सेञ्चुरी बैंक र एशियन लाइफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक र एशियन लाइफ इन्स्योरेन्स कम्पनीबीच बैंकास्योरेन्सको सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत तुलसीराम गौतम र एशियन लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजेशकुमार श्रेष्ठले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार ग्राहकहरुले सेञ्चुरी कमर्सियल बैंकबाट उक्त कम्पनीको बीमा लेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दाबी भुक्तानी लगायत सम्पूर्ण बीमा सेवा प्राप्त गर्न सकिने छ । बैंकले काठमाडौं उपत्यकामा १३ शाखाहरु र ६ वटा एक्स्टेन्सन काउन्टरहरु र उपत्यका बाहिर ९६ शाखाहरु र २ वटा एक्स्टेन्सन काउन्टरहरु साथै १२ वटा शाखारहित बैंकिङ्ग गरी जम्मा १२९ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ ।

महोत्तरीको बर्दिवासमा गुडविल फाइनान्सको नयाँ शाखा

काठमाडौं । गुडविल फाइनान्सको चौंधौ शाखा महोत्तरी जिल्लाको बर्दिवासमा उद्घाटन गरेका छन्र। बर्दिबास नगरपालिकाका मेयर बिदुर कार्की तथा गुडविल फाइनान्सका प्रमुख कार्यकारी अधिकृत सरोज काजी तुदाधरले संयुक्त रुपमा उद्घाटन गरेका हुन् । प्रदेश नं. २ मा गुडविल फाइनान्सको विस्तारसँगै पाँचथरको फिदिम देखि बाँकेको नेपालगञ्ज साथै प्रदेश नं. ७ को राजधानी धनगढीमा पनि शाखा स्थापनासँगै सेवा प्रदान गर्दै आएको छ ।

एनआईसी एशियाको थप दुईवटा शाखारहित बैंकिङ्ग सेवा दार्चुलामा

काठमाडौं । एनआईसी एशिया बैंकले यु के एड सक्षम एक्सेस टु फाईनान्स कार्यक्रमकोे सहकार्यमा दार्चुला जिल्लामा शाखारहित बैंकिङ्ग सेवा विस्तार गरेको छ । उक्त जिल्लाको महाकाली नगरपालिका, वडा नं.७ धाप र महाकाली नगरपालिका वडा नं.९ दत्तुमा २१ औं र २२ औं शाखा रहित बैंकिङ्ग सेवा पुस १७ र १८ गतेबाट संचालनमा ल्याएको हो । बैंकले महाकाली नगरपालिका, वडा नं.७ धापमा शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन दार्चुला उद्योग वाणिज्य संघका अध्यक्ष मंगलसिंह ठगुन्नाले गरेका थिए । उक्त शाखारहित बैंकिङ्ग सेवाका प्रतिनिधिको रुपमा शेर सिंह रैखोलालाई नियुक्त गरेको हो । यसैगरि महाकाली नगरपालिका,वडा नं.९ दत्तुमा संचालनमा ल्याएको शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन महाकाली नगरपालिका, वडा नं.९ का वडा अध्यक्ष हरसिंह डाँगाले गरेका थिए । उक्त शाखारहित बैंकिङ्ग सेवाका प्रतिनिधिको रुपमा कृष्ण सिंह चौैसिरलाई नियुक्त गरिएको छ । मुलुकभर २७० शाखा कार्यालयहरु, २८९ एटिएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवं २२ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । बैंकको वासलातको आकार रू. २१३ अर्ब भन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब रू. १६८ अर्ब पुगि निजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंक तथा कुलकर्जा करिब रू. १४६ अर्ब बनाउन सफल भएको छ । हालसम्म यस बैंकमा ग्राहकको संख्या करिब १४ लाख रहेको छ ।