चिनियाँ र कोरियालीसँग नेपाली चेलीले विवाह गर्न नपाउने, नेपाली चेलीको सपना अधुरो हुने

काठमाडौं, कात्तिक २८ । सुन्दर भविष्यको सपना बोकेर विदेशी नागरिकसँग विवाह गर्ने अधिकांश नेपाली चेलीको सपना अधुरो हुन थालेपछि गृह प्रशासनले चीन र दक्षिण कोरियाका नागरिकसँगको विवाहमा प्रतिबन्ध लगाएको छ । श्रीमती बनाउने बहानामा नेपाली चेलीलाई ती देशका नागरिकले आफ्नो देशमा लाने र चरम यातना, यौनशोषण तथा घरेलु हिंसा गरेको पाइएपछि गृह मन्त्रालयले यी देशका नागरिकसँगको विवाहमा प्रतिबन्ध लगाएको जिल्ला प्रशासन कार्यालय काठमाडौँका सहायक प्रजिअ तथा प्रवक्ता गणेशप्रसाद भट्टराईले जानकारी दिए। गृह मन्त्रालयको सचिवस्तरीय निर्णयबाट सबै क्षेत्रीय प्रशासन कार्यालयमा यी दुई देशका नागरिकसँगको विवाहवारीमा प्रतिबन्ध लगाउने परिपत्र गरिएको उल्लेख गर्दै प्रवक्ता भट्टराईले विदेशी–विदेशी नागरिकबीचको विवाहमा पनि प्रतिबन्ध लगाइएको जानकारी दिए। राजदूतावास र केही कूटनीतिक नियोगमा काम गर्ने विदेशी कर्मचारीहरूबीचको प्रतिबन्धित विवाह भने खुलाउने तयारी सरकारले गरेको छ । ‘राजदूतावासमा र अन्य कूटनीतिक नियोगमा बसेर काम गर्ने विदेशी नागरिकबीच हुने विवाहलाई मान्यता दिने गृहकार्य गरिँदैछ तर स्वयंसेवक वा अन्य काम देखाएर नेपाल आउने अनि विवाह गर्ने कार्य भने प्रतिबन्धित नै हुनेछ’, प्रवक्ता भट्टराईले भने। सरकारले विदेशी नागरिकसँगको विवाहमा कडाइ गरेपछि पछिल्लो समयमा विदेशी नागरिकसँगको दर्ता विवाहमा कमी आएको छ । जिल्ला प्रशासन कार्यालयको तथ्याङ्क अनुसार आव २०७३र०७४ का पहिला तीन महिनामा ८५ जोडीको मात्र दर्ता विवाह भएको छ । ‘साउनमा ३८ भदौमा ३५ र असोजमा १२ जोडीको कोट म्यारिज भएको छ भने यी तीन महिनामा ३५ जनाको पोस्ट म्यारिज भएको छ’, भट्टराईले भने, ‘अन्य निकायमा विवाह दर्ता गराएर पुनः स्थानीय प्रशासनमा विवाह दर्ता गर्ने कार्यलाई पोस्ट म्यारिज भनिन्छ ।’ विवाह दर्तामा कडाइ गरिएपछि धेरै नेपाली चेलीको जीवन सुरक्षित भएको प्रशासनले जनाएको छ । कतिपय देशका नागरिकले नेपाली चेलीलाई विवाह गरेर लाने अनि चरम यातना दिने गरेको गुनासो आएपछि सरकारले यस्तो निर्णय गरेको उनले बताए। यस्तै विदेशबाट विविध बहानामा नेपाल छिर्ने अनि विवाह गरेर आपराधिक कार्य गर्ने गरिएकाले पनि विदेशी विदेशीबीचको विवाहमा पनि प्रतिबन्ध लगाउनु परेको उनले बताए। चीन र दक्षिण कोरियामा सबैभन्दा बढी नेपाली चेली विवाह गरेर लाने गरेको विगत सम्झँदै प्रवक्ता भट्टराईले ती देशमा प्रतिबन्ध लगाइए पनि बेलायत, फ्रान्स, क्यानडा, अमेरिका, अस्ट्रेलिया जस्ता देशका नागरिकसँगको विवाहलाई सम्बन्धित दूतावासको अनुमतिमा हुने विवाहलाई रोक नलगाइएको जानकारी दिए। गोरखापत्र दैनिकबाट ।

सफल व्यवसायी डोनाल्ड ट्रम्पले बनाए नयाँ इतिहास, राजनीतिमा प्रबेश गरेको एक वर्षमा बने अमेरिकाको राष्टपति

वासिङटन, २४ कात्तिक । सन् २०१५ देखि राजनीतिमा प्रवेश गरेका खर्बपति डोनाल्ट ट्रम्प एक वर्षमा अ‍ेमेरिकाको राष्ट्रपति पदमा चुनिएका छन् । उनी सन् २०१६ नोभेम्वर ९ मा राष्ट्रपतिको उम्मेदवारको रुपमा रिपब्लिकन पार्टीबाट निर्वाचित भएका छन् । राष्ट्रपति पदका उम्मेदवार बनेदेखि चुनावी अभियानका क्रममा बारम्बार विवादमा परेपनि अन्ततःउनी अमेरिकाको ४५औं राष्ट्रपतिका रुपमा निर्वाचित हुन सफल सफल भएका छन् । अमेरिकामा खर्बपति रूपमा परिचित डोनाल्ड ट्रम्प सन् १९४६ जुन १४ मा अमेरिकाको न्युयोर्कस्थित क्विन्समा जन्मिएका थिए । सन् १९७१ देखि देशको धनाढ्यका रुपमा चिन्निनु थाल्नुभएका ट्रम्पले सन् १९८० मा न्युयोर्कमा ग्रान्ड हायात होटल खोलेर चर्चाको शिखर चढेका थिए । उनलाई सन् २०१६ मा फोब्र्स म्यागजिनले अमेरिकाकै सर्वाधिक धनीको सूचीमा राखेको थियो भने विश्वमा ३२४ औँ स्थानमा थिए । उनको कुल सम्पत्ति करिब ३.७ अर्ब डलर रहेको फोब्र्सले २०१६ मा अनुमान गरेको थियो । राष्ट्रपति हुनुअघि उनको परिचय रियल स्टेट व्यवसायी (जग्गा जमिनसम्बसन्धि काम गर्ने) टेलिभिजन व्यक्तित्व, लेखक र राजनीतिज्ञका रुपमा स्थापित थियो । कलेज पढ्दैदेखि उनी आफ्ना पिताले सञ्चालन गर्दै आएको रियल स्टेट व्यवसायमा संलग्न भए र सन् १९७३ देखि परिवारको व्यवसायको जिम्मा लिए । व्यापारिक घराना आफ्नो जिम्मामा आएपछि उउले आफ्ना सबै व्यवसायलाई ‘ट्रम्प अर्गनाइजेसन’का रुपमा सञ्चालन गरे । व्यवसायीक जीवनमा ट्रम्पका अनेकौँ कम्पनीहरु टाट पल्टिएका थिए । ट्रम्पले जीवनभर र मादक पदार्थमा हात पनि नलाएको बताइन्छ । तर उनले पैसा कमाउन सन् २००६ मा आफ्नै कम्पनीमार्फत् “भोड्का” उत्पादन थाले । उनका ठूला दाजु फ्रेड अत्याधिक मादक पदार्थ पिउने (जड्याँहा) भएकाले मधिराकै कारण निधन भएको थियो । त्यसैले ट्रम्पले कहिल्यै मदिरा सेवन नगरेको बताइएको छ । तेह्र वर्षको उमेरमा सेनाको विद्यालयमा भर्ना भएका ट्रम्पले युनिभर्सटी अफ पेन्सिलभानियाबाट सन् १९६८ मा स्नातक पूरा गरेका छन् । एजेन्सीहरू

अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्पले जित्ने चिनियाँ बाँदरको भविष्यवाणी

चीन, २१ कात्तिक । चीनको भविष्यवक्ताको राजा भनेर चिनिने एक बाँदरले अमेरिकी निर्वाचनमा डोनाल्ड ट्रम्पको विजय हुने भनेर सङ्केत गरेको यहाँको एउटा पर्यटकीय पार्क प्रशासनद्वारा जनाइएको छ । गेडा नामक उक्त बाँदरलाई यसअघि युरोपियन फुटबल च्याम्पियनसिपमा कुन देशले जित हात पार्छ भनि सोधिएको थियो र यस प्रसङ्गमा यसले दिएको भविष्यवाणी नै सही ठहरिएको थियो । गेडाको अर्थ स्थानीय भाषामा मनोरञ्जन भएको बताइए पनि उक्त अलौकिक जनावरले सन् २०१० को विश्व कप फुटबलका धेरै प्रतिस्पर्धामा को विजयी हुन्छन् भनेर सोधिएको प्रश्नमा सही विजेता छान्न सफल भएको थियो । पहेँलो सर्टमा सिङ्गारिएको उक्त भविष्यवक्ता बानरराजलाई दुई वटा केराका टुक्राहरूलाई अमेरिकी राष्ट्रपतिमा प्रतिस्पर्धामा रहेका डोनाल्ड ट्रम्प र हिलारी क्लिन्टनको प्रतीकका रुपमा राखिएको थियो र उक्त बादरले दुई टुक्रामध्ये ट्रम्पको प्रतीक मानिएको केराको टुक्रालाई उठाएर निर्णय दिएको थियो । बाँदरले निर्णय दिनुभन्दा पहिले केहीबेर ध्यानपूर्वक केराका टुक्रा नजिक बसेको र ट्रम्पको प्रतीक बनाई राखिएको केराको टुक्रालाई उचालेर भविष्यवाणी गरेको, सियाङ हु इकोलोजिकल टुरिजम पार्कले बिहीबार आफ्नो वेबसाइटमार्फत जारी गरेको विज्ञप्तिमा जनाइएको छ । रासस/एएफपी