तस्बीरमा हेर्नुस्: यसरी मनाइयो तमु ल्होसार

काठमाडौं । राजधानीको टु‌ंडीखेलमा गुरुङ समुदायले आफ्नो नयाँ वर्षको रुपमा तमु ल्होछार मनाएका छन् । आफन्तसँग भेटघाट गर्ने, नयाँ लुगा लगाउने र सेलरोटी, खिरलगायत मिठा परिकार खाएर नाचगान गरी ल्होसार मनाउने गरिन्छ । गुरुङ समुदायले चरा वर्गलाई बिदाइ गरि कुकुर वर्गलाई स्वागत गरेर तमु ल्होसार’ पर्व मनाए । ‘ल्हो’ को अर्थ वर्ग र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ग फेरिने दिनलाई ‘तमु ल्होछार’ भनिन्छ । विभिन्न १२ वटा जनावर र चराचुरुङ्गीहरुको प्रतिक स्वरूप रहने यस तमु वर्षमा गएको वर्ष चराको वर्ष थियो भने यस वर्ष कुकुरको वर्ष ( खि ल्हो ) रहनेछ । यस वर्ष भने कुकुरको शुभ वर्षले तमु संस्कारमा आफ्नो प्रभाव राख्ने विश्वास गरिन्छ । शनिबार आयोजित कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाको पनि सहभागिता थियो । ‘तमु ल्होछार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ । गुरुङ बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायत जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको हो । ल्हाेछारकाे राैनक दिपेन गजुरेलले कैद गरेको तस्बिर :

चारवटा व्यापारिक फर्मका सञ्चालकमाथि मुद्दा दर्ता, ऐन विपरीत कारोबार गरेको आरोप

धनगढी । खाद्य ऐन नियम विपरीत कारोबार गरेको आरोपमा चारवटा व्यापारिक फर्मका सञ्चालकमाथि मुद्दा दायर गरेको छ । क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले चालु वर्षको चौमासिक अवधिमा कञ्चनपुरका तीन र बझाङका एक व्यापारिक फर्मका सञ्चालकमाथि मुद्दा दायर गरेको हो । आज यहाँ आयोजित प्रथम चौमासिक प्रगति समीक्षा गोष्ठीमा कार्यालयका प्रमुख उपेन्द्र रायले खाद्य ऐननियम विपरीत गई कारोबार गरेको फेला परेकाले यी व्यापारिक फर्मका सञ्चालकमाथि सम्बन्धित जिल्लाका जिल्ला प्रशासन कार्यालयमा मुद्दा दर्ता गरिएको जानकारी दिए । सो अबधिमा कार्यालयले ९६४ खाद्य वस्तुका नमूनाको विश्लेषण र परीक्षण पनि गरेको छ । खाद्य बजार, होटेल, रेस्टुरेन्ट लगायतको अनुगमन गर्दा संकलन गरिएका १०२ वटा खाद्यका नमूनामध्ये सातवटा नमूनामा गुणस्तरयुक्त नभएको फेला परेका छन् । कार्यालयले सीमित साधान र स्रोतका बाबजुत विभिन्न जिल्लाका बजारमा गरिरहेको अनुगमन निरीक्षणका फलस्वरुप विगतको तुलनामा खाद्य गुणस्तरमा सुधार हुँदै गएको बताइएको छ । साधनस्रोतको अभावका कारण कार्यालयले ७ नं प्रदेशका पहाडी क्षेत्रका कतिपय जिल्लामा अझैसम्म नियमित रुपमा अनुगमन निरीक्षण गर्न सकेको छैन । कार्यक्रममा खाद्य क्वारेन्टाइन प्रयोगशाला गड्डा चौकी ९कञ्चनपुर०का प्रमुख गणेशदत्त जोशीले आफ्नो कार्यालयको प्रगतिबारे जानकारी दिएका थिए । सहभागीले खाद्यको गुणस्तर कायम गर्न मौजुदा खाद्य ऐननियमलाई समयानुकूल बनाउनुपर्नेमा जोड दिए । रासस

३८ किलो गाँजाको धुलोसहित एकजना पक्राउ

धादिङ । लुकाइछिपाइ वीरगञ्जतर्फ लैजाँदै गरेको अवस्थामा धादिङ जिल्लाको गजुरी गाउँपालिका वडा नं १ गजुरीबजारमा आज जाँचका क्रममा गाँजाको धुलोसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंबाट वीरगञ्जतर्फ जाँदै गरेको ना२ख ७३११ नं को ट्रकको क्याबिनभित्र राखेर लैजाँदै गर्दा प्रहरीले जाँच गरी ३८ किलो गाँजाको धुलो बरामद गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक ध्रुवराज राउतले बताए । साना–साना २२ वटा पोको पारेर राखिएको गाँजासहित प्रहरीले सोही गाडी चालक पर्सा जिल्ला कल्याणपुर गाउँपालिका वडा नं ४ का २७ वर्षीय हृदयनन्दप्रसाद महतोलाई पक्राउ गरेको छ । आरोपी महतोलाई लागुऔषध कारोबार ऐनअनुसार मुद्दा चलाउने प्रहरी उपरीक्षक राउतले जानकारी दिएका छन् । गाँजा बोक्ने गाडी र आरोपी महतोलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रासस