मेलम्चीको पानी वितरणका लागि ३५० किमी पाइप ओच्छ्याइयो
काठमाडौं, २८ जेठ । मेलम्चीको पानी उपत्यकामा आएपछि ग्राहकलाई वितरणका लागि ३५० किमी पाइप बिच्छ्याउने काम सम्पन्न भएको छ । पानी वितरणका लागि ६५० किमी पाइप बिच्छ्याउनु पर्नेमा आधाभन्दा बढी काम सम्पन्न भएको काठमाडौं उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले जनाएको छ । थोक वितरण प्रणालीका लागि ६१ किमी पाइप बिच्छ्याइनु पर्नेमा हालसम्म २२ किमी काम सम्पन्न गरेको आयोजना प्रमुख तिरेशप्रसाद खत्रीले जानकारी दिए । “थोक वितरण प्रणालीको सुन्दरीजल–आरुबारी–महाँकालचौरसम्म कालिका कन्स्ट्रक्सन र महाँकालचौर–चुच्चेपाटीदेखि तलको भागमा भारतको जिन्डल कम्पनीले पाइप बिच्छ्याउने काम गरिरहेका छन्, सुन्दरीजल–आरुबारी–महाँकालचौरको ९।५ किमी पाइपमा हप्ता दिनभित्र ट्रकबाट पानी हालेर परीक्षण गरिनेछ”–उनले भने । चुच्चेपाटीमा ढिला हुँदा सडकमा समस्या महाङ्कालचौर–चुच्चेपाटी–चाबहिल खण्डमा आइपुगेपछि पाइप ल्याउन ढिला भएकाले एक महिनाभन्दा बढी समय काम रोकिँदा सडक अवरोध भएको स्थानीयवासीको गुनासो छ । स्थानीय सन्तोष घिमिरे ५०० मिटर पाइप बिच्छ्याउन महिनौँ लगाइदिँदा घाम लाग्दा सडक धुलाम्ये र पानी पर्दा हिलाम्ये भएर हिँडडुल एवम् सटरमा व्यापार व्यवसायमा पनि समस्या आएको बताउछन्। आयोजना प्रमुख खत्रीले १।४० मिटर चौडाइको डक्टाइल पाइप चीनबाट ल्याउन ढिला भएकाले समय बढी लागे पनि हाल काम सम्पन्न भएर सडक बनाउन सुरु भएको बताउछन् । सिन्धुपाल्चोकको मेलम्ची खोलाबाट दैनिक १७ करोड लिटर पानी सुन्दरीजल प्रशोधन केन्द्रमा प्रशोधन गरी उपत्यकामा वितरण गरिन्छ । पानी विसं २०७३ असोजभित्र सुन्दरीजलमा ल्याउने सम्झौता इटालियन सुरुङ निर्माण कम्पनी सीएमसीसँग गरिए पनि गत वर्ष वैशाखको भूकम्प र असोजपछिको नाकाबन्दीले एक वर्ष ढिला हुने भएको छ । मेलम्ची खोलाको पानी ल्याइसकेपछि याङ्ग्री र लार्के खोलाबाट पनि दैनिक १७/१७ करोड लिटरका दरले थप ३४ करोड पानी ल्याउने सरकारको योजना छ । रासस
जस्मिन पेन्ट्स सगरमाथाको चुचुरोमा
काठमाडौं, २८ जेठ । जस्मिन पेन्ट्सको झण्डा सगरमाथाको चुचुरोमा फहराइएको छ । २०५१ साल स्थापित मनकामना ग्रुपको जस्मिनको लोगो अंकित झण्डा नवाङ नर्बु शेर्पा(माइला)ले सगरमाथाको शिखरमा पुर्याएका हुन् । उनले जेठ ६ गते सगरमाथाका शिखरमा पुर्याएका थिए । ‘नेपाली मनको नेपाली रङ्ग’ नारासहित अघि बढेको कम्पनीले स्वदेशी रङ्ग उत्पादक कम्पनीमध्ये आफुलाई दोश्रो नम्बरको कम्पनी भएको दावी गर्दै आएको छ । जस्मिन पेन्ट्सको ७५ वटै जिल्लामा बजार सञ्जाल रहेको कम्पनीका निर्देशक मधुसुधन अर्यालले बताए । चितवनमा रहेका उद्योग मार्फत उत्पादित रंगलाई कम्पनीले देशभर उपलब्ध गराउँदै आएको छ । कम्पनीले निर्यातको सम्भाव्यताको समेत अध्ययन गरिरहेको निर्देशक अर्यालले बताए ।
६६ करोडको लागतमा चारवटा पक्की पुल निर्माण सुरू
कञ्चनपुर, २८ जेठ। कञ्चनपुरको दोदा, बल्मा नदी र घटाल थान क्षेत्रमा ६६ करोड रूपैयाँको लगानीमा चारवटा पक्की पुल निर्माणको कार्य सुरु गरिएको छ । तीनवर्ष भित्रै निर्माण कार्य सम्पन्न गर्ने गरी ठेक्का प्रक्रियामार्फत चालु आवदेखि पुल निर्माण कार्य हुन थालेको हो । दोदा नदीको देखतभूली–पर्सिया र बेलौरी नगरपालीकाको भकुन्डा–बेलौरी जोड्नका लागि २११ मिटरका दुईवटा पक्की पुल निर्माण कार्य भइरहेको डिभिजन सडक कार्यालय महेन्द्रनगरका इन्जिनियर ज्ञानेन्द्र कलौनीले बताए । “दैजी–बेलडाँडी जोड्नका लागि बल्मा नदीमा रु आठ करोडको लागतमा झन्डै सय मिटर लम्बाइको पक्की पुल र धार्मिकस्थल घटाल थान जोड्नका लागि रु १८ करोडको लागतमा २०० मिटर लम्बाइको पुल निर्माण कार्य भइरहेको छ”, उनले भने । दोदा नदीमा पुल नहुँदा बर्सातका बेला देखतभूली र शङ्करपुरका बासिन्दाको सदरमुकामसँग सम्बन्ध विच्छेद हुँदै आएको थियो । पुल निर्माणको कार्यले यातायात सेवासँगै आवतजावतमा सहजता हुने शंकरपुरका रामप्यारा चौधरीले बताए । यसैगरी, दैजी–बेलडाँडीको बल्मा नदीमा पुल नहुँदा बेलडाँडीलगायत क्षेत्रका बासिन्दाले सास्ती खेप्दै आएका थिए । धार्मिक क्षेत्र घटाल थानमा पुल निर्माण सँगै दर्शनार्थीलाई सहजता हुने भएको छ । रासस