पार्क संरक्षणमा जनता बैंकको सहयोग, प्रधानमन्त्री ओलीद्धारा उद्घाटन
काठमाडौं । काठमाडौ महानगरपालिका वडा नं. ३२, महादेवस्थानमा रहेको मदनभण्डारी स्मृति बाटिकाको संरक्षण जनता बैंक नेपालको सहयोगमा गरिने भएको छ । उक्त सहयोग पहिलो चरणमा आगामी एक बर्ष सम्मको लागि हुने गरि यस बैंक र वाटिका संरक्षण समितिबिच संझौता भएको छ । स्वास्थ्य, शिक्षा, मानवीय सेवाका अतिरिक्त वातावरण संरक्षण तथा सरसफाईको क्षेत्रमा समेत सस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कार्य गर्ने यस बैंकको नीति अनुरुप उक्त वाटिकाको दैनिक सरसफाई, रेखदेख र संरक्षणको लागि सहयोग गरिएको हो । काठमाडौं महानगरपालिका वडा नं. ३२ एबं उपत्यका विकास प्राधिकरणको प्राविधिक तथा आर्थिक सहयोगमा करिब ४ रोपनी जग्गामा निर्माण गरिएको उक्त बाटिका प्रधानमन्त्री के.पी. शर्मा ओलीले बुधबार उद्घाटन गरेका थिए ।
माछापुच्छ्रे बैंकद्धारा खाद्यान्न वितरण
काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले नयाँ वर्षको अवसरमा कञ्चनपुर स्थित महिला तथा बृद्ध सेवा केन्द्रमा खाद्यान्न वितरण कार्यक्रम सम्पन्न गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त कार्यक्रमको आयोजना गरेको हो । उक्त आश्रमले प्रदेश नं ७ का ९ वटै जिल्लाका जेष्ठ नागरिक ४७ जना, हिंसा पिडित महिला ८ जना र हिंसा पिडित बालबालिका ८ जना गरि जम्मा ६३ जनालाई संरक्षण गरिरहेको जनाएको छ । बैंकले एक कार्यक्रमका बिच आश्रमलाई छ महिना सम्म पुग्ने बराबरको खाद्यान्न हस्तान्तरण गरेको छ । आगामी दिनहरुमा यस्ता सामाजिकउत्तरदायित्व वहन गर्न कार्यक्रमहरुमा निरन्तरता दिइरहने समेत बैंकले जनाएको छ । बैंकले ८४ स्थानबाट ग्राहकहरुमा सम्पुर्ण बैंकिङ्ग सुबिधा प्रदान गरिरहेको छ । साथै, बैंकको देशभर ८६ वटा एटीएमहरु संचालनमा रहेको छ ।
पानी, वातावरण र जलवायु परिवर्तन सम्बन्धि अन्तराष्ट्रिय सम्मेलन मंगलबारदेखि, २० राष्ट्रका विज्ञ सहभागी
काठमाडौं । जनस्वास्थ्यको क्षेत्रमा कार्यरत इञ्जिनियरहरुको संस्था सोफेनको अग्रसरतामा नेपाल इञ्जिनियर्स एशोसिएसन र खानेपानी तथा ढल निकास विभागको संयुक्त आयोजनामा चैत्र २७ देखि २९ गतेसम्म काठमाडौंमा ‘खाने पानी, वातावरण र जलवायु परिवर्तन’ विषयक अन्तर्राष्ट्रिय सम्मेलन आयोजना हुने भएको छ । आयोजक समिति एवम् सोफेनका अध्यक्ष रामदीप साहले जलवायु परिवर्तनको उच्च जोखिममा रहेको नेपालको लागि यो सम्मेलन महत्वपूर्ण हुने बताए । उनको अनुसार बढ्दो जनसंख्याका कारण भैरहेको वनजंगल विनास र औद्योगिकरणको प्रभावले वायु मण्डलमा थपिदै गएको कार्वन मनो अक्साइड, कार्वनडाई अक्साइड र हरितगृह ग्यासको प्रभावले पृथ्वीको वायुमण्डलभित्रको तापक्रम बढेको छ । सोफेनको अनुसार विश्वव्यापी तापक्रम बृद्धिले जलवायुमा परिवर्तन ल्याएको छ । यसको असरबाट सबैभन्दा बढी प्रभावित हुने मुलुकमा नेपाल समेत पर्दछ । पृथ्वीको तापक्रममा भएको बृद्धिले हाम्रो हिमाली क्षेत्रमा हिउँ पग्लने दर बढेको छ । हिमाली भेगमा धेरै हिमतालहरु देखा परेका छन् । हिमनदीहरुको लम्वाई छोटिदै छ । हिउँले ढाकिएका कतिपय उच्च पर्वतहरु हिउरहित भएका छन् । पहाडमा पानीको मूल सुक्दै गएका छन् । अतिवृष्टि,अनाबृष्टि, खण्डबृष्टि जस्ता घटना बढेका छन् । बाढी पहिरो र प्राकृतिक प्रकोप बढेको छ । सम्मेलनमा खानेपानी,वातावरण र जलवायु परिवर्तनको क्षेत्रमा कार्यरत राष्ट्रिय तथा अन्तराष्ट्रिय, विज्ञ,अनुसन्धानकर्ता, प्राज्ञ, व्यवसायी र सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधिहरु गरि २० राष्ट्रका विज्ञहरुसहित करिब ५ सय जनाको सहभागिता रहने जनाइएको छ । त्यस्तै सम्मेलनमा नेपालका २८ महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकाका प्रमुखहरुले सहभागिता रहनेछ भने १० वटा खानेपानी तथा सरसफाई उपभोक्ता समूहका अध्यक्षहरु , खुला दिसामुक्त हुन बाँकी रहेका ११ जिल्लाका जिल्ला समन्वय समितिका अध्यक्षहरु,जिल्ला खानेपानी तथा सरसफाई कार्यालयका इञ्जिनियरहरु,सहभागी हुनेछन् । सम्मेलनलाई दक्षिण कोरियाका पूर्वप्रधानमन्त्री, एशियाली विकास बैंकका उपाध्यक्ष, अर्थमन्त्री डा.युवराज खतिवडा, एशिया वाटर काउन्सिल र कोरिया वाटराका अध्यक्षहरु, भारतको डा.मोदी विश्वविद्यालयका उपकुलपति, एआईटी बैंकक, आईआईटी कानपुर, राजस्थान विश्वविद्यालया, कोरियन विश्वविद्यालय लगायत विभिन्न मुलुकका प्रतिष्ठित विश्वविद्यालयका प्राध्यापकहरुबाट प्रमुख सम्बोधन हुने आयोजकको भनाइ छ । सम्मेलनमा १७ वटा कि नोट पेपर प्रस्तुत हुनेछन् । २६ वटा शत्रमा विभिन्न १५ विषयमा १ सय १६ वटा कार्यपत्र प्रस्तुत गरिनेछन् । ती कार्यपत्र उपर विज्ञहरुबाट टिप्पणी हुनेछ । त्यसलाई सहभागीहरुबीच छलफल गरी परिस्कृत र पारिमार्जन गरिनेछ समेत कार्यक्रम छ । सम्मेलनबाट निस्केका सुझाव र प्रतिवेदन सहभागीहरु, संवन्धित संस्थाहरु र संवन्धित मुुलुकका लागि अत्यन्त उपयोगी हुने आयोजकको विश्वास छ । सम्मेलनको उद्घाटन उपराष्ट्रपति नन्दकिशोर पुनले गर्ने जानकारी दिइएकाे छ।