दसैंको मुखमा सौर्य एयर ग्राउण्डेड, दैनिक २५० यात्रु प्रभावित
काठमाडौं २०, असोज । दसैंको मुखैमा नियमति उडानको सौर्य एयरलाइन्स ग्राउण्डेड भएको (विग्रिएर थन्किएको) छ । बुधबार विहान विराटनगरबाट काठमाडौं आएपछि जहाजको कोपाइलटतर्फको अगाडिको झ्यालको सीसा टुटेको छ । सीसामा देखिएको सानो क्र्याकले पनि विन्डो हिटमा समस्या आउने भएकोले जहाज ग्राउण्डेड भएको समाचार विहिबारको अन्नपूर्ण पोष्टमा छापिएको छ । सीसामा देखिएको सानो समस्या भएपनि ग्राहकको सुरक्षा संवेदशीलतालाई ध्यानमा राखेर जहाज ग्राउण्डेड गरिएको सौर्य एयरलान्यसका प्रवन्ध निर्देशक गोपाल भट्टराईले बताए । उनका अनुसार झ्यालको सीसा नै फेर्नुपर्ने र त्यसो सामान अमेरिकाबाटै मगाउनुपपर्छ । यसका लागि करिब ३० देखि ४० लाख खर्च लाग्ने उल्लेख छ । अमेरिकादेखि सामान मगाउने र ल्याएर जडान गर्दा तीनचार दिन लाग्ने एयरलाइन्सको भनाइ छ । ५० जना यात्रु बोक्ने यो वायुसेवासँग एउटा मात्रै जहाज भएकोले पनि सानो समस्या आउँदा पनि शत् प्रतिशत उडान रद्द हुने गरेको छ । यो वायुसेलाई काठमाडौंबाट विराटनगर, नेपालगन्ज र भद्रपुरको लागि दैनिक ५ देखि ६ वटासम्म उडान गर्ने गरेको छ । जहाज ग्राण्डेड हुँदा दैनिक साढे दुई सय देखि ३० सय जना प्रभावित भएका छन् ।
मठमन्दिरमा पूजा गर्न वार्षिक एक करोड बजेट, ६५ प्रतिशत बजेट दसैँको वेलामा हुने पूजा तथा बलिमा खर्च
काठमाडौं २०, असोज । देशभरका मठमन्दिरमा पूजा गर्न सरकारले वार्षिक एक करोड रुपैयाँ खर्च गर्ने गरेको छ ।सरकारले चालू आर्थिक वर्षमा मन्दिर र शक्तिपीठमा पूजा गर्न एक करोड १६ लाख ५२ हजार चार सय रुपैयाँ विनियोजन गरेको छ । विनियोजित रकममध्ये करिब ६५ प्रतिशत बजेट दसैँको वेलामा हुने पूजा तथा बलिमा खर्च हुने गरेको निवृत्तभरण व्यवस्थापन कार्यालयका प्रमुख शिवनाथ पौडेलले बताए । विनियोजित बजेट दसैँबाहेक अन्य विशेष पूजामा पनि खर्च हुने गरेको छ । पूजाआजाका लागि सरकारले विनियोजन गर्ने बजेट हरेक वर्ष बढ्ने गरेको छ । गत आर्थिक वर्षमा पूजा सामग्री तथा पशुबलिका लागि एक करोड १२ लाख ३२ हजार रुपैयाँ विनियोजन भएको थियो । चौपाया बलिका लागि साढे ८१ लाख बजेट सरकारले चालू आर्थिक वर्षमा चौपाया बलिका लागि ८१ लाख ४५ हजार सात सय रुपैयाँ विनियोजन गरेको छ । त्यस्तै, पूजाआजा गर्न ३४ लाख ९६ हजार सात सय रुपैयाँ छुट्याएको छ । धुप, धजा, प्रसादसहित २१६ प्रकारका पूजा सामग्री पूजामा प्रयोग गर्ने गरिन्छ । मल्लकालदेखि नै मन्दिर तथा विभिन्न शक्तिपीठका लागि बजेट विनयोजन हुँदै आएको निवृत्तभरण व्यवस्थापन कार्यालयले जनाएको छ । कार्यालयका प्रमुख पौडेलले भने, ‘हिन्दूधर्मका लागि निवृत्तभरण व्यवस्थापन कार्यालयले खर्च गर्दै आएको छ । अन्य धर्मावलम्बीका लागि छुट्टै निकायबाट पैसा व्यवस्थापन गरिन्छ ।’ नयाँ पत्रिका दैनिकबाट ।
दशैं मनाउन पाँँच लाखले उपत्यका छोडे, १५ लाखले गाँउ जान टिकट काटिसके
काठमाडौं २०, असोज । दशैं मनाउन उपत्यका छाड्नेहरूको संख्या दैनिक बढेको छ । पाँच दिनयता करिब पाँच लाख सर्वसाधारणले उपत्यका छाडेको ट्राफिक प्रहरीको तथ्यांक छ । नागढुंगा नाकाबाट मंगलबार मात्र पाँच हजार सात सय पाँच सवारीसाधनमार्फत ६४ हजार तीन सय ५९ सर्वसाधारण बाहिरिएका छन् । सबै नाकाबाट गरेर सवा लाख सर्वसाधारण मंगलबार बाहिरिएको ट्राफिक प्रहरीले जनाएको छ । सबै नाकाबाट मंगलबार १० हजार ६६ सवारीसाधन बाहिरिएका थिए । मंगलबारभन्दा बुधबार नाकाबाट बाहिरिनेको संख्या बढेको समाचार बिहिबारको नेपाल समाचार पत्रमा छापिएको छ । दसैँमा हरेक वर्ष करिब २० लाख सर्वसाधारणले उपत्यका छाड्छन् । त्यसमध्ये करिब १८ लाखले सार्वजनिक यातायात प्रयोग गर्ने ट्राफिक प्रहरीले जनाएको छ । यो वर्ष १४ लाखभन्दा धेरै टिकट बिक्री भइसकेको छ । फूलपातीको अघिल्लो दिन, फूलपाती र अष्टमीको दिनमा सबैभन्दा धेरै यात्रु बाहिरिने गर्छन् ।