क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको दोस्रो वार्षिक साधारण सभा सम्पन्न

सुर्खेत । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको दोस्रो वार्षिक साधारण सभा शुक्रबार  सम्पन्न भएको छ ।  सभामा कम्पनीका सेयरधनी, सञ्चालक तथा नियामक निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । सभाको प्रारम्भमा प्रमुख कार्यकारी अधिकृत (सीई‌ओ) प्रतापमान श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गर्दै कम्पनीको हालको प्रगति र भावी योजनाबारे संक्षिप्त जानकारी प्रस्तुत गरेका थिए ।  त्यसपछि सञ्चालक समितिका अध्यक्ष ऋषिराज मोरले आफ्नो मन्तव्यसँगै कम्पनीको दोस्रो वार्षिक प्रतिवेदन प्रस्तुत गरे । सभाले सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित २०८१ आषाढ मसान्तको वासलात, आर्थिक वर्ष २०८०र८१ को नाफा-नोक्सान विवरण, नगद प्रवाह विवरण र सम्बन्धित अनुसूचीहरू सर्वसम्मत रूपमा पारित गरेको छ । सभाले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षकको रूपमा जेएन उपाध्याय एन्ड कोलाई नियुक्त गर्ने निर्णय पनि पारित गरेको छ । साथै समूह ‘ख’ अन्तर्गत सर्वसाधारण सेयरधनीहरूको तर्फबाट ईश्वरलाल श्रेष्ठ र सुनिता महर्जन सञ्चालक पदमा निर्विरोध निर्वाचित भएका छन् ।

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले गर्‍यो मैत्री सेवा आश्रममा खाद्यान्न वितरण

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व ९सीएसआर० अन्तर्गत काठमाडौं जिल्लास्थित मैत्री सेवा आश्रममा खाद्यान्न सामग्री वितरण गरेको छ । २०७८ जेष्ठ २१ गते सम्पन्न कार्यक्रममा कम्पनीका क्षेत्रीय प्रबन्धक नरेश थापा र शाखा प्रबन्धक रोजिना मानन्धरको उपस्थितिमा खाद्यान्न सामग्री आश्रमलाई हस्तान्तरण गरिएको हो । हाल आश्रममा ३० जना जेष्ठ नागरिकले सेवा लिइरहेका छन् । कम्पनीले सामाजिक उत्तरदायित्वलाई आत्मसात गर्दै आगामी दिनहरूमा शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, वित्तीय साक्षरता र विपद् व्यवस्थापनजस्ता क्षेत्रमा थप योगदान दिने लक्ष्य राखेको जनाएको छ । सानिमा रिलायन्सले नाफामुखी व्यापारसँगै सामाजिक हितलाई पनि समेट्दै जाने विश्वास व्यक्त गरेको छ । भविष्यमा यस्ता कार्यक्रमहरूलाई अझ प्रभावकारी र समुदायमैत्री बनाउने योजना रहेको कम्पनीले स्पष्ट पारेको छ । हाल देशभर १६९ शाखा विस्तार गरिसकेको कम्पनीको पूँजी ५ अर्बभन्दा बढी रहेको छ भने २० अर्बभन्दा बढीको लगानी परिचालित छ । त्यस्तै, कम्पनीमा हाल २० हजारभन्दा बढी अभिकर्ताहरू सक्रिय रूपमा कार्यरत छन् ।

आईसीएफसी फाइनान्स नेपाल पे कार्डमा आबद्ध

काठमाडौं । आईसीएफसी फाइनान्स लिमिटेड र नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) बीच नेशनल पेमेन्ट स्विच (एनपीएस) अन्तर्गतको नेसनल कार्ड स्वीच (एनसीएस) तथा नेपालकै डोमेस्टिक कार्ड स्किम ‘नेपालपे कार्ड’ को प्रिन्सिपल मेम्बरका रूपमा आबद्ध हुने सम्झौता सम्पन्न भएको छ । सम्झौतापत्रमा आईसीएफसी फाइनान्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनील पन्त र एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानले हस्ताक्षर गरे । एनसीएचएलले हालै एनपीएस एनसीएसको पूर्वाधार तयार भएको घोषणा गर्दै बैंक तथा वित्तीय संस्थाहरुलाई ‘नेपाल पे कार्ड’ इस्यू र एक्वायर गर्न आफ्नै स्विचमा आबद्ध हुन आह्वान गरेको थियो । अब कमर्सियल रूपमा प्रणाली कार्यान्वयन भएपछि आईसीएफसी फाइनान्सले आफ्ना ग्राहकहरूलाई ‘नेपाल पे कार्ड’ जारी गर्न र स्विकृत गर्न सक्नेछ । एनपीएस एनसीएसले विभिन्न कार्ड स्वीचहरूबीच अन्तरजडान कायम गर्दै कार्ड कारोबारहरूको राउटिङ र सेटलमेन्टको सुविधा प्रदान गर्नेछ । यसले डोमेस्टिक कार्ड प्रयोगको लागत घटाउने, डाटा लोकलाइजेशन सुनिश्चित गर्ने र डिजिटल भुक्तानी प्रणालीमा नवीनतम उपकरणहरूको विकास र प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ।