सरकारले धौवादी फलाम कम्पनीको सेयर निजी क्षेत्रलाई बिक्री गर्ने

काठमाडौं । सरकारले धौवादी फलाम कम्पनीमा निजी क्षेत्रलाई भित्र्याउने भएको छ । राष्ट्रपछि रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दैै सो फलाम कम्पनीमा निजी क्षेत्रलाई ल्याएर सार्वजनिक निजी साझेदारीमा सञ्चालन गरिने बताएका हुन् ।  उनले फलाम तथा खनिज पदार्थको उत्खनन्मा नयाँ प्रविधिको प्रयोग गरने बताएका छन् । 

मास्टरी छाडेर टेलरिङ, जिरेलीलाई न्यू फेसन

दोलखा-जिरीकी भगवती खड्काले सियो-धागोसँग संगत गर्न थालेको १८ वर्ष भइसक्यो । उनलाई सियो-धागोले नै परिश्रमको स्वाद चखायो । उमेरले ४० पुगेकी खड्कालाई अहिले जीवन यस्तैगरी नै चलिरहोस् भन्ने लाग्छ । जे छ जति छ, उनी यसैमा खुसी छिन् ।  खड्काको टेलर पसलमा पुग्दा हँसिलो अनुहारमा उनी चोलो सिलाउँदै थिइन् । दुई सन्तानकी आमासमेत रहेकी उनको व्यवसाय गर्ने सपना बाल्यकालदेखि कै हो । उनका बाबुआमाले जिरी नगरपालिका सिउरानीमा खाद्यान्नसम्बन्धी व्यवसाय गर्थे । बिहान अनि बेलुका समय मिलाएर उनले बुवाआमालाई सघाउँथिन् । त्यही क्रमबाट नै उनमा व्यवसायी बन्ने भूत सवार भएको हो । यद्यपि उनले पढाइलाई भने निरन्तरता दिँदै गइन्।  कक्षा १० सम्म पढाइ पूरा भएपछि खड्कालाई परिस्थितिले शिक्षिका बनायो । तर बच्चैदेखि व्यवसायमा घुलमिल भइसकेकी उनी जागिरमा रमाउन सकिनन्  । एकदिन उनलाई लाग्यो जागिर मेरा लागि होइन, त्यसपछि मोडियो जीवनको यात्रा ।  घरमा बुवाआमासँग जिद्दी गरेर सिलाइकटाइ सिक्न खड्का काठमाडौं आइन् । त्यही सिलसिलामा काम सिक्दासिक्दै आफ्नै पसल खोल्ने निधो गरिन् र परिवारसँग केही रकम मागिन् । तर परिवारले उनलाई सहजै विश्वास भने गरेन ।  स्वभावले हक्की खड्काको आँटले काठमाडौंमा ७ महिनासम्म आफ्नै व्यवसाय सञ्चालन गरिन् । त्यसपछि उनी फेरि आफ्नै ठाउँ अर्थात जिरी फर्किएर सिलाइकटाइको व्यवसायलाई निरन्तरता दिइन् ।  पसल थालेको केही महिनाभित्रै खड्काको पसलमा ग्राहकको ओइरो लाग्न थाल्यो । नाफा बढ्दै गयो । उनले थप मेसिन किनिन्, केही सहायक कामदारसमेत राखिन् । जुनसुकै कपडा होस्, सफा सिउने, राम्रो फिटिङ मिलाउने उनको शैली ग्राहकहरूलाई मन पर्न थाल्यो ।  महिलाहरू विशेष रूपमा उनको सेवा मन पराउँथे, किनभने उनले महिलाहरूको रुचिअनुसार डिजाइन गर्न सक्छिन् । अहिले उनले आफ्नो घरखर्चमात्रै चलाउँदिनन्, अन्य महिलाहरूलाई पनि काम सिकाउँछिन् ।  व्यवसाय गरेको २ वर्षपछि खड्का विवाह बन्धनमा बाँधिइन् । केही समय उनी अन्यौलमा परिन् । तर केही समयपछि परिवार र श्रीमानको साथले उनले दोलखाको जिरी नगरपालिका- ५, जिरी बजारमा व्यवसाय सञ्चालन गरिन् । उनका श्रीमान नेपाली सेनामा जागिरे हुन् ।   आफ्नो पेशामा खारिएकी खड्का प्रशिक्षक पनि हुन् । नगरपालिकाले  स्थानीय महिलालाई दिने सिलाइकटाइका तालिममा उनी प्रशिक्षकका रूपमा सिकाउन जान्छिन् । ‘म प्रशिक्षक पनि हुँ । नगरपालिकाबाट यहीसम्बन्धी काम यहाँका दिदी-बहिनीहरूलाई सिकाउन पर्यो भने म नै सिकाउँछु,’ उनले भनिन् । शिक्षण पेशा किन छाड्नुभयो भन्ने प्रश्नमा खड्का आफू रम्न नसकेको बताइन् । ‘शिक्षण पेशा पनि नराम्रो त होइन तर म रम्न सकिनँ । घरमा पसल थियो । त्यसैले सानैदेखि व्यवसायमै रुचि भयो । रम्न नसकेपछि मैले व्यवसाय नै रोजेकी हुँ,’ उनले सुनाइन् । उनी व्यवसाय गर्दा परिवार हेर्दै पनि गर्न सकिने बताउँछिन् । त्यही भएर पनि व्यवसाय उनको रोजाइमा परेको हो । कैलेकैले व्यवसाय सुस्ताएको बेला जागिर नै ठीक भन्ने पनि मनमा आउँछ तर त्यो मनसाय लामो समय उनमा रहँदैन । उनी बालबच्चा हेर्दै, व्यवसायमा रम्न अभ्यस्त भइसकेकी छिन् । खड्का अगिपछिभन्दा चाडपर्वको बेलामा बढी व्यापार हुने बताउँछिन् । ‘तीजदेखि दशैं तिहारसम्म नै सिलाइकटाइ व्यवसायको खास सिजन हो । त्यो बेला महिनामै ५० देखि ६० हजारसम्म आम्दानी हुन्छ । यहाँ जिरीमा लेडिज टेलर छैन । त्यसैले पनि मेरो व्यवसाय राम्रो चल्छ ’, उनले भनिन् ।  भूकम्पले नाफा घटायो  छोराछोरीको पढाइलगायतका घरखर्चमा खड्काले श्रीमानलाई सघाइरहेकी छन् । अहिले सिजनमा मात्रै अलि बढी व्यापार गर्ने उनलाई २०७२ सालको भूकम्पअघि भने बाह्रै महिना भ्याइनभभ्याई हुन्थ्यो ।  ‘भूकम्पभन्दा अघि भने भ्याइनभ्याइ हुन्थ्यो । तर भूकम्पपछि बजारमा भाडा पनि महँगो भयो । घर भत्काएपछि धेरैजसोले पक्की घर बनाए । अनि त महँगो भइहाल्यो । अहिले त्यति नराम्रो त भन्न मिल्दैन तर पनि समय परिवर्तन हुँदै गर्दा अनलाइनको  अर्डरले पनि अलि असर गरेको छ व्यापारमा,’उनले भनिन् । ‘अझ पहिला त यही बाटो भएर सगरमाथा चढ्न जाने पनि आउँथे नि, यो जिरी त जङ्कशन थियो । अहिले सडक बनेपछि व्यापारमा अलि फरक चाहिं परेको छ,’ उनले विगत सम्झिँदै वर्तमान भनिन् ।  यद्यपि अहिले खड्का आफ्नो पसलबाट राम्रो आम्दानी गरिरहेकी छिन् । छोराछोरीलाई राम्रो विद्यालयमा पढाइरहेकी छिन् । घरखर्च सहजै चल्दैछ, बचत पनि गर्दैछिन् । सबैभन्दा महत्वपूर्ण कुरा, उनी आत्मनिभर्र छिन्। खड्काले आफू प्रशिक्षक भएर जाने प्रत्येक तालिममा सबै दिदीबहिनीलाई आत्मनिर्भर बन्न प्रेरित गरिरहेकी हुन्छिन्, व्यवसाय गर्न आग्रह गर्छिन् । भगवतीको कथा केवल एउटा टेलरिङ पसलको कथा होइन, यो एउटा महिला उद्यमीको संघर्ष, सपना र सफलताको कथा पनि हो ।