रोतको भनाइ छ । स्रोतका अनुसार राठीसहित पाँच जनाको व्यपारिक समूहबाट सीता एयर खरिद भएको हो । विराटनगरका व्यवसायी राठीको ट्रेडिङ व्यवसायमा दख्खल रहेको उल्लेख छ । राठीले भने आफूहरुले कुनै व्यवापारिक ग्रुप खडा नगरेको र स्वतः स्फूर्त रुपमा व्यवासायी गर्ने भएकोले पनि एयरलाइन्स संचालनमा पनि व्यवसायीक ग्रुप नरहने बताए । राठीका अनुसार आवश्यक प्रक्रिया पू¥याउँन, शेयर स्वामित्व हस्तान्तरण गर्न समय लाग्ने भएकोले खरिद गर्ने सम्झौता भएपनि आफ्नो मातहतमा सीता एयरको स्वामित्व भने आइनपुगेको जानकारी दिए । विराटनगरमा राठी जग्गाको कारोबार गर्छन । उनको अक्सिजन ग्याँस, जुट उद्योग रहेको छ । राठी गु्रपका नामले परिचित यी व्यवसायीको आयात तथा निर्यातको कारोबार रहेको छ । आन्तरिक उडानको यो वायुसेवा कम्पनीसँग दुईवटा मल्टिइन्जिनका जहाज छन् । सन् २००३ बाट संचालनमा आएको यो वायुसेवासँग डोर्नियर २२८ नामका १८ सीट क्षमताका जहाज संचालनमा छन् । सीतासँग यस अघि चारवटा जहाज भएपनि दुईवटा भने दुर्घटनाबाट घटेका हुन् । यो वायुसेवाले एउटा जहाजमार्फत काठमाडौंबाट लुक्ला दैनिक पाँच देखि सात वटा उडान गर्दै आएको छ भने नेपालगन्जबाट जुम्ला, हुम्ला र बाजुरामा एकएक उडान गर्दै आएको छ । लामो समयदेखि रणनीतिक साझेदार खोज्दै आएको यो वायुसेवाले पूर्ण स्वामित्व नै हस्तान्तरण गरेको उल्लेख छ । समाचार स्रोतः अन्नपूर्ण पोस्ट दैनिक ।  

परिवार नियोजन संघमा ब्रम्हलुट, विघटनको संघारमा

काठमाडौं १७, भदौ । नेपाल परिवार नियोजन संघमा भएको व्यापक अनियमितताका कारण संघको अस्तित्व नै संकटमा पर्ने खतरा बढेको छ । संघको नेतृत्वले दातृ निकायबाट प्राप्त रकम अनियमितता तरिकाले खर्च गर्ने र संघको कामकाज प्रचलित ऐन, कानुन र संघको विधानलाई समेत उल्लघंन गर्दै मनोमानी ढंगले संचालन गर्न थालेपनि संघको अस्तित्व संकटमा परेको हो । संघले आफ्ना कार्यक्रम संचालन गर्न कानुनबमोजिम पेन गर्नुपर्ने कागजात पेस नगर्ने, परियोजनाहरु स्वीकृतिबिना नै संचालन गर्ने, कार्यक्रम संचालन गरेपश्चात अनुमोदन नगर्ने, समाज कल्याण् परिषद्बाट अनुगमन नगराउनेलगायत समाज कल्याण ऐन २०४९, समाज कल्याण नियमवाली २०४९, संस्था दर्ता ऐन २०३४ तथा नेपाल परिवार नियोजन संघको विधानका व्यवस्थाहरु संघको केन्द्रीय समितिले लगातार उल्लघंन गरिरहेका कारण संघ संकटमा परेको छ । जसका कारण करिब १ करोड जनताले प्राप्त गरेको सेवा बन्द हुने अवस्थामा रहेको छ भने करिब ६ सय कर्मचारीको भविष्य अन्योलमा परेको छ । नेपाल समाचारपत्र दैनिकबाट  ।

टेलिकमले ल्यायो १२०० एमबी डाटा अफर, भदौ १८ गतेदेखि लागू हुने

काठमाडौं, १६ भदौ । नेपाल टेलिकमले जिएसएम प्रिपेड मोबाइल प्रयोगकर्ताहरुका लागि शुभरात्री फेस्टिभल अफरको रुपमा शुभरात्री प्याकेज ल्याउने भएको छ । यो अफर राती ११ बजेदेखि विहान ५ बजेसम्म प्रयोग गर्न सकिने छ । कम्पनीका अनुसार उपभोक्ताले ५०० एमबी डाटा सब्सक्राइब गर्नका लागि SPECIAL500MB र १२०० एमबी डाटा सब्सक्राइब गर्नका लागि SPECIAL1200MB लेखेर १४१५ मा एसएमएस पठाउनु पर्ने छ । उपरोक्त महसुल दरमा नियमानुसार लाग्ने कर समावेश गरिएको छैन । उक्त अफर आगामी भदौ १८ गतेदेखि असोज १ गते (१५ दिन) सम्म लागू हुने कम्पनीले जनाएको छ ।