दसैंभरलाई डा. केसीको अनसन स्थगित, माग सम्बोधन गराउने सरकारी प्रयास असफल

काठमाडौं २२, असोज । त्रिवि शिक्षण अस्पतालका वरिष्ठ चिकित्सक गोविन्द केसीले दसैंभरका लागि अनशन स्थगित गरेका छन् । दिनभर सरकारी पक्षसँग वार्तामा बस्दा पनि कुनै निष्कर्षमा नपुगेपछि उनले शुक्रबार राति पत्रकार सम्मेलन गरी १२ दिनदेखिको अनशन स्थगित गरेका हुन् । ‘अनशनप्रति ऐक्यबद्धता जनाउनेहरुको दसैं खल्लो नहोस् भन्ने ध्येयका साथ दसैंलगत्तै पुनः अनशन बस्ने गरी स्थगित गरेको छु,’ पत्रकार सम्मेलनमा डा. केसीले भने, ‘सरकारले मेरा मागमा कुनै सम्बोधन गर्ने तयारी नगरेपछि मेरो अनशन जारी राख्नुपर्ने भए पनि चाडबाडलाई लक्षित गर्दै यो अनशन स्थगन गरेको हुँ ।’ चारबुँदे माग राख्दै १० असोजदेखि डा। केसी आमरण अनशन बस्दै आएका थिए । १२ दिन लामो अनशनका कारण उनको स्वास्थ्य गम्भीर बन्दै गएको भन्दै उपचारमा संलग्न चिकित्सकहरूले अनशन स्थगन गर्न सुझाव दिँदै आएका थिए । शुक्रबार सरकारका तर्फबाट वार्ताका लागि पुगेको स्वास्थ्य र शिक्षा मन्त्रालयका कामु सचिव पदमबहादुर चन्द र डिल्ली रिमालले पनि सरकारका तर्फबाट माग पूरा गर्ने प्रतिबद्धता दोहो¥याउँदै अनशन स्थगित गर्न आग्रह गरेका थिए । डा.केसीको मागलाई सम्बोधन गराउन भने सरकारी प्रयास शुक्रबार पनि असफल नै रह्यो । उनीहरूले केसीलाई भेटेर सरकारी पहलहरूबारे जानकारी गराएको शिक्षामन्त्री धनीराम पौडेलले जानकारी दिए । उनका अनुसार सरकारले केसीका मागलाई सम्बोधन गर्न सक्ने विषय जानकारी गराउँदा थप मागसमेत राखिएकाले शुक्रबार नै सम्बोधन हुन नसकेको हो । सरकारको प्रतिबद्धता रहे पनि कार्यान्वयनका नभए पुनः अनशन बस्ने गरी स्थगन गर्न आफूहरूले आग्रह गरेको शिक्षामन्त्री पौडेलले जानकारी दिए । उनका अनुसार त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) बाट डिन नियुक्तिको माग सम्बोधन गर्ने प्रक्रिया सुरु भएको छ । प्रधानमन्त्री प्रचण्ड, स्वास्थ्यमन्त्री गगनकुमार थापालगायतले यसका लागि पहल गरिरहेका छन् । तर, यसमा पनि धेरै अवरोध देखिएको शिक्षामन्त्री पौडेलले जानकारी दिए । सोलिडारिटी फर डा। केसी एलाइन्सका संयोजक जीवन क्षत्रीले पनि डिन नियुक्ति गर्न भनेको तर सुनुवाइ नभएको बताए । डा। केसीले शुक्रबार ४ बजेसम्म आफ्ना दुई माग सम्बोधन गर्न सरकारलाई भनेका थिए र डिन नियुक्ति र शुल्क निर्धारणसम्बन्धी समितिको प्रतिवेदन खारेज गर्ने निर्णय भए अनशन तोड्न सकारात्मक वातावरण बन्ने केसीको सर्त थियो । तर, त्यो शुक्रबार नै सम्बोधन हुन नसके पनि केसीले दसैंपछि पुनः अनशन बस्ने गरी अनशन स्थगन गर्नुपरेको  राति पत्रकार सम्मेलन गरी जानकारी दिए । शुल्क निर्धारणसम्बन्धी समितिको प्रतिवेदन कार्यान्वयन नगर्ने निर्णय गर्न सकिने भए पनि डिन नियुक्तिमा भने अप्ठ्यारो देखिएको शिक्षामन्त्र पौडेलको भनाइ छ । स्रोतका अनुसार अनशनरत केसीले जेपी अग्रवाललाई नै डिन नियुक्त गर्नुपर्ने सर्त राखेका छन् । केसीले एकजनाको नाम मात्र दिएको पुष्टि गर्दै शिक्षामन्त्री पौडेलले भने, ‘विकल्प दिनुस् भने पनि त्यो हुन नसक्दा समस्या उत्पन्न भएको हो ।’डिन नियुक्तिमा केसीले दिएको नाम त्रिविले मानेको छैन । त्रिभुवन विश्वविद्यालयले सर्वोच्च अदालतको अन्तरिम आदेशमा महान्यायाधिवक्ताको राय मागेको छ । दसैंभर अनशन रोकेर पुनः पछि बस्नसमेत कामु सचिवहरूले गरेको आग्रह केसीले अस्वीकार गरेका छन् । डा। केसीको यो नवौं अनशन हो । र, सबैभन्दा लामो अनशन भनेको १४ दिनसम्मको छ । डा। केसीले अख्तियार प्रमुख लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउनुपर्ने र आफ्नो सुझावसहित चिकित्सा शिक्षा ऐन तत्काल पास गर्नुपर्ने थप माग राखेका छन् । तर, सरकारले भने महाअभियोगको विषय यो आफ्नो वशमा नभएको बताएको छ । संवैधानिक निकायका प्रमुखलाई सरकारले महाअभियोग लगाउन नमिल्ने र विधेयक संसदीय प्रक्रियामा रहेकाले हस्तक्षेप गर्न नमिल्ने सरकारको जवाफ छ । यस्तै, डा। गोविन्द केसीका समर्थक तथा लुटतन्त्रविरोधी अभियन्ताहरूले स्वास्थ्य क्षेत्रमा भएका बेथिति तथा मुलुकमा विद्यमान लुटतन्त्रविरुद्ध लड्न केसीको अनशनले प्रेरणा दिएको बताएका छन् ।

सर्वसाधारणलाई सस्तो पसल खोज्नुपर्ने बाध्यता, महँगीले सर्वसाधारणलाई लागि दसैँ दशा समान

काठमाडौं २१, असोज । अकासिँदो महँगीले गर्दा सर्वसाधारणलाई दसैँ दशा बन्ने गरेको छ । जसोतसो परम्परा धान्नैपर्ने भएकाले सस्तो पसल खोज्नुपर्ने बाध्यता उनीहरूमा छ । सर्वसाधारणले सस्तोमा किनमेल गर्न फुटपाथ बजारलाई रोजेका छन् । चर्को मोलमोलाई गरेर सस्तोमा किनमेल गर्न चाहनेका लागि यस्तो बजार उपयुक्त हुन्छ । आफूले प्रायजसो दसैँमा फुटपाथमै कपडा खरिद गर्ने गरेको शर्मिला तामाङले बताउनुहुन्छ । गाउँबाट परिवारका लािग दसैँको कपडा खरिद गर्न आउनुभएकी तामाड भन्नुहुन्छ, ठूला पसलमा यही सामानको मूल्य बढी हुन्छ । त्यसैले म त सधै फुटपाथमा नै खरिद गर्छु । यस्तै रञ्जना गल्लीमा बच्चाको लुगा छानिरहनुभएकी केसाङ क्षेत्रीले ठूला पसलमा भाडा ज्यालासमेत जोडेर सामानको मूल्य तोकिने भएकाले सामान महँगो हुने अनुमान गर्नुभयो । ग्राहक मात्र होइन व्यापारीहरू पनि फुटपाथ बजार सर्वसाधारणका लागि उपयुक्त हुने बताउछन् । असनस्थित लुगा व्यापारी सर्मन नुवाकोटीले ठूला पसलले उही सामानको बढी मूल्य लिने दाबी गर्नुहुन्छ । केही ठूला पसलेले हामीले किनेकै ठाउँबाट सामान ल्याउँछन् तर हामीले भन्दा बढी मूल्यमा बेच्ने गरेको पाइन्छ । उहाँले फुटपाथमा सामान किन्दा मोलमोलाई गर्न डराउन नहुने सुझाव दिनुहुन्छ । यसैगरी आम मानिस सस्तोमा खाद्यान्न आपूर्ति गर्न सरकारले राजधानीसहित देशका विभिन्न क्षेत्रमा सस्तो बजार सञ्चालमा ल्याएको छ । यस्ता बजारमा मानिसको भीड लागेको छ । टेकुस्थित सस्तो बजारमा खाद्यान्न खरिद गर्नुआउनुभएकी कविता श्रेष्ठ भन्नुहुन्छ, पाँच दश रुपियाँले पनि धेरै फरक पर्छ अहिले मौकामा अलि धेरै सामान खरिद गर्न आएको हो । उहाँले नबिग्रने तथा नकुहिने खाद्यान्न सामान बढी खरिद गर्ने जानकारी दिनुभयो । उता सामाखुसी टाउन प्लानिङमा रहेको एक पसलमा एउटा सर्ट, टिसर्ट, बच्चाको लुगा तथा विभिन्न घरमा सजाउने सामान १० रुपियाँमा खरिद गर्न भीड लाग्ने गरेको छ । आर्थिक अवस्था कमजोर भएका व्यक्तिले पनि लुगाफाटो फेरेर लगाउन सकोस् तथा कुनै पनि सामानको पुनःप्रयोगले वातावरणलाई राम्रो हुन्छ भन्ने उद्देश्यका साथ सुखावती स्टोर सञ्चालनमा आएको सो पसलमा पनि मानिसको भीड निकै थियो । उक्त स्टोरका सञ्चालक चिजमान गुरुङ भन्नुहुन्छ, दसैँ सुरु भएदेखि ग्राहकहरूको बाक्लै उपस्थिति छ । गोरखापत्र दैनिकबाट ।

एक एनआरएनले ३ जना पर्यटक पठाउने प्रतिवद्धता, सन् २०१७ सम्ममा १६ लाख पर्यटक नेपाल पठाउने अभियान सुरु

काठमाडौं २१, असोज । सन् २०१७ को अन्त्यसम्मका नेपालमा १६ लाख पर्यटक पठाउने र यसका लागि नेपाल भ्रमणको अभियान सुरु गर्ने गैरआवासीय नेपाली संघका उपाध्यक्ष भवन भट्टले बताए । नेपालमा विदेशी पर्यटक बढाउन संघले आफ्ना सदस्यमार्फत हरेक देशका एनआरएन एक जनाले ३ जना विदेशी पर्यटक नेपाल पठाउने प्रतिवद्धता पनि भट्टले व्यक्त गरे ।   कार्यक्रममा बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले हरेक वर्ष नेपालमा विदेशी पर्यटकको घुम्ने संस्कृति बढ्दै गएको बताए । उनका अनुसार नेपालमा धेरै मात्रामा फूर्सदको समयमा घुम्ने मात्र नभएर मेडिकल, मनोरञ्जन, धार्मिकसहितका पर्यटकको पनि आकर्षण बढ्न थालेको पनि उनको बुझाई छ । संघले पर्यटन प्रवद्र्धनमा एनआरएनएको भूमिका प्रभावकारी बनाउन चाहेको जानकारी दिएको छ । एनआरएनले ६ महिना अगाडिदेखि बोर्डसँगको सहकार्यमा अतिथी देवो भवः नामक पर्यटन प्रवद्र्धनको अभियान संचालन गरिरहेको छ । यही अभियानलाई थप प्रभावकारी बनाउन संघले आफ्नो सक्रियाता बढाउन चाहेको बताएको छ । अभियानका प्रमुख लिडर डा. पुष्प अधिकारीले छिमेकी मुलुक भारत र चीनको तुलनामा नेपालमा साह्रै न्यून पर्यटक आगमन हुने गरेको बताए । उनका अनुसार विश्वर पर्यटनमा अगुवाई गरेको देशको बीचमा रहेको नेपालको उपस्थिति बलियो बनाउनुपर्ने तर्क पेश गरे । डेमार्कका लागि पर्यटन प्रवद्र्धन दूत सोमनाथ सापकोटा र रसियाका लागि पर्यटन प्रवद्र्धन दूत सपिला राजभण्डारीले आफ्नाफ्नो प्रस्तुतीकरण समेत दिएका छन् । उनीहरुले बोर्डले गाइडलाइन दिनुपर्ने, अन्तर्राष्ट्रिय पहुँचका लागि हवाई मार्गको विस्तार हुनुपर्ने, प्रवद्र्धनात्मक अभियानका सामग्री उपलव्ध हुनुपर्ने सहितको माग पनि पर्यटन प्रवद्र्धन दूतको छ । बोर्डले सन् २०१८ सम्मका लागि २८ जना यस्ता दूतको नवीकरण गरेको छ । कम्तिमा दुई वर्षका लागि दिने यस्तो दूत नवीकरण नभएका र प्रक्रियामा रहेको संख्या तथा बोर्डले दूत नियुक्त गरेका गरी करीब चार दर्जन रहेका छन । पर्यटन बोर्डले एउटै देशमा पाँच जनासम्म यस्तो पर्यटन दूत नियुक्त गरेको छ । बोर्डले विभिन्न देशमा गरी सन् २०१८ सम्मका लागि नवीकरण भएका यस्ता पर्यटन दूतको संख्या हाल २८ जना रहेको तथ्यांक उपलव्ध गराएको छ । बोर्डले धेरैवटा देशमा एक जना मात्रै नियुक्त गरेको भएपनि संयुक्त राज्य अमेरिकामा भने पाँच जना पर्यटन सद्भाव दूत नियुक्त गरेको छ ।