कतारमा कामदारलाई कानुन खुकुलो, रोजगारदाता र कामदारबीचको सम्झौतापत्र अनुसार नयाँ कानुन लागू हुने
काठमाडौं २८, असोज । कतारमा रोजगारदाता र कामदारबीचको सम्झौतापत्र अनुसार नयाँ स्पोन्सरसिप कानुन लागू हुनेछ । कतारमा काम गर्ने, बस्ने र घर फिर्ने अवधि करारपत्रमै उल्लेख हुन्छ । यसअघि सबै अधिकार कम्पनीले चाहेअनुसार हुन्थ्यो । कम्पनीबाट रद्द भएर स्वदेश फिरेको दुई वर्षसम्म अर्को कम्पनीमा जान लगाएको प्रतिबन्ध हटेको छ । सक्कली करारपत्र पाए लगत्तै कतार जानेबाटो खुल्नेछ । नतोकिएको करारपत्रमा आएका कामदार पाँच वर्षपछि अर्को कम्पनीमा जान पाउनेछन् । तोकिएको करारपत्र सकिएपछि सरकारको सम्बन्धित विभागबाट अनुमति लिई नयाँ रोजगार गर्न पाउने बाटो खुलेको छ । उक्त मितिदेखि कानुन कार्यान्वयनमा आउने सार्वजनिक जानकारी दिन व्यापक प्रचारप्रसार गरिने कतारी समाचार समिति (क्यूएनए) ले जनाएको छ । नयाँ स्पोन्सरसिप कानुन प्रभावकारी रूपमा कार्यान्वयन गर्न कतारले गैरकानुनी रूपमा बस्दै आएका कामदारका लागि तीन महिने आममाफी दिइसकेको छ । आममाफीको अवधि डिसेम्बर १ बाट सकिँदैछ । समाचार स्रोत कान्तिपुर दैनिक ।
कालिकोटका वासिन्दको दसैंको आसिक, बालविवाह अन्त्य होस्
काठमाडौं २८, असोज । दसैंमा विशेष गरी दीर्घायु र सुखसमृद्धिको आशिष दिइन्छ । तर, कालिकोटमा यसपालि फरकखाले आशिष दिइयो । महिला हिंसाविरूद्धको अभियानस्वरूप सरोकारवालाले बालविवाह न्यूनीकरणका शुभकामना आदानप्रदान गरे । उनीहरूले आफन्तलाई आशिष दिए, ‘कसैले बालविवाह नगरून्, छोरीचेलीले अकालमा ज्यान गुमाउनु नपरोस्, बालविवाह अन्त्य होस् ।’ २०७५ सालभित्र कालिकोटलाई बालविवाह मुक्त जिल्ला बनाउन अघि सारिएको रणनैतिक योजना पूरा गर्न गाउँगाउँमा अभियान सञ्चालन भइरहेको छ । अभियानअन्तर्गत जिल्लाका ३० मध्ये जुविथा, सुकाटिया, छाप्रे, मान्म, दाहा, पाखा, कालिका, रकु र राचुली गरी ९ गाविस बालविवाह मुक्त घोषणा भइसकेको जिल्ला बालकल्याण समिति महिला विकास अधिकृत सीता थापामगरले बताइन् । अन्य गाविसमा पनि गाउँ बाल संरक्षण समितिमार्फत अभियान चलिरहेको उनले जानकारी दिइन् । कान्तिपुर दैनिकबाट ।
नेपाली युवालाई उत्कृष्ट विद्यार्थी पुरस्कारं, अन्तर्राष्ट्रिय प्रतिस्पर्धाबाट नेपाली विद्यार्थी छानिए
काठमाडौ २८, असोज । अस्ट्रेलियामा अध्ययनरत नेपाली युवालाई अस्ट्रेलियन सरकारले उत्कृष्ट विद्यार्थीको रुपमा सम्मानित गरेको छ । सिड्नीमा रहेको युनिभसिर्टी अफ टेक्नोलोजीमा अध्ययनरत विजय सापकोटालाई न्यु साउथ वेल्स राज्यले उत्कृष्ट विद्यार्थीको रुपमा सम्मानित गरेको समाचार शुक्रबारको कान्तिपुर दैनिकमा छापिएको छ । अस्ट्रेलियन सरकारले प्रत्येक बर्ष अन्तर्राष्ट्रिय विद्यार्थीहरुमध्येबाट छनोट गरेर उक्त पुरस्कार दिने गर्दछ । अन्तर्राष्ट्रिय विद्यार्थीलाई दिइने उक्त पुरस्कार सबैभन्दा उच्च तहको मानिन्छ ।