सिटी एक्सप्रेस र मलेसियाको “भ्यालू”बीच रेमिटान्स सम्झौता
काठमाडौं । मलेसियाको रेमिटान्स कम्पनी भ्यालू र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच रेमिटान्स सेवा सुरु भएको छ । सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन र भ्यालूको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रसन्न रावोले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । भ्यालूको मलेसिया भरी २ हजार एजेन्ट्लोकेशन् साथै मोबाईल एप र ईन्टरनेट बैंकिङ्को सेवा उपलब्ध रहेको छ । मलेसियाबाट नेपालमा सिटी एक्सप्रेस मनी ट्रान्सफरको ६ हजार भन्दा बढि एजेन्टहरु मार्फत सिधैं भुक्तानी लिन सकिने भएको छ । सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा विगत १२ वर्ष देखि विश्व भरी आफ्नो रेमिट एजेन्ट्हरुबाट ६ हजारभन्दा बढी नेपालको एजेन्ट्हरु मार्फत भुक्तानी प्रदान गर्दै आइरहेको छ ।
राष्ट्र बैंकद्वारा ३ अर्ब रुपैयाँको ट्रेजरी बिल बिक्री खुल्ला
काठमाडौँ । नेपाल राष्ट्र बैंकले तीन अर्ब रुपैयाँको अल्पकालीन सरकारी ऋण पत्र (ट्रेजरी बिल) बिक्री खुल्ला गरेको छ । राष्ट्र बैंकले ९१ दिनको लागि एक अर्ब रुपैयाँ बराबर र ३६४ दिनका लागि दुई अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल सोमबार जारी गरेको हो । राष्ट्र बैंकले सरकारलाई आवश्यक पर्ने ऋण उठाउन ट्रेजरी बिल जारी गर्छ । अल्पकालीन आन्तरिक ऋण उठाउन प्रयोग गरिने यस्तो खालको ट्रेजरी बिल २८, ९१, १८२ र ३६४ दिने गरी चार किसिमका हुन्छ । आज खुला गरिने ट्रेजरी बिलको जारी मिति मंगलबारलाई राखिएको छ । सरकारले चालू आर्थिक वर्षमा एक खर्ब ७२ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य राखेको छ ।
सन् नेपाल लाइफ इन्स्योरेन्सद्धारा बीमा जागरण तथा दाबी रकम भुक्तानी
काठमाडौं । सन् नेपाल लाइफ इन्स्योरेन्स कम्पनीद्धारा धनगढी कार्यक्रमबीच बीमा जागरण तथा मृत्यु दाबी रकम भुक्तानी कार्यक्रम सम्पन्न भएको छ । कम्पनीका महा प्रवन्धक कमलराज गौतम, कम्पनीका ब्राण्ड एम्वेस्डर सिताराम कट्टेल र कुञ्जना घिमिरेले संयुक्त रुपमा बीमित स्व. दिनेश कुवँरको श्रीमती लक्ष्मी कार्कीलाई रु १० लाख २६ चेक मार्फत प्रदान गरेका छन् । बीमित स्व. दिनेश कुवँरले ४० हजार ०१८ बीमा शुल्क भुक्तानी गरि ५ लाख १३ हजार बीमाङ्गको जीवन बीमा गरेको २३ दिनमै दुर्घटनामा परि मृत्यु भएको हो । उक्त कार्यक्रममा स्थानीय समाजसेवी, पत्रकार, धनगढी उद्योग वाणिज्य संघका प्रतिनिधि र धनगढी शाखाका शाखा प्रवन्धक लक्ष्मी कान्त जैशीको उपस्थिति रहेको थियो ।