राष्ट्रिय बीमा र नेपाल पुनर्बीमा कम्पनीबीच ५०प्रतिशत पुनर्बीमा सम्झौता

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी र नेपाल पुनर्बीमा कम्पनीबीच भएको ५० प्रतिशत पुनर्बीमा सम्झौता भएको छ । कम्पनीको केन्द्रीय कार्यालय रामशाहपथ काठमाडौंमा राष्ट्रिय बीमा कम्पनीको तर्फवाट प्रमुख कार्यकारी अधिकृत बीरविक्रम रायमाझी र नेपाल पुनर्बीमा कम्पनीको तर्फवाट प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारीले यस सम्वन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । उक्त सम्झौतामा बीमा शुल्क तथा बीमा दाबीमा दुबै कम्पनीको समान सहभागिता रहेको छ । उक्त सम्झौता पश्चात कम्पनीले जारी गरेको कर्मचारी संचयकोषका ६ लाख संचयकर्ताहरुको वार्षिक १ लाख रुपैयासम्मको औषधोपचार र १० लाख रुपैयासम्मको घातक रोगको उपचारको लागि पुनर्बीमा ब्यवस्था भएको छ ।

सिर्जना फाइनान्सले २४ प्रतिशत लाभांश दिने, पुस १३ गतेदेखि बुक क्लोज

काठमाडौं । सिर्जना फाइनान्स लिमिटेडले सेयरधनीलाई २४.५० प्रतिशत लाभांश सेयर वितरण गर्ने भएको छ । संस्थाले सेयरधनीलाई चुक्ता पुँजीको १५ प्रतिशत बोनस र ९.५० प्रतिशत नगद गरी सो मात्राको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । हालै सम्पन्न सञ्चालक समितिको उक्त प्रस्तावलाई कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गर्नुपर्ने छ । संस्थाको आगामी अर्थात १८औँ वार्षिक साधारणसभा यही पुस २८ गते बस्दै छ । सो प्रयोजनको लागि पुस १३ गतेदेखि २८ गतेसम्म संस्थाको बुक क्लोज हुँदै छ ।

गभर्नर नेपालले भने-अब जमाना बदलियो, नेपाली बैंक र वित्तीय संस्थाले नयाँ प्रबिधि भित्र्याउनु पर्छ

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जीवि नेपालले विश्व सूचना प्रविधिको क्षेत्रमा निकै अघि बढिसकेको भन्दै नेपाली बैंक तथा वित्तीय संस्थाहरु र त्यसका नियामक निकायले पनि नयाँ प्रविधि भित्र्याउनु पर्ने आवश्यकता औंल्याएका छन् । बैंकिङ फाइनान्स एण्ड इन्स्योरेन्स इन्स्टिच्यूट अफ नेपाल (बीएफआईएन) ले काठमाडौंमा आयोजना गरेको एकदिने डिजिटल विश्वका लागि मानव संसाधनको रुपान्तरण विषयक कार्यशालाको उद्घाटन समारोहमा गभर्नर नेपालले यस्तो कुरा बताएका हुन् । उनले भने–बैंक तथा वित्तीय संस्थाहरुले फिनटेक टेक्नोलोजी र नियामक निकायहरुले रेगटेक र सभटेक टेक्नोलोजीको प्रयोग गर्नु पर्छ । गभर्नर नेपालले टेक्नोलोजीको प्रयोगसँग मानव संसाधनको भूमिका रुपान्तरण गर्नु पर्ने भन्दै कार्यक्रम समयसामयिक रहेको बताए । ‘हामी ब्रिक टेक्नोलोजीबाट क्लिक टेक्नोलोजीमा रुपान्तरण हुँदैछौं, बदलिँदो युगलाई सम्बोधन गर्न वित्तीय संस्था र रेगुलेटरीहरुले प्रयोग गर्ने प्रविधि पनि समयानुसार परिवर्तन गर्दै जानुपर्छ । विग डाटा एनालाइसिस्ट, कृतिम बौद्धिकता, क्लाउड कम्पिटिङ र रोबोटिक अटोमेसनलाई प्रयोग गर्दै जानुपर्छ र यसैअनुसार मानव पुँजीको रुपान्तरण गरिनु आवश्यक छ ।’ गभर्नर नेपालले भने । कार्यक्रममा आयोजक बीएफआइएनका प्रमुख कार्यकारी अधिकृत विनोद आत्रेयले सन् २०३० सम्ममा विश्वका ६० प्रतिशत जनसंख्या प्रविधि परिवर्तनका कारण एउटा कामबाट अर्को काममा रुपान्तरण हुनुपर्ने आवश्यकता रहेको अध्ययनले बताएको भन्दै यसै परिप्रेक्षमा नेपाली बैंकिङ क्षेत्रले पनि त्यस्तो प्रविधि भित्र्याउनुपर्ने परिप्रेक्षमा कार्यक्रम आयोजना गरिएको बताए । होटेल र्याडिसनमा आयोजित उक्त कार्यक्रममा नेपाल र भारतका वित्तीय संस्थाहरुमा मानव संसाधन व्यवस्थापन र प्रविधिको क्षेत्रमा अनुभव सँगालेका व्यक्तिहरुले सम्बोधन गर्ने कार्यक्रम छ ।