हिमालयन एभरेष्ट इन्स्योरेन्सकी सीईओ अन्जु श्रेष्ठ सम्मानित
काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत (सीईओ) अन्जु श्रेष्ठ अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित सम्मानबाट सम्मानित भएकी छन् । महिला पत्रिका ‘द भ्वाइस अफ दी वुमन’ले रणनीतिक नेतृत्वतर्फको सर्वश्रेष्ठ महिला प्रमुख कार्यकारी अधिकृतको रूपमा सम्मान गरेको हो । उक्त विशिष्ट अवार्ड प्राप्त गरेपछि खुसी व्यक्त गर्दै श्रेष्ठले भनिन्, 'यो सम्मान केवल मेरो व्यक्तिगत उपलब्धि मात्र नभई यो समग्र नेपाली बीमा उद्योगको उपलब्धी हो र यसमा सक्रिय सम्पूर्ण महिलाको सामूहिक पहिचान पनि हो ।' उनले आफ्नो टिमको निरन्तर साथ, परिश्रम र प्रतिबद्धतालाई पनि यस सफलताको मूल आधार मानेकी छन् । बेलायतमा मुख्यालय रहेको महिला पत्रिका एक अन्तर्राष्ट्रिय सञ्चार संस्था हो, जसले व्यवसाय, नेतृत्व र उद्यमशीलता क्षेत्रमा विशिष्ट योगदान दिने महिलाहरूको पहिचान र सम्मान गर्दै आएको छ । हरेक वर्ष विश्वभरका प्रेरणादायी महिलाहरूलाई विविध विधामा सम्मान गर्नेक्रममा यसवर्ष श्रेष्ठले बीमा क्षेत्रतर्फको सर्वोच्च नेतृत्व अवार्ड हात पार्न सफल भएकी हुन् । महिला पत्रिकाका व्यवसाय विकास प्रबन्धक ड्यानियल डी’कोस्टाले भने, 'महिलाहरूले व्यवसाय र नेतृत्वमा पुर्याएको योगदान अद्वितीय छ । हाम्रो प्रयास उनीहरूको मेहनत र उपलब्धिलाई अन्तर्राष्ट्रिय स्तरमा उजागर गर्नु हो ।' श्रेष्ठको नेतृत्वमा हिमालयन एभरेष्ट इन्स्योरेन्सले बीमा क्षेत्रमा नवीनता, पारदर्शिता र ग्राहकमुखी सेवामा उल्लेखनीय सुधार ल्याएको छ । रणनीतिक योजनाको प्रभावकारी कार्यान्वयन, डिजिटल प्रविधिको प्रयोग र संस्थागत सुशासनमार्फत कम्पनीले पछिल्ला वर्षहरूमा निरन्तर प्रगति हासिल गर्दै आएको छ । उक्त सम्मान श्रेष्ठको रणनीतिक सोच, दूरदृष्टि र नेतृत्व क्षमताको विश्वव्यापी मान्यता मात्र नभई नेपाली बीमा क्षेत्रको समग्र प्रगतिको सन्देश पनि हो ।
नागरिक लगानी कोष र हिमालयन बैंकबीच सेयर प्रत्याभूति सम्झौता
काठमाडौं । नागरिक लगानी कोषले हिमालयन बैंकको थप सार्वजनिक निष्कासन (एफपिओ) को प्रत्याभूति गर्ने भएको छ । सो सम्बन्धी सम्झौतामा आइतबार कोषको तर्फबाट कार्यकारी निर्देशक पर्वत कुमार कार्की र बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शम्शेर राणाले हस्ताक्षर गरेका हुन् । सम्झौतासँगै बैंकले जारी गर्ने ९२ लाख ५० हजार ४६९ कित्ता एफपिओ सेयरको प्रत्याभूति कोषले गर्ने भएको छ । सम्झौता भएको मितिबाट तीन महिनासम्म अवधि कायम रहने छ ।
स्वास्थ्य र बीमा सेवाको पहुँच विस्तारका लागि प्रभु महालक्ष्मी लाइफ र चिरायु हस्पिटलबीच साझेदारी
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स र चिरायु नेसनल हस्पिटल एन्ड मेडिकल इन्स्टिच्युटबीच सुलभ, गुणस्तरीय स्वास्थ्य सेवा तथा जीवन बीमा सेवाको पहुँच विस्तार गर्ने उद्देश्यले साझेदारी भएको छ । यो साझेदारीका लागि सम्झौतापत्रमा प्रभु महालक्ष्मी लाइफका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईं र चिरायु हस्पिटलका अपरेसन निर्देशक चन्द्रेश्वर एनआर वैद्यले हस्ताक्षर गरेका छन् । हस्ताक्षर समारोहमा प्रभु महालक्ष्मी लाइफका नायब प्रमुख कार्यकारी अधिकृत किशोरप्रसाद लामिछाने तथा चिरायु हस्पिटलका व्यवसाय विकास अधिकारी बसन्त खनालको उपस्थिति थियो । यो १ वर्ष समयावधिको सम्झौताले नेपालको स्वास्थ्य सेवाको आपूर्ति र वित्तीय सुरक्षाबीचको अन्तरलाई कम गर्दै कर्मचारी, अभिकर्ता, सेयरधनी तथा सर्वसाधारण समुदायलाई व्यापक लाभ पुर्याउने विश्वास र प्रतिबद्धता दुवै कम्पनीले जनाएका छन् । सम्झौताअनुसार चिरायु हस्पिटलले प्रभु महालक्ष्मी लाइफका कर्मचारी, अभिकर्ता, सेयरधनी तथा तिनका आश्रित परिवार सदस्यलाई छुट सुविधा प्रदान गर्नेछ । चिरायु हस्पिटलले बेड चार्जमा १५ प्रतिशत, हस्पिटलभित्रको परीक्षण सेवामा १० प्रतिशत तथा औषधि खरिदमा ५ प्रतिशत छुट दिनेछ । साथै, काठमाडौं उपत्यकाभित्र निःशुल्क एम्बुलेन्स सेवा र सिफारिस भएका बिरामीलाई सेवाअनुसार १० प्रतिशतदेखि २५ प्रतिशतसम्म छुट पनि प्रदान गरिने हस्पिटलले जनाएको छ । सम्झौताबमोजिम चिरायु हस्पिटलमा कार्यरत कर्मचारीलाई प्रभु महालक्ष्मी लाइफले विभिन्न बीमा योजना प्रदान गर्नेछ। बीमाको प्रिमियम चिरायु हस्पिटलले भुक्तान गर्नेछ । यस पहलले चिरायु हस्पिटलका कर्मचारीको वित्तीय सुरक्षा र सर्वाङ्गीण कल्याण सुनिश्चित गर्ने लक्ष्य राखेको छ । गुणस्तरीय तथा सुलभ सेवा प्रदान गर्ने साझा उद्देश्यसहित स्थापित यस साझेदारीले स्वास्थ्य तथा बीमा क्षेत्रबीचको सहकार्यको उत्कृष्ट उदाहरण प्रस्तुत हुने विश्वास गरिएको छ ।