छिमेक लघुवित्तको साढे ९ करोडको सेयर बिक्रीमा, मूल्य ३९० रुपैयाँ

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाको साढे ९ करोड रुपैयाँ बराबरको संस्थापक सेयर बिक्रीमा राखिएको छ । लघुवित्तका केही संस्थापक सेयरधनीहरूले आफ्नो स्वामित्वमा रहेको ९ करोड ५३ लाख ४७ हजार रुपैयाँ बराबरको सेयर बिक्रीमा राखेका हुन् ।  संस्थापक सेयरधनीले लघुवित्तको २ लाख ४४ हजार ४८० कित्ता संस्थापक सेयर बिक्रीमा राखेका छन् । उक्त सेयरको मूल्य प्रतिकित्ता न्यूनतम ३९० रुपैयाँ तोकेको छ । सो मूल्यका आधारमा लघुवित्तको साढे ९ करोडको सेयर बिक्रीमा राखिएको हो । लघुवित्तको उक्त सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले सो मूल्य वा सो भन्दा बढी तोकि बोलपत्र पेस गर्नुपर्नेछ । बोलपत्र पेस गर्दा कम्तिमा ५० हजार सेयरका लागि आवेदन दिनुपर्नेछ ।  यस्तै, प्रभु बैंकका केही संस्थापक सेयरधनीहरूले ९ हजार ८८२ कित्ता सेयर बिक्रीमा राखेका छन् । उक्त सेयरको मूल्य प्रतिकित्ता १ सय रुपैयाँ तोकेको छ । सो मूल्यका आधारमा ९ लाख ८८ हजार रुपैयाँ बराबरको सेयर बिक्रीमा राखिएको हो । खरिद गर्न इच्छुकले कम्तिमा १ हजार कित्ताका लागि आवेदन दिनुपर्नेछ ।   दुईटै संस्थाको सेयर बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ । खरिद गर्न इच्छुकले असार १० गतेसम्म निवेदन दिनुपर्नेछ । 

सिटिजन्स बैंकका ग्राहकलाई टिका रिसोर्टमा २० प्रतिशत छुट

काठमाडौं । सिटिजन्स बैंक र पोखराको लेकसाइडस्थित टिका रिसोर्टबीच छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारीअनुसार सिटिजन्स बैंकका कार्डबाहक, प्रिभिलेज कार्डबाहक तथा मोबाइल बैंकिङ प्रयोगकर्ताहरूले टिका रिसोर्टमा २० प्रतिशतसम्म छुट पाउनेछन् । बैंकले यस प्रकारको सहकार्य ग्राहकहरूलाई नगद कारोबारबाट डिजिटल कारोबारतर्फ आकर्षित गर्ने उद्देश्यले गरेको जनाएको छ । डिजिटल भुक्तानी प्रणालीलाई प्रवर्द्धन गर्न सिटिजन्स बैंकले समयसमयमा विभिन्न व्यावसायिक संस्थासँग सहकार्य गर्दै ग्राहकलाई सुविधाजनक अफरहरू उपलब्ध गराउँदै आएको छ । छुटसम्बन्धी विस्तृत विवरण सिटिजन्स बैंकको वेबसाइटमा हेर्न सकिनेछ ।

संस्थापक सेयर बिक्री गर्दै प्रभु बैंक र छिमेक लघुवित्त

काठमाडौं । प्रभु बैंक लिमिटेड र छिमेक लघुवित्तले संस्थापक सेयर बिक्री खुल्ला गरेको छ । प्रभु बैंक लिमिटेडको ९ हजार ८८२ कित्ता सेयर र छिमेक लघुवित्त वित्तिय संस्थाको २ लाख ४४ हजार ४८० कित्ता सेयर बिक्रीका लागी मंगलबारबाट सिलबन्दी बोलपत्र खुला गरेको हो । कम्पनीले बोलकबोल माध्यम बाट प्रभु बैंक लिमिटेडको सेयरको न्यूनतम मूल्य प्रति कित्ता १०० रुपैयाँ र छिमेक लघुवित्त वित्तिय संस्थाको लागि सेयरको न्यूनतम मूल्य प्रति कित्ता ३९० रुपैयाँ तोकेको छ । सेयर खरिदका लागि बोलकबोल गर्दा प्रभु बैकको न्यूनतम १ हजार कित्ताको लागि र  छिमेक लघुवित्त वित्तिय संस्थाको लागि न्यूनतम ५० हजार कित्ताको लागि आवेदन दिनुपर्ने छ । आवेदन आगामी असार १० गते भित्र बिक्री प्रबन्धक रहेको मुक्तिनाथ क्यापिटल लिमिटेडमा पेश गर्न सकिने छ ।  सेयर खरिद गर्न इच्छुक बोलपत्रदाताले अथवा संघ-संस्था, कम्पनी भएमा दर्ता प्रमाणपत्र , कर चुक्ता प्रमाणपत्र, सेयर खरिद गर्ने सम्बन्धमा सो संस्थाको संचालक समितिको निर्णयको प्रतिलिपि र विगत २ आर्थिक वर्षदेखि संस्था मुनाफामा रहेको प्रमाणित गर्ने कागजात समेत आवेदन फारमका साथ संलग्न गर्नुपर्ने कम्पनीले जनाएको छ ।