भारतको सिलगुढीबाट पेट्रोल आउन थाल्यो

मोरङ, २६ साउन । पूर्व क्षेत्रमा पेट्रोलको आपूर्तिलाई थप सहज बनाउन नेपाल आयल निगमले भारतको सिलगुढीबाट पेट्रोलको आपूर्ति सुरु गरेको छ । निगमले दैनिक सिलगुढी डिपोबाट १० ट्याङ्कर अर्थात् एक लाख २० हजार लिटर पेट्रोलको आयात सुरु गरेको हो । माग गरेअनुसारको पेट्रोल उपभोक्ताले सहजै पाउन भन्ने उद्देश्य राखेर निगमको क्षेत्रीय कार्यालयले सिलगुढीबाट पेट्रोलको आपूर्ति सुरु गरेको निगमका पूर्व क्षेत्रीय प्रमुख दिनेश यादवले बताए । “अब पूर्वक्षेत्रमा पेट्रोलको अभाव हुनेछैन”, प्रमुख यादवले भने, “उपभोक्ताले माग गरेअनुसारकै पेट्रोल उपलब्ध गराउन निगम तयार छ ।” निगमले यसअघि बरौनी रिफाइनरीबाट मात्र पेट्रोल आयात गरिरहेको थियो । बरौनीबाट दैनिक १० ट्याङ्कर अर्थात् एक लाख २० हजार लिटर आयात हुने पेट्रोलले माग पूरा गरिरहे पनि सहजता भने थिएन । बरौनी र सिलिगुढीबाट दैनिक आउने २० ट्याङ्करको कुल दुई लाख ४० हजार लिटर पेट्रोल पूर्वको मागभन्दा उच्च देखिन्छ । बरौनी रिफाइनरीबाट दैनिक ३५ ट्याङ्कर डिजेलसमेत आयात भइरहेको छ । त्यस्तै, आवश्यकताअनुसार मट्टितेलको पनि आयात भइरहेको निगमले जनाएको छ । हाल निगमको भण्डारमा ५५० केएल पेट्रोल र चार हजार केएल डिजल मौज्दात रहेको निगमले दाबी गरेको छ । यसैबीच, निगमले ट्याङ्करको व्यवस्थित पार्किङस्थलको निर्माण कार्य अन्तिम चरणमा पुगेको जनाएको छ । निगमको हाताभित्रै पार्किङस्थलको निर्माण पूरा गरेर सडकमा देखिएको ट्राफिक समस्या समाधान गर्ने निगमको योजना छ । निगमको पूर्व क्षेत्रीय कार्यालयले गत चैत २७ गते सार्वजनिक सूचनासहितको टेन्डर आह्वान गरेपछि शिवालय एनसी निर्माणसेवा जेभी, काभ्रेले ४८ लाखको लागतमा पार्किङस्थल निर्माणको ठेक्का लिएको हो । पूर्व क्षेत्रीय प्रमुख यादवले आउँदो भदौसम्ममा पार्किङस्थलको निर्माण कार्य पूरा भइसक्ने र असोजको पहिलो साताबाटै सञ्चालनमा आउने बताए । कुल १२ कट्ठा जमिनमा निगमको हाताभित्रै ट्याङ्करको पार्किङस्थल निर्माण भइरहेको छ । भारतको बरौनी रिफाइनरीबाट पेट्रोलियम पदार्थ बोकेर आएका सयौँ ट्याङ्करलाई पार्किङस्थलमा व्यवस्थित ढङ्गले राखिने निगमले जनाएको छ । पार्किङस्थलमा एकै पटक २०० वटा ट्याङ्कर अट्नेछन् । सुरक्षाको दृष्टिकोणले अत्यन्तै चुनौती बनिरहेको यार्डलाई व्यवस्थित बनाउने क्रममा जग्गामा ग्राभेल, घेरबार गरिनेछ भने पार्किङ स्थलमा सुरक्षा पोस्टसमेत राख्ने योजना छ । पेट्रोलियम पदार्थ बोक्ने ट्याङ्करको सङ्ख्या हाल २२५ को हाराहारीमा छ । रासस

आगामी वर्षदेखि आदिवासी दिवस सरकारले मनाउने

काठमाडौं, २५ साउन । प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी वर्षदेखि सरकार र आदिवासी जनजातिले संयुक्त रुपमा आदिवासी दिवस मनाउने बताएका छन् । नेपाल आदिवासी जनजाति महासङ्घले मंगलबार आयोजना गरेको २२औँ आदिवासी दिवस, २०७३ को समारोहलाई सम्बोधन गर्दै उनले संयुक्त राष्ट्र सङ्घले समेत मान्यता दिएको र नेपाल त्यसको पक्ष राष्ट्र भएकाले पनि आगामी वर्षदेखि नेपाल सरकारको आयोजनामा सो दिवस मनाइने घोषणा गरेका छन् । सरकार गठनको समयमा नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)बीच सातबुँदे सहमति भएको र संविधान निर्माण प्रक्रियादेखि नै असन्तुष्टि व्यक्त गर्दै आएका मधेसी, आदिवासी, जनजाति समुदायको माग सम्बोधन गर्न तीनबुँदे सहमति भएको उल्लेख गर्दै प्रधानमन्त्रीले भने – “संविधानको संशोधन र परिमार्जन गरेर सबै समुदायको माग सम्बोधन गरिन्छ, त्यसमा म प्रतिबद्ध छु ।” संविधानमा सबैको अपनत्व र भावनालाई सुनिश्चित गर्ने लक्ष्यका साथ नयाँ सरकार गठन गरिएको स्पष्ट पार्दै प्रधानमन्त्रीले आन्तरिक राष्ट्रिय एकता सुदृढ नहुँदासम्म मुलुकले उन्नति गर्न नसक्ने बताए । आफूलाई इतिहासको महत्वपूर्ण जिम्मेवारी प्राप्त भएको दोहो¥याउँदै उनले भने – “मुलुक र जनताको पक्षमा केही महत्वपूर्ण काम गरौँ भन्ने लागेको छ । त्यसका लागि सबैको सकारात्मक साथ र सहयोग जरुरी छ ।” प्रधानमन्त्रीले संविधानको कार्यान्वयन र मुलुकको आर्थिक समृद्धिका लागि आफू प्रयत्नशील रहने स्पष्ट पारे । उनले आदिवासी, जनजातिका पक्षमा गर्न सकिने जति काम गर्न आफूले इमान्दार प्रयास गर्ने उल्लेख गर्दै भने – “संविधानमा सबैको भावनालाई समेट्न इमान्दार प्रयास हुन्छ । सबैको महत्वपूर्ण साथ र सहयोग चाहेको छु ।” कार्यक्रममा काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधानमा प्राप्त अधिकारलाई संस्थागत गर्दै थप अधिकार प्राप्तिको दिशामा अगाडि बढ्नुपर्नेमा जोड दिए । उनले संविधान कार्यान्वयन गरेर थप अधिकार प्राप्तिका लागि अगाडि बढ्नु नै आजको प्रमुख कार्यभार भएको बताए । उनले आदिवासी जनजातिको पहिचान र संस्कृति गुम्दै गएकामा चिन्ता व्यक्त गर्दै भने – “विश्व समुदायलाई देखाउने हाम्रो पहिचान हो, हाम्रो पहिचानमाथि विदेशी हस्तक्षेप भइरहेको छ । त्यसलाई रोक्न हामी सबैको इमान्दार प्रयास हुनु जरुरी छ ।” नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुनले आदिवासी जनजातिलाई अधिकारसम्पन्न बनाउन सकेका खण्डमा मात्रै संविधानको सहज कार्यान्वयन हुने र मुलुक समृद्धिको मार्गमा अगाडि बढ्ने बताए । संविधानका कतिपय प्रावधानले आदिवासी जनजातिलाई अधिकार नदिएको जनाउँदै उनले सशोधनमार्फत समृद्ध बनाउनुपर्नेमा जोड दिए । सन् १९९५ मा संयुक्त राष्ट्र सङ्घले हरेक वर्ष अगस्ट ९ लाई विश्व आदिवासी दिवसका रुपमा मनाउने घोषणा गरेअनुसार आज विश्वभर आदिवासी दिवस मनाइएको हो । कार्यक्रममा महासङ्घका अध्यक्ष नागेन्द्र कुमाल, सांसद यशोदाकुमारी लामा, रुक्मिणी चौधरी लगायतले आदिवासी जनजातिको अधिकार प्राप्तिका लागि थप सङ्घर्ष गर्नुपर्ने बताए। रासस

मालपोत अधिकृत सिवाकोटीविरुद्ध मुद्दा

काठमाडौं, २५ साउन । सार्वजनिक पदमा बहाल रहँदा मालपोत कार्यालय कलङ्कीका अधिकृत जीवनाथ सिवाकोटीले स्रोत नखुलेको सम्पत्ति आर्जन गरेको आरोपमा आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । वाग्मती अञ्चल अदालतमा नासुबाट सेवा प्रवेश गरेका सिवाकोटीले विभिन्न कार्यालयमा रहँदा हालसम्म रु एक करोड ४७ लाख ४१ हजार ६७१ गैरकानुनी रुपले आर्जन गरेको देखिएकाले निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार बिगो बमोजिम जरिवाना र कैद सजाय तोक्न माग गरिएको आयोगद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ । आयोगले निजकी श्रीमती तारादेवीका नाममा रहेको स्रोत नखुलेको चलअचल सम्पत्ति जफत गर्न पनि माग गरेको छ । रासस