एनसेलको ‘दोब्बर पैसा ब्याक’ अफर

काठमाडौं, १३ असोज । देशको अग्रणी मोबाईल सेवा प्रदायक एनसेलले चाडपर्वको अवसरमा ‘दोब्बर पैसा ब्याक’ योजना ल्याएको छ । यस अन्तर्गत एनसेलका सबै प्रिपेड ग्राहकले प्रत्येक दिन निश्चित रकम मेन ब्यालेन्सबाट प्रयोग गर्दा प्रयोग भएको रकमको दोब्बर रकम बोनस ब्यालेन्स स्वरुप फिर्ता पाउनेछन् । चाडपर्वको अवसर पारी आफ्ना ग्राहकलाई थप लाभ प्रदान गर्ने उद्देश्यले ल्याएको यो योजना बिहीबार (असोज १३) बाट लागु भएको छ । एनसेलका सम्पूर्ण प्रिपेड ग्राहकले १७१२४ मा डायल गरि यो योजनामा निःशुल्क सहभागी भई लाभ लिन सक्नेछन् । सहभागितासँगै ग्राहकले बोनस प्राप्त गर्न आफुले प्रयोग गर्नुपर्ने रकमको जानकारी पाउनेछन् । उक्त रकम बराबरको मेन ब्यालेन्स प्रयोग हुने बितिक्कै सोहि रकम बराबरको दोब्बर रकम बोनस ब्यालेन्सको रुपमा तत्काल प्राप्त गर्न सक्नेछन् । प्राप्त बोनस रकम ग्राहकले एनसेल नेटर्वक भित्र कल गर्न, एसएमएस, एमएमएस पठाउन तथा ईन्टरनेट चलाउन प्रयोग गर्न सक्छन् । बोनस एक दिनमा एक पटक मात्र प्राप्त हुनेछ र प्राप्त बोनस त्यहि दिन मध्यरात सम्म मान्य हुनेछ । भोलिपल्ट पुनः तोकिएको रकम बराबरको मेन ब्यालेन्स प्रयोग हुँदा ग्राहकले दोब्बर बोनस प्राप्त गर्नेछन् । यसरी एक पटक योजनामा सहभागी भएपछि ग्राहकले योजना अवधिभर प्रत्येक दिन बोनस प्राप्त गरि आफ्ना प्रियजनसँग थप सम्पर्कमा रहन सक्नेछन् । यसका साथै ग्राहकले १७१२४ मा खाली म्यासेज (ब्ल्याङ्क म्यासेज) पठाई आफुले प्रयोग गरेको रकमको जानकारी पाउन सक्नेछन् । “चाडपर्वको बेलामा हामी आफ्ना परिवारजन, आफन्तहरु तथा साथीभाईसँग अझ बढि सम्पर्कमा रहन चाहन्छौं ।” एनसेलका कर्पोरेट संवाद विज्ञ मिलन शर्माले भने । “ग्राहकको यहि चाहनालाई कदर गर्दै यो योजना ल्याएको छौ । यसले ग्राहकलाई थप लाभ प्रदान गर्दै आफ्ना प्रियजनसँग अझ बढी सम्पर्कमा रहन सहज बनाउने छ ।” यो योजना ९० दिनको लागी मान्य हुनेछ ।

एउटै मेडिकल कलेजमा चारथरी शुल्क प्रस्ताव, ३२ लाखदेखि ७३ लाख रुपैयाँसम्मको शुल्क निर्धारण

काठमाडौं १३, असोज । एमबिबिएस अध्ययन गर्न एउटै मेडिकल कलेजमा पनि चारथरी शुल्क प्रस्ताव भएको छ । सरकारले बनाएको चिकित्सा शिक्षा शुल्क निर्धारण समितिले साढे ३२ लाखदेखि ७३ लाख रुपैयाँसम्मको शुल्क निर्धारण गरेर सिफारिस गरेको छ । समितिले शुल्क निर्धारणसहितका मापदण्डको प्रतिवेदन केही दिनअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुझाएको छ । प्रतिवेदनमा आर्थिक अवस्था राम्रो भएकाहरूबाट शुल्क लिने र कमजोर आर्थिक अवस्था हुनेमा लगानी गर्ने गरी शुल्क तय गरिएको छ । मेडिकल कलेजको सिट संख्याका आधारमा चारथरी शुल्क निर्धारण गरिएको छ । एउटै कलेजमा निःशुल्क, नियमित शुल्क, अतिरिक्त शुल्क अर्थात् व्यावसायिक सिट शुल्क र वैदेशिक सिट शुल्क निर्धारण गरिएको छ । अहिलेसम्म नेपाली विद्यार्थीलाई समान शुल्क निर्धारण गरिएको थियो । समितिका संयोजक शिवकुमार राईले विस्तृत अध्ययन गरेर सबैलाई मान्य हुने शुल्क निर्धारण गरेर सिफारिस गरिएको बताए । राईले भने, ‘अहिले चिकित्सा शिक्षा महँगो छ, हामीले पहुँच बढाउने हिसाबले शुल्क सिफारिस गरिएको भन्ने समाचार विहिबारको नयाँ पत्रिका दैनिकमा छापिएको छ ।

एउटै विदेशी पाइलटलाई १६ लाख तलब, नेपाली पाइलटलाई दुई लाख पाउनै मुस्किल

काठमाडौं १३, असोज । राष्ट्रिय ध्वजाबाहक नेपाल बायुसेवा निगमका साना जहाज उडाउने पाइलटले महिनामा मुश्किलले २ लाख रूपैयाँसम्म पारिश्रमिक हात पार्छन्। निजी वायुसेवाका पाइलटले त्यसको दोब्बरभन्दा बढी पाउँछन् । सधै तलबभत्ता कम भयो भन्ने गुनासो गर्दै आएका निगमका पाइलटलाई अर्को आरिसलाग्दो खबर ,  निगमकै चिनियाँ जहाज उडाउन आएका एक विदेशी पाइलटले मासिक १६ लाख रूपैयाँ तलब खान थालेका छन्। वर्षदिनदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा थन्किएको चिनीयाँ जहाज कमान्ड गर्न आएका न्यूजिल्याण्डका प्रशिक्षक पाइलट पेनिटालाई वायु सेवा निगमले मासिक १५ हजार अमेरिकी डलर १५ लाख ९० हजार रूपैयाँ तलब दिने सम्झौता गरेको वायुसेवा निगमले जानकारी दिएको छ ।