बीमा कम्पनीहरूले अब वार्षिक प्रतिवेदनमा खुलाउनु पर्नेछ यी ५२ विषय
काठमाडाैं । बीमा कम्पनीहरूले वार्षिक प्रतिवेदनमा थप ५२ शीर्षकको बारेमा खुलासा गर्नुपर्ने भएको छ । नेपाल बीमा प्राधिकरणले मंगलबार कम्पनीहरूलाई वार्षिक प्रतिवेदनमा थप ५२ विषय खुलासा गर्न निर्देशन दिएको हो । प्राधिकरणले दिएको निर्देशनअनुसार अब बीमा कम्पनीहरूले आफ्नो दूरदृष्टि, अभियान तथा उद्देश्यअन्तर्गत दूरदृष्टि र अभियान, बीमकको समग्र रणनीति तथा लक्षहरू र मूल्य मान्यता तथा आचार संहिता, नैतिक सिद्धान्तहरूको बारेमा खुलाउनु पर्नेछ । यसैगरी, कम्पनीले संस्थागत संरचना लगायतको विवरण पनि खुलाउनु पर्नेछ । बीमकको दूरदृष्टि, अभियान तथा उद्देश्य (क) दूरदृष्टि र अभियान (ख) बीमकको समग्र रणनीति तथा लक्ष्यहरू (ग) मूल मान्यता, आचारसंहिता र नैतिक सिद्धान्तहरू बीमकको संस्थागत संरचना लगायतको विवरण (क) बीमकको संक्षिप्त विवरण (ख) संचालकको विस्तृत विवरण (ग) बीमकको संस्थागत तथा समूहगत संरचना (घ) सञ्चालक समितिको संरचना, भूमिका, बैठक, उपस्थिति र कोरमसम्बन्धी विवरण (ङ) उप समितिहरूको संरचना, भूमिका, बैठक, उपस्थिति र कोरम सम्बन्धी विवरण बीमकको बिजनेस मोडल (क) बीमकको बिजनेस मोडल सम्वन्धमा रेखाचित्रसहितको संक्षिप्त विवरण (ख) बीमकको स्रोत, उपयोग क्षमता, दिगो प्रतिस्पर्धात्मक सवलता, मूल्य निर्माण लगायतका विषयमा विस्तृत व्याख्या (ग) बीमकको पुँजीका मुख्य स्रोतहरू र तीनको आपसी अन्तरसम्बन्ध (घ) बीमकको स्रोतको उपयोग तथा अन्य भावी कार्यक्रमसँग पुँजी योजनाको अन्तरसम्बन्ध कार्यसम्पादनको समिक्षा तथा मुख्य सूचकाङ्क (क) बीमकको यस आर्थिक वर्ष तथा गत आवहरूको तुलनात्मक वित्तीय अवस्थाको झलक (ख) बीमकको विभिन्न पोर्टफोलियो, बीमालेखहरू तथा मुख्य संस्थागत कार्यहरूको जानकारी (ग) बीमकको मुख्य कार्यसम्पादन सूचकाङ्क रणनीतिक योजना र विकास (क) बीमकको अल्पकालिन, मध्यकालिन तथा दिर्घकालिन रणनीतिहरू र ती रणनीतिहरू हासिल गर्नका लागि बीमकले सुनिश्चित गरिएको स्रोतको विवरण (ख) बीमाको विकास, बीमालेख तथा सेवा प्रवाह सम्बन्धमा बीमकको रणनीति (ग) बीमकको दिगोपना सम्वन्धमा रणनीति तथा मापन गर्न सकिने लक्षहरू (घ) बीमकको व्यवसायिक परिदृष्य, दृष्टिकोण तथा सम्भावनाहरूको संश्लेषण (ङ) बाह्य वातवरणको बीमकको व्यवसायमा परेको असर संस्थागत उत्तरदायित्व (क) बीमकले कर्मचारी कल्याण (स्वास्थ्य, सुरक्षा तथा कार्यवातवरण) सम्वन्धमा गरेका प्रयासहरू (ख) राष्ट्रिय अर्थतन्त्रमा बीमकको योगदान (राजस्व भुक्तानी, कुल ग्राहस्थ उत्पादनमा योगदान, रोजगारी सृजना, सामाजिक विकासमा योगदान आदी (ग) बीमकले दिगो बन्न र दिगो विश्वव्यापी अर्थतन्त्रमा योगदान पुर्याउनका लागि गरेका कार्यहरू (घ) सामाजिक तथा वातावरणीय विकास तथा दिगोपनका लागि बीमकबाट भएका प्रत्यक्ष तथा अप्त्यक्ष प्रयासहरू (ङ) बीमकले समाजिक उत्तरदायित्व सम्बन्धमा गर्नुपर्ने खुलासा सुशासन र परिपालना (क) परिपालनासम्बन्धी संक्षिप्त विवरण (ख) परिपालना नभएका विषयहरू र परिपालना गर्न नसक्नुको कारण (ग) बीमकको सञ्चालक समितिको प्रभावकारीता लगायतका विषय समेटिएको अध्यक्षको प्रतिवेदन (घ) उपसमितिहरूको मुख्य कार्यहरू तथा हासिल भएका उपलब्धी समेटिएको छुट्टाछुट्टै प्रतिवेदन (ङ) बीमकको सञ्चालक समिति तथा उपसमितिको प्रभावकारीताको स्वमूल्याङ्कन तथा स्वमूल्याङ्कन गर्न अपनाएको विधि (च) व्यवस्थापनको प्रतिवेदन (छ) बीमकका मुख्य नीति तथा अभ्यासहरू जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण (क) बीमकको जोखिम व्यवस्थापनसम्बन्धी नीति, जोखिम पहिचान तथा तिनको व्यवस्थापन गर्ने संयन्त्र (ख) प्राधिकरणको निर्देशन बमोजिम जोखिम व्यवस्थापन सम्वन्धी अन्य खुलासा (ग) प्राधिकरणको निर्देशन बमोजिम जलवायु परिवर्तन जोखिम सम्वन्धी खुलासा (घ) बीमकको पुनर्बीमा नीति, महाविपत्ति पुनर्बीमाको पर्याप्तता लगायतका विषयमा गुणात्मक तथा मात्रात्मक विवरण (ङ) बीमकको आन्तरिक नियन्त्रण प्रणालीसम्बन्धी फ्रेमवर्क (च) बीमकको आन्तरिक नियन्त्रण प्रणालीको प्रभावकारीता सम्वन्धी विवरण (छ) सूचना प्रविधिको प्रयोग तथा सोबाट सिर्जित जोखिमको नियन्त्रण वित्तीय विवरण र सोसम्बन्धी अन्य खुलासाहरू (क) बीमकको वित्तीय विवरण सम्बन्धमा बीमकको वित्त प्रमुख वा लेखा प्रमुखको जिम्मेवारी सम्बन्धी प्रतिवेदन (ख) बीमकले लेखाङ्कन गरेको बीमासम्बन्धी दायित्व पर्याप्त रहको सम्वन्धमा बीमाङ्कीको प्रतिवेदन (ग) बाह्य लेखापरीक्षकको प्रतिवेदन (घ) प्राधिकरणबाट स्वीकृत भएको वित्तीय विवरण (ङ) बीमकको संवद्ध व्यक्ति वा संस्थाको विवरण तथा संवद्ध व्यक्ति वा संस्थासँग भएका कारोबारहरूको विवरण (च) बीमकको वित्तीय विवरण सम्वन्धी निर्देशन बमोजिम खुलासा गर्नुपर्ने विवरणहरू (छ) सम्पत्ति तथा पुँजीको स्रोतको गुणस्तरको समिक्षा (ज) बीमकको प्राधिकरणबाट वित्तीय विवरण स्वीकृत हुँदा लगाएका शर्तहरू तथा सो सम्बन्धमा बीमकको सञ्चालक समितिको जवाफ (झ) बीमकको चौथो त्रैमासिक अवधिको वित्तीय विवरण ( वासलात र नाफा नोक्सान हिसाब) र बीमकको लेखापरीक्षण भएको वित्तीय विवरणबीचको फरकको विवरण (ञ) बीमकको सोल्भेन्सी वित्तीय विवरण र एनएफआस वित्तीय विवरणको तरलनात्मक विवरण, सोल्भेन्सी गणना तथा उपलब्ध पुँजी सम्बन्धी विवरण अन्य खुलासा (क) सरोकारवालासँग अन्तरक्रिया तथा सूचना प्रवाह गर्न स्थापना गरिएको संयन्त्र (ख) बीमित, लगानीकर्ता तथा अन्य सरोकारवालाहरूको गुनासो सम्बाेधन गर्ने सम्बन्धी संयन्त्र (ग) बीमकको क्रेडिट रेटिङसम्बन्धी जानकारी
३ महिनामा करिब ४ अर्ब रुपैयाँको बीमा सरेण्डर
काठमाडाैं । चालु आर्थिक वर्षको ३ महिनामा ३ अर्ब रुपैयाँ बढीको बीमा पोलिसी सरेण्डर भएको छ । २८ हजार जना बीमितकाे ३ अर्ब ८२ करोड ४६ लाख रुपैयाँ बढीको बीमा पोलिसी सरेण्डर भएको हो । जसमध्ये सबैभन्दा धेरै लाइफ इन्स्योरेन्स कर्पाेरेशन(एलआईसी) नेपालबाट भएको छ । एलआईसी नेपालबाट ९ हजार ९३१ जना बीमितले १ अर्ब २२ करोड ९६ लाख रुपैयाँ बढीको बीमा पोलिसी सरेण्डर गरेका छन् । यसैगरी, नेपाल लाइफका ६ हजार ५४६ जना बीमितले १ अर्ब ८ करोड ५४ लाख रुपैयाँ बढीको बीमा पोलिसी सरेण्डर गरेका छन् । राष्ट्रिय जीवन बीमा कम्पनीबाट २ हजार ७४३ जनाले २७ करोड ४३ लाख, नेशनल लाइफबाट १ हजार ५५४ जनाले २३ करोड ६२ लाख, एशियन लाइफका २ हजार २७२ जना बीमितले २४ करोड ८४ लाख, हिमालयन लाइफका २ हजार १४ जना बीमितले १८ करोड २३ लाख र सूर्य ज्योति लाइफका १ हजार ५ सय ७४ जनाले १९ करोड ३३ लाख रुपैयाँ बढीको बीमा पोलिसी सरेण्डर गरेका छन् ।
समावेशी बीमा सम्मेलन : के सिक्यौं, के सिकायौं ?
काठमाडौं । म्यूनिख रि फाउण्डेशनले विश्वका विभिन्न देशमा आयोजना गर्ने समावेशी बीमासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन यस पटक नेपालमा भयो । बीमाका सरोकारवालाहरूले अन्तर्राष्ट्रिय सम्मेलनलाई एउटा उत्सवका रूपमै मनाए । गत साता काठमाडौंमा भएको समावेशी बीमा सम्बन्धी २०औं अन्तर्राष्ट्रिय सम्मेलनले नेपालको बीमा क्षेत्रका लागि धेरै सिकाइपूर्ण भएको सहभागीहरू बताउँछन् । सम्मेलनमा ४० बढी देशका ४०० जना बीमाका विज्ञहरू उपस्थित थिए । सम्मेलनमा छुट्टाछुट्टै प्यानलमा छलफल गरिएको थियो । सयौं बीमाका विज्ञहरूले समावेशी बीमाको विकास, दायरा, आवश्यकता, चुनौती, यस क्षेत्रमा प्रविधिको प्रयोग, सरोकारवाला पक्षले खेल्नुपर्ने भूमिकालगायतका बारेमा गहन रूपमा छलफल भएको थियो । छलफलमा समावेशी बीमाका अनुभवी तथा विज्ञहरूले आफ्नो अनुभव आदानप्रदान गरे । नेपाल बीमा प्राधिकरणबाट उपनिर्देशक, निर्देशक र अध्यक्ष गरी २५ जना र हरेक बीमा कम्पनीबाट ५ जना सम्मेलनमा सहभागी भएका थिए । नेपालमा समावेशी बीमाको अभ्यास, पुग्नु पर्ने गन्तव्य, चुनौती, हालसम्मका उपलब्धिलगायत विषयमा छलफल तथा सिकाइ आदानप्रदान पनि भयो । समावेशी बीमाको बारेमा ज्ञान आदानप्रदान गर्ने सम्मेलनको मुख्य उद्देश्य थियो । लक्षित वर्गमा बीमाको पहुँच कसरी पुर्याउने भन्ने सम्मेलनको अर्को उद्देश्य थियो । जीवन बीमक संघका अध्यक्ष पोषकराज पौडेलले बीमा क्षेत्रमा लामो समय काम गरेका व्यक्तिहरूले समावेशी बीमाको विस्तारका लागि गरेका प्रयास, अनुभव र आइपरेका चुनौतीहरुको बारेमा आफ्नो अनुभव आदानप्रदान गरेको बताए । ‘धेरै कुराहरू हामीले सिक्यौं, हामीले गरेको अभ्यास र सिकेको ज्ञान पनि सिकायौं, सम्मेलन उपलब्धिमूलक भयो,’ उनले भने । नेपाल बीमा प्राधिकरणका उपनिर्देशक तथा सूचना अधिकारी निर्मल अधिकारीले विश्वको बीमा बजारमा अहिले समावेशी बीमाको बारेमा वृहत छलफल हुन थालेको र सोहीअनुसार नेपालमा पनि यसको बहस गरिएको बताए । तर, नेपालमा सम्मेलन गर्ने निर्णयकर्ता भनेका म्यूरिख रि फाउण्डेश भएको उनको भनाइ छ । म्यूरिख रि फाउण्डेशन र माइक्रो इन्स्योरेन्स नेटवर्कले हरेक वर्ष विश्वमा समावेशी बीमाको बारेमा वृहत छलफलको सम्मेलन गर्ने गरेको छ । जसले २०२४ मा नेपालमा र सन् २०२५ मा इकवेडरमा गर्नेछ । नेपाल बीमा प्राधिकरण, नेपाल बीमक संघ, जीवन बीमक संघ र नेपाल लघु बीमक संघले यसको सहजिकरण गरेको हो । नेपाल भौगोलिक हिसाबले विकट मानिन्छ । गरिबी, विपन्न, न्यून आय भएका मानिसको संख्या पनि उत्तिकै भएर यहाँ समावेशी बीमाको आवश्यकता महसुस भएर सम्मेलन नेपालमा आयोजना गरिएको अधिकारीले बताए । यस्तै, नेपाल सरकारले पनि पछिल्लो समय लघु बीमाको माध्यमबाट समावेशी बीमालाई विस्तार गर्ने योजना बनाएको छ । १५औं र १६औं पञ्चवर्षे योजनामा पनि न्यून आय भएका जनतामा बीमाको पहुँच पुर्याउने भन्ने विषय उल्लेख गरिएको छ । यसैगरी, बीमा ऐन, २०७९ मा पनि लघु बीमा कम्पनीको स्थापना गरेर न्यून आय भएका जनतामा बीमाको पहुँच पुर्याउने उल्लेख गरिएको छ । सोहीअनुसार लघु बीमालाई प्राथमिकतामा राखेर दुर्गममा बसोबास गर्ने, न्यून आय भएका, विपन्न वर्गमा बीमाको पहुँच पुर्याउनु पर्छ भन्ने यो सम्मेलनको पनि उद्देश्य रहेको अधिकारीको भनाइ छ । नेपालमा समावेशी बीमाको अवस्था नेपालमा समावेशी बीमालाई सरकारले पनि प्राथमिकतामा राखेको छ । सरकारले बजेटदेखि विभिन्न नीतिमा पनि समावेशी बीमालाई प्राथमिकता दिएको छ । पञ्चेवर्षे योजनामा पनि समावेशी बीमा विस्तार गर्नुपर्नेमा सरकारको जोड रहेको देखिन्छ । सोही उद्देश्यअनुसार हाल नेपालमा ७ वटा लघु बीमा कम्पनी पनि स्थापना गरिएको छ । उक्त कम्पनीहरू स्थापनाको उद्देश्य भनेकै समावेशी बीमाको विस्तार गर्नु हो । गरिब, निमुखा, विपन्न, कम आय भएका र विकटमा रहेका जनतालाई र तिनका सम्पत्तिलाई बीमाको प्रोटेक्सन दिनु पर्छ भन्ने परिकल्पनाका साथ नै लघु बीमा कम्पनीहरूको स्थापना गरिएको हो । गत आर्थिक वर्ष २०८०/०८१ देखि लघु बीमा कम्पनीहरूले औपचारिक रूपमा काम पनि सुरु गरेका छन् । गत आवमा उक्त बीमा कम्पनीहरूले जीवन तर्फ १ लाख भन्दा धेरै जना नागरिकको बीमा गरेर प्रोटेक्सन दिएको थियो भने निर्जीवन तर्फ १ लाख बढी वटा धन सम्पत्तिको बीमा सुरक्षा प्रदान गरेका छन् । समावेशी बीमामा नेपाल बीमा प्राधिकरणले पनि प्राथमिकता दिएको पाइन्छ । प्राधिकरणले पनि केही वर्षअघि देखि नै सञ्चालनमा रहेका नेपालका ठूला बीमा कम्पनीहरूलाई कम्तिमा पनि १० प्रतिशत लघु बीमा गरेको हुनु पर्ने निर्देशन दिएको थियो । सोहीअनुसार बीमा कम्पनीहरूले पनि काम गर्दै आएका थिए । लघु बीमा कम्पनीहरूको स्थापनापूर्व नै प्राधिकरणले यस्तो नीति अवलम्बन गरेको थियो । तर, प्राधिकरण र सरकारले समावेशी बीमालाई जोड दिए पनि त्यसको अझै नेपालमा रहेका लाखौं गरिब जनता, निमुखा, पिछडिएका वर्ग, दुर दराजमा रहेका वर्गमा बीमाको पहुँच पुगेको छैन । नेपालको बीमा व्यापारको ८० प्रतिशतभन्दा धेरै हिस्सा गाउँ सहरबाट नै भएको देखिन्छ । कर्णालीजस्तो विकट क्षेत्रमा बीमाको व्यापार ५ प्रतिशतको हाराहारीमा छ । यो तथ्यांकले पनि नेपालमा समावेशी बीमाको दायरा विस्तार हुन सुरु मात्र भएको देखिन्छ । गन्तव्य निकै दूरसम्म रहेको प्रष्ट हुन्छ । विदेशमा समावेशी बीमाको अवस्था विदेशका केही देशमा समावेशी बीमा मौलाएको छ भने केही देशहरू अभ्यासका क्रममा नै रहेका छन् । अध्यक्ष पौडेलका अनुसार सरकारले गम्भीर तरिकाले लिएको देशमा समावेशी बीमाको अवस्था राम्रो छ भने सरकारले वास्ता नगरेको देशमा अवस्था चुनौतिपूर्ण नै छ । प्राधिकरणका उपनिर्देशक अधिकारी अफ्रिकी मुलुकमा र अन्य विकसित देशहरूमा पनि समावेशी बीमाको अभ्यास भइरहेको बताउँछन् । विभिन्न दातृ निकायले समावेशी बीमाको विस्तारमा विश्वका देशहरूलाई सहयोग पनि गर्दै आएका छन् । विश्व बैंक, एशियाली विकास बैंक, संयुक्त राष्ट्र विकास परियोजनाहरूले समावेशी बीमाको विस्तारका लागि विश्वका विभिन्न देशहरूलाई आर्थिक र प्राविधिक सहयोग पनि गर्दै आएका छन् । अधिकारीका अनुसार विभिन्न देशहरूमा समावेशी बीमा विस्तारमा प्रविधिको प्रयोग पनि उत्तिकै भएको देखिन्छ । बीमा गर्नेदेखि क्षतिको सर्भे गर्ने र दाबी भुक्तानीसम्म जे जति गरिन्छ ति सबै प्रविधिको प्रयोग गरेर सहज र सरल बनाइएको छ । सम्मेलनबाट के सिक्यौं ? सम्मेलनबाट समावेशी बीमाको दायरा विस्तार गर्दा गरेका अभ्यासहरू, त्यसका अवसर तथा चुनौतीहरूको विषयमा चर्चा भएको छ । अधिकारीका अनुसार समावेशी वर्गमा बीमाको पहुँच पुर्याउन तथा जनतामा जनचेतना फैल्याउन विभिन्न देशहरूले कस्तो टुल्स अवलम्बन गरे र नेपाले कस्तो टुल्स अवलम्बन गरेको छ भन्ने विषयमा छलफल भएको उनको भनाइ छ । विषेशगरी विदेशमा लक्षित वर्गमा बीमाको पहुँच पुर्याउन र जनचेतना फैल्याउन प्रविधिको उपयोग व्यापक भएको देखिन्छ । नेपालमा अहिले त्यस किसिमको प्रविधि भित्रिएको पनि छैन । यस्तै, नेपालबाट करिब ३०० जना बीमाको कर्मचारीहरूले सम्मेलनमा भाग लिएका थिए । उनीहरूले विदेशीका अनुभवहरू सुनेर धेरै विषय जान्न पाए । त्यसले नेपालको बीमा क्षेत्रलाई सकारात्मक प्रभाव पार्ने सहभागीहरूको भनाइ छ । सिटिजन लाइफका प्रमुका कार्यकारी अधिकृतसमेत रहकेका पौडेलले बीमा क्षेत्रमा नेपालले विश्वास र जनचेतना चै जगाउनु पर्ने देखिएको बताए । ‘बीमा क्षेत्रमा विश्वासको अभाव प्रायः सबै देशमा नै रहेछ, नेपालमा अझ धेरै भएको पाइयो,’ उनले भने । उक्त सम्मेलनमा महिला बीमा, जलवायु परिवर्तन, इण्डेक्स इन्स्योरेन्स, बीमाङ्गकीय मूल्याङ्कन, कृषि र लघु बीमालगायतका विषयमा छलफल भएको थियो । इण्डेक्स इन्स्योरेन्सलाई नेपालमा कसरी लैजाने, कसरी प्रवाभकारी बनाउने, त्यसमा भएका जोखिमका पाटोहरूलाई कसरी जोडेर जाने भन्ने विषयमा फ्लोरबाट एजेण्डा उठान भएका थिए । लघु बीमाको थ्रेसहोल्ड कति हो ? परिभाषा के हो ? नेपालमा एक्युअरी साइन्सको पढाइ नै नहुने सन्दर्भमा एक्चुरीको विकास कसरी गर्ने, स्वास्थ्य बीमालाई कसरी प्रभावकारी बनाउने, जलवायु परिवर्तनले ल्याएका इस्यूहरूलाई प्रडक्ट डिजाइन गर्दा कसरी गर्ने भन्ने विषयमा गहन रूपमा छलफल भएको थियो । विदेशीहरूबाट सिकेको ज्ञानलाई कार्यान्वयन गर्नतर्फ अगाडि बढ्नु पर्ने अधिकारीको भनाइ छ । उनले नेपाल सरकारको बीमाको सल्लाहकार प्राधिकरण भएकाले सम्मेलनमा उठेका विषयहरू नेपालको सन्दर्भमा कार्यान्वयन गर्ने सुरुवाती प्राधिकरणले लिनु पर्ने उनी तर्क गर्छन् । यसका लागि बीमा कम्पनी, तीनै तहका सरकार, सर्वसाधारणले पनि भूमिका खेल्नु पर्ने उनको भनाइ छ । सरकार, बीमा कम्पनी, विज्ञ र सरकारवाला निकायलाई एकैठाउँमा ल्याएर सम्मेलनबाट उठेका एजेण्डालाई कार्यन्वयन गर्न प्राधिकरणले भूमिका खेल्नु पर्ने उनको भनाइ छ । अधिकारीका अनुसार नेपालमा पनि समावेशी बीमाको बीमाको मार्फत लक्षित वर्गमा बीमाको पहुँच पुर्याउनु पर्छ भन्ने र विश्वभर प्रतिपादन भएका समावेशी बीमाका मूल्य मान्यता, सिद्धान्तलाई अवलम्बन गर्दै नेपालको माटो सुहाँउदो पोलिसीहरू विकास गर्नु पर्ने सोहीअनुसार नीति र कानुन बनाउनु पर्ने निचोड सम्मेलनबाट निस्किएको थियो ।