आईपीओपछि कमाएर ५ अर्ब पुँजी पुर्याउँछौं : नारायण बाबु लोहनी
रिलायबल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) नारायणबाबु लोहनी वित्तीय क्षेत्रमा विगत दुई दशकदेखि नेतृत्वदाही भूमिकामा हुनुहुन्छ । सिभिल इन्जिनियरिङ पास गरेपछि बिजनेश एडमिनिस्ट्रेशनमा मास्टर डिग्री हासिल गर्नुभएको लोहनी राष्ट्रिय स्तरको विकास बैंकको सीईओ हुँदै बीमा कम्पनीको सीईओको भूमिकामा आउनु भएको छ । लोहनी रिलायबल लाइफमा संस्थापक सीईओ हुनुहुन्छ र अहिले दोस्रो कार्यकालको जिम्मेवारी समालिरहनु भएको छ । नियामक निकाय बीमा समितिले बीमा कम्पनीहरुको पुँजी वृद्धिको निर्णय गरेपछि धेरै बीमा कम्पनीहरुले मर्जको बाटो रोजेका छन् । रिलायबल इन्स्योरेन्स कम्पनीले आफै थप लगानी गर्दै पुँजी वृद्धिको बाटो रोज्यो । प्रवर्द्धकलाई हकप्रद सेयर निष्काशन गरेर कम्पनीले चुक्ता पुँजी २ अर्ब ८० करोड बनाईसकेको छ भने सर्वसाधारणको लागि १ अर्ब २० करोड रुपैयाँ बराबरको सेयर निष्काशन गर्दैछ । प्रस्तुत छ : बीमा कम्पनीहरुको पुँजी वृद्धि, व्यवसाय विस्तार, लघुबीमा थपिदा बजारमा पर्ने असरबारे विकासन्युजकर्मी मञ्जरी पौडेलले तयार पारेको अन्तरवार्ता । पछिल्लो समय सबैले भन्छन्- ‘बजारमा पैसा छैन ।’ बीमा क्षेत्रमा यसको असर कस्तो छ ? बजारमा तरलताको अभावले सबै क्षेत्रलाई अफ्ठ्यारो छ । यसमा बीमा व्यवसाय पनि अछुतो रहेको छैन । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाबाट नयाँ कर्जा प्रवाह कम भएको कारणले गर्दा लघुवित्त तथा फाइनान्सहरुलाई जाने ऋण पनि रोकिएको छ । गाउँ गाउँमा पुग्नुपर्ने पैसा पुगेको छैन । जसले गर्दा गाउँतिरको व्यापार पनि कम छ । गत आर्थिक वर्षसम्म सबै कम्पनीको बिजनेश बढेको थियो तर चालु आवमा भने केही खस्किएको छ । हामीलाई आशा छ अब पुसदेखि भने हामी पुरानै लयमा फर्किन्छौं । अर्को, मुद्रास्फीति दर बढेको कारणले मान्छेहरुको खर्च गर्ने क्षमता घटेको छ । दालभात तरकारी खान, बच्चाबच्ची पढाउने लगायतका आधारभूत विषयमा नै धेरै खर्च हुने भएकाले बीमा गराउने पैसा उहाँहरुसँग नभएको देखिन्छ । यी सबै समस्या देखिनुको एउटै कारण हो, ब्यालेन्स अफ पेमेन्ट नमिल्नु । जब ब्यालेन्स अफ पेमेन्टमा सुधार हुँदै आउँछ, रेमिट्यान्स बढ्छ, निर्यात बढ्छ र आयात हुने सामानको परिणाम र मूल्य दुबै घट्छ तब मात्र बजारमा सुधार आउने देखिन्छ । त्यसपछि बजारमा विस्तारै सुधार हुन्छ भन्नेमा हाम्रो विश्वास छ । यसपालिको बजेटले आयकरमा छुट हुने बीमा रकम वृद्धि गरेको छ । यसले जीवन बीमा बजारलाई विस्तार गर्न कत्तिको मद्दत गरेको छ ? चालु आर्थिक वर्षदेखि लागू हुने गरी ४० हजार रुपैयाँसम्म बीमा शुल्कमा आयकर छुटको व्यवस्था गरिएको छ । यो व्यवस्था राम्रो हो । तर कर तिर्ने कर्मचारीहरु सीमित नै हुन्छन् । त्यो बाहेक हामीले ठूलो ठाउँ अर्थात सर्वसाधारणहरुमा पुग्नुपर्छ । गत आर्थिक वर्षसम्म सबै कम्पनीको बिजनेश बढेको थियो तर चालु आवमा भने केही खस्किएको छ । हामीलाई आशा छ अब पुसदेखि भने हामी पुरानै लयमा फर्किन्छौं । के छन् आधारहरु ? एउटा बाहिरबाट आउने रेमिट्यान्स बढिरहेको छ । अर्को, राष्ट्र बैंकले गरेको कडाईले आयात पनि कम हुँदै गएको छ । विद्युत् पहिला भारतबाट नेपाल ल्याउनु पर्थ्यो भने अहिले नेपालबाट भारतमा जान थालेको छ । पेट्रोल डिजेलको पनि कम खपत हुन थालेको छ । पहिला भारतमा भन्दा नेपालमा तेल सस्तो हुँदा बोडरबाट तेलहरु बाहिरिन्थ्यो भने अहिले त्यस्तो स्थिति छैन । यसले ब्यालेन्स अफ पेमेन्टलाई सुधार गर्छ । योसँगै बैंकहरुमा तरलता बढ्ने अनुमान छ । वित्तीय बजारमा तरलता सहज भएपछि बीमामा पनि सकारात्मक असर पर्ने विश्वास छ । त्यसपछि अर्थतन्त्रसँगै हाम्रो व्यवसाय पनि लयमा फर्किन्छ । मुद्दती निक्षेपको व्याजदर बढेको छ । यसले बीमा कम्पनीको नाफा वृद्धि गर्ला नि ? बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपको व्याजदरले बीमा कम्पनीहरुको वित्तीय विवरणमा सकारात्मक असर पर्छ । बीमा कम्पनीहरुको अधिकांश लगानी बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी हुन्छ । त्यसैले मुद्दतीको बढ्दो व्याजदरले सकारात्मक प्रभाव पार्छ । तर मुद्दती निक्षेपको व्याजदर बढ्दा पनि कम्पनीहरुले व्यापार व्यवसाय बढाउन सकिएन भने त्यसको नकारात्मक असर वित्तीय विवरणमा देखिन्छ । त्यसैले, कम्पनीहरुले मुद्दती निक्षेपको व्याजदरमा भन्दा व्यापार व्यवसायमा नै बढी फोकस गर्नु उपयुक्त हुन्छ । मुद्दती निक्षेपको व्याजदरमा बैंकहरुले विभेदकारी नीति अबलम्बन गरेका छन् । व्यक्तिलाईभन्दा संस्थालाई २ प्रतिशत कम व्याज दिने निर्णय गरेका छन् । यसलाई बीमा कम्पनीहरुले कसरी ग्रहण गरिरहेका छन् ? यो एकदमै गम्भीर विषय हो । मुद्दती निक्षेपको व्याजदरमा व्यक्ति तथा संस्थाबीच भेदभाव देखिएको छ । यो सम्बन्धमा जीवन बीमक संघ लगायत बीमा समितिसँग समेत छलफल भइरहेको छ । बीमा कम्पनीहरुले लगानी गरेको अधिकांश रकम बीमितहरुको हो । जब मुद्दती निक्षेपको व्याजदर कम हुन्छ, त्यसले कम्पनीहरुले बीमितलाई दिने बोनसदर घट्न सक्छ । यसले आमजनमानसहरुमा बीमाप्रति विकर्षण देखिन्छ र बीमा व्यवसायमा नै प्रतिकुल असर पर्न सक्छ । बीमा कम्पनीहरुले अधिकतम ३५ वर्षसम्म बीमा पोलिसी जारी गरेका हुन्छन् । त्यबाट आर्जीत बीमा शुल्क रकम लामो समयको डिपोजिट राम्रो व्याजदरमा राख्न सकियो भने यसले सकारात्मक प्रभाव पार्छ । यदि व्यक्तिले बढी पाउने र संस्थाले कम पाउने भयो भने भोलिको दिनमा कम्पनीहरुलाई बीमाको व्यवसाय गर्न अफ्ठ्यारो पर्छ र बैंकलाई पनि व्यवसाय गर्न प्रतिकूल परिस्थिति हुन सक्छ । यसले गर्दा भोलिका दिनमा व्यापार व्यवसायमा असर पर्छ । यसको बारेमा जीवन बीमक संघले बीमा समितिमा चिठ्ठी पठाउँदै छ । यता राष्ट्र बैंकले पनि सर्वसाधारणको डिपोजिटको हित नै हेर्ने हो । त्यसैले राष्ट्र बैंकले यो विषयलाई सकारात्मक रुपमा हेर्छ भन्ने विश्वास छ । ‘बीमा गर्दा डबल फिर्ता पनि पाइन्छ’ भनेर अभिकर्ताहरुले बीमितलाई लोभ्याउने अभ्यास छ । तर पछिल्लो समय वाणिज्य बैंकहरुले मुद्दतीमा राख्दा २५ वर्षमा १५ गुणासम्म प्रतिफल दिन योजनाहरु ल्याइरहेका छन् । यसले इन्स्योरेन्समा कत्ति असर गर्छ ? बैंकको मुद्दती र बीमामा धेरै फरक छ । बैंकमा अहिले नै सम्पूर्ण पैसा राख्नुपर्छ, त्यसको गुणामा ग्राहकले पाउने हो । तर बीमा कम्पनीमा वार्षिक वा त्रैमासिक वा अर्धवार्षिक रुपमा बीमा शुल्क भुक्तानी गर्नुपर्छ, पहिलो । दोश्रो बीमाको सिद्धान्त भनेको जोखिम बहन गर्ने हो, जुन बैंकले गर्दैन, मुद्दती निक्षेपले गर्दैन । बैंकहरुले कुनै कम्पनीसँग टाईअप नै गरेको छ भने पनि त्यत्ति प्रभावकारी हुँदैन । बैंकहरुले अहिले ल्याएको मुद्दती योजना र हामी बीमा कम्पनी सेवाको प्रकृति नै फरक छ । हामीले बीमितलाई बचत, सुरक्षा र प्रतिफल सँगसँगै भनेर लाग्छौं, जुन बैंकले दिन सक्दैनन् । यसो हेर्दा के हो-के हो ? जस्तो हुन्छ । तर बीमाको महत्व बीमासँग नै छ । बैंकमा अहिले पैसा राखेर सीमित अवधिपछि मात्रै रिटर्न लिन सकिन्छ भने बीमा कम्पनीले वर्षैपिच्छे रिटर्न दिइरहेको हुन्छ, त्यसबीचमा जोखिम बहन पनि गरिरहेको हुन्छ र सीमित अवधि सकिएपछि पनि आएको बोनससमेत जोडेर रिटर्न दिन्छौं । त्यसैले बैंकहरुले अहिले ल्याएको मुद्दती योजना र हामी बीमा कम्पनी सेवाको प्रकृति नै फरक छ । हामीले बीमितलाई बचत, सुरक्षा र प्रतिफल सँगसँगै भनेर लग्छौं, जुन बैंकले दिन सक्दैनन् । पक्कै पनि बैंकहरुले ल्याएका चक्रबर्ती व्याज मुद्दती योजनाले केही चासो सिर्जना गरेको छ । सत्यतथ्य बुझिसकेपछि बीमाको मान्छे बीमामै आउँछ र मुद्दतीको मान्छे मुद्दतीमै जान्छ । २०/२५ वर्षको चक्रबर्ती मुद्दतीमा कति मान्छेले पैसा लगाउँछन् भन्ने प्रश्न पनि छ ? तर यस्ता योजनाले केही समयनै भएपनि बजारमा उतारचढाव त ल्याउने भयो नि ? उतारचढाव भन्दा पनि बचतका पनि १०/१५ गुणा प्रतिफलका योजना बन्न सक्दोरहेछ भन्ने देखियो । यो धेरै नयाँ कुरा होइन । यो सिम्पल कम्पाउडिङ्ग इन्ट्रेस्टरेटका आधारमा भएको हो । इन्स्योरेन्सले गर्ने दायराभित्र हामीले गरेका छौं भने बैंकहरुले आफ्नो दायरा भित्र काम गरेका छन् । बैंकहरुको यस्तो योजना लामो समयसम्म चल्दैन । तरलता सहज भएपछि उच्च लागतको योजना उनीहरुले बन्द गर्नेछन् । कष्ट अफ फण्ड बढेपछि बैंकहरुले पनि यो पुनर्विचार गर्नेछन् । अहिले तरलताको संकटको अवस्थामा यस्ता योजनाबाट पैसा आउँछ की भन्ने बैंकहरुलाई लागेको होला । तर हामी बीमा कम्पनीले पनि यसमा यस्तो यस्तो हुन्छ भनेर बुझाउनको लागि थप मेहेनत गर्नुपर्ने हुन्छ । बैंकहरुको यस्ता योजना आइसकेपछि सहकारीमा डिपोजिट गर्नेहरु बैंकमा आकर्षित भएको पाइरहेका छौं । त्यस्तै तपाईंहरुकोमा बीमा गरेकाले सरेन्डर गर्छु र बैंकमा पैसा राख्छु भन्ने किसिमको परिवर्तन आएको छ वा छैन ? रिलायबलमा यस्तो केस आएको छैन । यता बीमा क्षेत्रको तथ्यांक पनि हामीले विश्लेषण गर्न पाएका छैनौं । समग्रमा हेर्दा बीमाबाट बैंकमा गएको केस हामीले फेला पाएका छैनौं । पछिल्लो समय बीमा कम्पनीहरुको व्यवसाय घट्नुमा कतै यस्ता फेनामेनाहरुले काम गरिरहेका त छैनन् ? बजारमा तरलता प्रयाप्त नभएपछि डाउनवार्ड हुनु स्वभाविक हो । बीमा आम मान्छेको पहिलो प्राथमिकतामा नपर्नु एउटा कारण हो । पहिला, खान लाउन पर्यो, बाल बच्चा पढाउँनै पर्यो । त्यसपछि बल्ल बीमा आउँछ । रिलायबलमा ठूलो बीमा गर्ने अधिकांश मान्छेहरु एकभन्दा धेरै व्यापार व्यवसाय गर्नेहरु हुनुहुन्छ । तरलताको अभावले गर्दा उहाँहरुले पनि पहिलो प्राथमिकता व्यापार व्यवसायमा फोकस गर्नुपर्ने र आफूले लिएको व्याजहरु तिर्नुपर्ने हुनसक्छ । पछिल्ला तथ्यांकलाई केलाउने हो भने, जब नयाँ कम्पनीको प्रवेश भएको छ, त्यत्ति बेला बजारको विस्तार भएको पाइएको छ । अब आउने लघुबीमा कम्पनीले पनि बजार विस्तार नै गर्छ भन्नेमा हाम्रो विश्वास छ । पछिल्ला वर्षमा व्यवसायीहरुले करोडौंको बीमा पोलिसीहरु खरिद गरेको समाचार पनि आईरहेका छन् । रिलायबलमा यस्ता किसिमका पोलिसीहरुको कारोबार कत्तिको छ ? भइरहेको छ । ठूलो र सानो दुबै खालको बीमा भइरहेको छ । तर औषतमा सानो खालका अर्थात १० लाख रुपैयाँसम्मका बीमा पोलिसीहरु बिक्री भइरहेका छन् । बीमा समितिले लघुबीमा कम्पनी खोल्ने बाटो खुला गरिसकेको छ । समग्रमा बीमा बजारमा यसको प्रभाव कस्तो पर्छ ? अहिले लघुबीमा दुर दराजमा जति हुनुपर्थ्यो, त्यत्ति भएको छैन । यसमा दुविधा नै छैन । यो अवस्थामा नयाँ विशेष कम्पनी आएपछि त्यसमा फोकस हुनु बीमा बजारलाई नै राम्रो हुन्छ । भोलिका दिनमा लघुबीमा गर्नेले ठूलो बीमा पनि गर्न सक्छन् । र, यसले बीमा सचेतना बढाउन पनि सहयोग गर्छ । त्यसैले यो आएपछि बीमा बजारलाई राम्रो गर्छ भन्ने विश्वास छ । पछिल्ला तथ्यांकलाई केलाउने हो भने, जब नयाँ कम्पनीको प्रवेश भएको छ, त्यत्ति बेला बजारको विस्तार भएको पाइएको छ । अब आउने लघुबीमा कम्पनीले पनि बजार विस्तार नै गर्छ भन्नेमा हाम्रो विश्वास छ । हिजोको दिनमा थोरै बीमा कम्पनी हुँदा पनि चलेकै थियो । त्यो बेलामा यतिका कम्पनीको प्रवेश भएको थिएन । त्यसैले जति नयाँ कम्पनी आउँछन्, उनीहरु नयाँ सोच, नयाँ प्रविधि, नयाँ दृष्किोण लिएर आउँछन् । हामीले पनि सेवा सुविधाको हिसावले प्रतिस्पर्धाको रुपमा अगाडि बढ्नु पर्ला । दुरदराज जहाँ बीमा पुगेको छैन, त्यहाँ बढी फोकस होला । यसको सकारात्मक प्रभाव अहिले भइरहेका बीमा कम्पनीलाई पनि पर्छ । त्यसैले पनि हामी सकारात्मक छौं । पुँजी वृद्धिमा कम्पनी कहाँसम्म पुग्यो ? खासगरी संस्थापकबाट लगानी थप भइसक्यो कि हुने क्रम जारी छ ? कम्पनीको चुक्ता पुँजी वृद्धिको लागि संस्थापकहरुले शतप्रतिशत पुँजी थपिसक्नु भएको छ । १ अर्ब ४० करोड रुपैयाँ भएको हाम्रो पुँजी हाल २ अर्ब ८० करोड भइसकेको छ । अब हामी सर्वसाधारणमा छिट्टै जाने तयारीमा छौं । एक अर्ब २० करोड रुपैयाँ बराबरको पुँजी आईपीओबाट थप्छौं । त्यसपछि आफ्नै कमाईबाट ५ अर्ब रुपैयाँ बराबरको चुक्ता पुँजी पुर्याउँछौं । अन्त्यमा, चालु आवमा रिलायबल लाइफको प्राथमिकतामा के के छन् ? हामीहरुको योजनाअनुसार यो वर्ष डिजिटलमा बढी फोकस हुन्छौं । त्यस्तै, हरेक तहतप्कालाई हुने खालका नयाँ नयाँ प्रडक्टहरु ल्याउँछौं । अभिकर्ता तथा शाखा मार्फत दुरदराजमा नेटवर्क बढाउनतर्फ लाग्छौं । गत वर्षहरुभन्दा बीमितलाई दिने बोनसदर बढेर आएको छ, त्यसमा थप फोकस गर्छौं । त्यस्तै, लगानी विस्तारमा जोड दिनेसँगै कर्मचारी र अभिकर्ताको क्षमता अभिवृद्धिमा कम्पनी लागि पर्ने छ ।
राष्ट्र बैंकले ऐन विपरित काम गर्यो, पैसाको भ्यालू बुझेन : रमण नेपालसँगको कुराकानी
नागरिक लगानी कोष (सीआईटी) का कार्यकारी निर्देशक हुन् रमण नेपाल । लक्ष्मी बैंकका अध्यक्ष समेत रहेका नेपाललाई नेपाल सरकारले २०७५ कात्तिकमा सीआईटीको कार्यकारी निर्देशकमा नियुक्त गर्यो । अर्थशास्त्रमा स्नातकोत्तर गरेका उनले पोखरा विश्वविद्यालयबाट अंग्रेजीमा एमफिल पनि गरेका छन् । उनी नेपाल राष्ट्र बैंकको अवकाश प्राप्त कर्मचारी पनि हुन् । उनै नेपाल अहिले नेपाल राष्ट्र बैंकको नीतिप्रति असन्तुष्ट बनेका छन् । नेपाल राष्ट्र बैंकले सर्वसाधारण र संस्थागत निक्षेपकर्ताको ब्याजदरमा २ प्रतिशत बिन्दुको फरक गरेपछि उनी राष्ट्र बैंकको नीतिप्रति असन्तुष्ट बनेका हुन् । कार्यकारी निर्देशक नेपालसँग सीआईटीको बिजनेस, हालसम्म गरेको लगानी र राष्ट्र बैंकले ब्याजदरमा गरेको नयाँ व्यवस्थाको विषयमा विकासन्युजका सन्तोष रोकाया र सीआर भण्डारीले कुराकानी गरेका छन् । गत आर्थिक वर्षमा नागरिक लगानी कोषको बिजनेस कस्तो रह्यो ? हाम्रो नियमित प्रगतिमा कुनै पनि कमि आएन । हामीले विगतका वर्षहरु जुन लेबलमा काम गरी रहेका थियौं । सोही तरिका बाट कामहरु पनि भए । काम गरे अनुसारको प्रगति पनि भयो । विश्व महामारीको रुपमा फैलिएको कोभिड–१९ले केही असर भने पुर्यायो । तथापि, नागरिक लगानी कोषको समग्र बिजनेस राम्रै भएको छ । हामीले आर्थिक वर्ष २०७७/७८ को आम्दानीबाट ३१.५७ प्रतिशत लाभांश दिएका छौं । आर्थिक बर्ष २०७८÷७९ को असार मसान्त सम्म कोषको खुद कोष मौज्दात रकम २ खर्ब १७ अर्ब ३२ करोड २२ लाख रुपैयाँ पुगेको छ । सो अवधिमा हामीले १ खर्ब ९४ अर्ब ९२ करोड लगानी गरेका छौं । बैंकहरुमा लगानीयोग्य पुँजीको अभाव भएको भन्दै ब्याजदर पनि परिवर्तन गरिरहेका छन्,यसले तपाईंहरुलाई के कस्तो प्रभाव पर्छ ? हामीले अन्य क्षेत्रभन्दा पनि बैंकको निक्षेप, सेयर र डिभेन्चरमा लगानी गरेको हुनाले पोर्टफोलियोमा सामान्य असर पर्छ । तर, त्यति धेरै असर गर्दैन । हामीले अहिले १.३० प्रतिशतको स्प्रेडमा काम गरेका छौं । गत वर्ष १.२९ प्रतिसत स्प्रेडमा काम गरेका थियौं । सोही तथ्याङ्कलाई हेर्दा हामीले थोरै स्प्रेडमा काम गरिरहेका हुन्छौं । त्यही भएर हामी धेरै नाफाको आशा गर्दैनौं । हाम्रा सहभागीलाई दिने प्रतिफल र हामीले पाउने नाफाको बिचमा त्यति धेरै अन्तर नभएको हामीले धेरै नाफा आर्जन गर्दैनौं । हाम्रो ट्रष्टी मोडल हो । जुन ट्रष्टीमा नाफा भयो त्यही ट्रष्टीको सहभागीले प्रतिफल पाउने हो । हामीले त्यहाँबाट सञ्चालन खर्च मात्र लिने हो । त्यसैले, हाम्रो आम्दानीमा त्यति धेरै असर गर्ने कुरा भएन । नेपाल राष्ट्र बैैंकले संस्थागत निक्षेपकर्ताको ब्याजदर घटाएको छ, यसले संस्थागत निक्षेपकर्ताको ब्याज आम्दानी त घट्ने भयो नी ? यसले हामीलाई धेरै प्रभाव पार्ने देखियो । बैंकहरुको मुद्धति निक्षेपमा हाम्रो धेरै ठूलो लगानी छ । राष्ट्र बैंकले मौद्रिक नीति ल्याउने बेलामा यो विषय उल्लेख गरेको थिएन । तर, पछि एकिकृत निर्देशनमार्फत् यो विषय आयो । कहाँबाट उहाँहरुले यो विषयलाई समेट्नु भयो ? अथवा कसको सिफारिसमा गर्नु भयो ? त्यो चाहि मलाइ थाहा भएन । राष्ट्र बैंकले नीति ल्याउँदा कुनै पनि सिद्धान्तमा आधारित भएर ल्याउनु पर्छ ।अर्थशास्त्रमा कुनै पनि सिद्धान्तले पैसाको भ्यालुलाई दुई किसिमले तय तथा निर्धारण गर्दैन । एउटै देशमा २ किसिमको करेन्सी नीति पनि हुँदैन । यहाँ त नागरिक लगानी कोषसँग भएको पैसाको एउटा मूल्यांकन र व्यक्तिको खातामा भएको पैसाको अर्कै मुल्यांकन गरियो । पैसाको अलग–अलग भ्यालू हुनु हुँदैन । पैसाको क्वालिटी पनि हुँदैन । क्वालिटी छुट्याउन सक्ने वस्तु भइदिएको भए भ्यालू फरक पर्न सक्छ । जस्तै, मोबाइलहरु भए पनि यो ब्रान्डको मूल्य यति भन्ने हुन्न सक्छ । मुद्राको मूल्य भनेको विश्वव्यापी रुपमा एउटै हुन्छ । एक ठाउँमा भएको पैसाको मूल्य एउटा र अर्कै ठाउँको पैसाको भ्यालू अर्कै भन्ने कुनै पनि देशमा हुँदैन । राष्ट्र बैंकको यो नीति न्यायोचित छैैन । यस्तो भेदभाव हुनु हुँदैन । पैसाको भ्यालु एउटै हुन्छ भन्ने कुरा बुझ्न सकेन । नागरिक लगानी कोष, कर्मचारी संचय कोष र सामाजीक सुरक्षा कोष नै अहिले संस्थागत निक्षेपकर्ताका रुपमा छन् । यी संस्थालाई यस्तो नीति ल्याउनु भनेको तल्लो तहका कर्मचारी तथा मजदुरहरुको गास खोस्नु हो । राष्ट्र बैंकको उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुहोस् भन्ने चाहना होला । हामीले त्यसमा पनि लगानी गरिरहेका छौं । तर, हामी बैंक जस्तो लगानी गर्न सक्दैनौं । राष्ट्र बैंकको व्याजदर निर्धारणको निर्णय न्यायोचित छैन । बैंक तथा वित्तीय संस्था ऐनमा कुनै बैंक तथा वित्तीय संस्थामा समस्या आयो भने पहिला सर्वसाधारणको निक्षेप फिर्ता गर्नु पर्ने व्यवस्था छ । त्यसपछि मात्र संथागत निक्षेपकर्ताको निक्षेप फिर्ता हुन्छ । जसको पहिला फिर्ता हुन्छ उसको कम र जसको पछि फिर्ता हुन्छ उसलाई बढी जोखिम देखिन्छ । जोखिम जसले बढी बहन गर्छ, उसको मुनाफा र ब्याजदर पनि बढी हुनु पर्ने हो । तर, यहाँ त्यस्तो छैन । ऐनले एउटा भन्छ, राष्ट्र बैंकले अर्कै काम गर्छ । यो बैंक तथा वित्तीय संस्था ऐन विपरितको व्यवस्था हो । यस्तो गर्नु ठीक होइन । गास काटेर रकम जम्मा गरेका बचतकर्ताको एउटा र सर्वसाधारणको ब्याजदर अर्कै हुनु राम्रो होइन । हामी उदारवादी अर्थतन्त्र अपनाउने हो भने ब्याजदरमा कार्टेलिङ गर्ने, यस्तो गर, उस्तो गर भन्नु राम्रो होइन । माग र आपुर्तिको आधारमा ब्याजदर तय हुनु पर्छ । राष्ट्र बैंकले हामीलाई अन्याय गरेको छ । यो विषयमा सम्बन्धित निकायसँग केही कुरा गर्नु भयो ? हामीले यस विषयमा अर्थ सचिवसँग पनि कुरा गरेका छौं । तर, राष्ट्र बैंकमा कुरा गरेका छैनौं । यो राष्ट्र बैंक आफैले बुझ्नु पर्ने कुरा हो । हामीले उसलाई पत्राचार गर्ने कुरा पनि भएन । राष्ट्र बैंकको यो नीतिले लगानी कोष मात्रै नभएर धेरै वटा संस्था मर्कामा परेका छन् । तर, संस्थागत निक्षेपकर्ताको आवाज नसुनिने रहेछ भन्ने मलाई महसुस भयो । अर्थ सचिवले पनि यस विषयमा बुझछ, कुरा गर्छु भन्नु भएको छ । राष्ट्र बैंकको यो व्यवस्थाले नागरिक लगानी कोषको कति जति आम्दानी गुम्छ ? व्याजदर महिनैपिच्छे परिवर्तन हुन्छ । कतिपय निजि क्षेत्रका संस्थागत निक्षेपहरुकर्ताहरुले नेगोसियसनमा बढी ब्याजदरमा पनि लगानी गरिरहेका छन् । समस्या पर्ने भनेको हामी जस्तो नियम पालना गरेर बस्ने सस्थाहरुलाई मात्रै हो । अहिले नारिग लगानी कोषले निक्षेपमै १ खर्ब ३ अर्ब रुपैयाँको हाराहारीमा लगानी गरेको छ । अब १०.०३ प्रतिशत ब्याजदरबाट दुई प्रतिशतको बिन्दुले ब्याजदर घटेपछि धेरै घाटा हुन्छ । अहिले बैंकिङ बजारमा तरलताको समस्याको मौका पारेर तपाईंहरु संस्थागत निक्षेपकर्ताहरु विभिन्न बैंकमा गएर ब्याजदरको विषयमा बार्गेनिङ गरिरहेको विषय पनि सुनिन्छ, तपाईंहरु जस्तो संस्थाले यस्तो खालको अनफेयर अभ्यास काम गर्न मिल्छ ? यो विषय कि बैंकलाई थाहा होला कि जाने संस्थालाई थाहा होला । नागरिक लगानी कोष यस्तो काम गर्दैन । हाम्रो लगानीको नीति हुन्छ । सोही नीतिभित्र बसेर हामीले कोटेशन अनुसार जसले बढी ब्याज दिन्छन् सोही बैंकमा राख्ने हो । बैंकहरुको पनि आ–आफ्नै नियम छ बुझ्न गाह्रो छ । ब्याजदर पनि दैनिक फरक–फरक गर्छन् । मैले कुनै पनि बैंकका कर्मचारी अथवा सीईओ नागरिक लगानी कोषमा आउनु पर्दैन भनेको छु । गलत अभ्यास हामीले गरेका छैनौं । अवकाशमा आधारित कोषहरुले उत्पादनमुलक क्षेत्रमा लगानी गरेनन्, बैंकमा पैसा जम्मा गरेर ब्याज मात्रै खाए भन्ने गुनासो पनि सुनिन्छ, यसप्रति तपाईंहरुको ध्यान किन नगएको ? उत्पादनमुलक कस्तो क्षेत्रलाई भन्ने ? हामीले त्यस्ता सेक्टरमा प्रत्यक्ष लगानी गर्ने होइन । हाम्रो जस्तो संस्थाले थोक कर्जा लगानी गर्ने हो । किनभने हामी कर्जाको नियमित मनिटरिङ गर्न सक्दैनौं । मनि मप्लाई रेगुलर बढ्यो भने फेरि अर्को समस्या उत्पन्न हुन्छ । हामीले प्रत्यक्ष रुपमा कर्जा लगानी गर्यौं वा कुनै क्षेत्रमा लगानी गर्यौं भने कर्जाको भोलुम बढेर अर्थतन्त्रमा फेरि अर्को समस्या पनि आउन सक्छ, अर्थात् अर्थतन्त्रमा स्थीरता नआउन सक्ने सम्भावना पनि रहन सक्छ । हामीले राष्ट्र बैंकले दिएका नितीहरुलाई पनि बिचार गर्नु पर्ने हुन्छ । हामीले प्रत्यक्ष लगानी गर्नु हुँदैन । हामीसँग बैंक तथा वित्तीय सस्था जस्तो लगानी गर्ने कर्जा दिने प्रवधान पनि छैन । हामीले कर्जा दिँदा हाम्रो मनिटरिङ त्यो लेबलको पुग्दैन । तर, हामीले कोषमा सहभागीहरुलाई घर बनाउन र जग्गा किन्नसम्म स–सानो कर्जा दिन मिल्छ । नागरिक लगानी कोषको प्रत्यक्ष लगानी कुन–कुन परियोजनामा छ ? हामीले अपरतामाकोसीमा लगानी गरेका छौं । वाइड बढीमा पनि हाम्रो लगानी छ । हामीसँग सहभागी हुनका लागि पनि अनिवार्य नभएर ऐच्छिक हो । अहिले वाइडवडीको पैसा पनि आउन थालेको छ । कोषले संकलन गरेको बचत रकमलाई राष्ट्रिय गौरवका आयोजनाहरु, पूर्वाधार विकास तथा उत्पादनमुलक क्षेत्रहरु, सहभागीहलाई सहयोग पुग्ने गरी विभिन्न ऋण सापटीहरु एवं पुँजीबजारका विकास गरी लगान गरिरहेका छौं । हामी सहभागीहरुको प्रतिफल बढाउने प्रयास पनि गरिरहेका छौं । लगानीको विविधीकरण गर्दे उत्पादनशील क्षेत्रमा लगानी गर्ने प्रयास पनि हामी गरिरहेका छौं । कोषमा सहभागी भएका व्यक्तिलाई सरल ब्याजदरमा सरल कर्जा, सहभागी सापटी तथा आवास कर्जा, शैक्षिक कर्जालगायतका समयकालीन कर्जा प्रवाह गरिरहेको छ । भविष्यमा सरकारका ठूला विकास आयोजना, पूर्वाधारको क्षेत्र, विद्युत् प्राधिकरणले निर्माण गर्ने ठूला परियोजनामा लगानी गर्न मनसाय पनि हामीले बनाएका छौं । हामी कम जोखिमयुक्त र सुरक्षित क्षेत्र छनोट गरिरहेका छौं । पछिल्लो समय नागरिक लगानी कोष, कर्मचारी सञ्चय कोष र सामाजिक सुरक्षा कोषबीच बचतकर्ता तान्नका लागि अस्वस्थ प्रतिस्पर्धा भएको पनि सुनिन्छ नी ? त्यस्तो खालको अस्वस्थ प्रतिस्पर्धा गर्नु पर्ने कारण नागरिक लगानी कोषलाई छैन । हाम्रो सबै कार्यक्रमहरु स्वेच्छिक छन् । हामीसँग यो–यो सुविधा छ भनेर वेवसाइटमा राखेका छौं । बाहिर–बाहिर त्यस्तो छ भने सबै कुराको ठेक्का पनि लिन सकिँदैन । अवकाश कोषहरुबीच मर्जरको आवाज पनि कहिलेकाहीँ उठ्छ, तपाईंहरुलाई मर्जर आवश्यक लाग्छ कि लाग्दैन ? मर्जरको विषय हाम्रो हातमा छैन । यो सरकारले गर्ने निर्णय हो । कर्मचारी सञ्चय कोषमा सरकारको शतप्रतिशत स्वामित्व छ । नागरिक लगानी कोषमा प्रतयक्ष अप्रत्यक्ष गरेर ६५ प्रतिशत छ । हामी कहाँ सर्वसाधारण सेयरधनी पनि छन् । बैंक तथा वित्तीय संस्थाको पनि छ । सामाजिक सुरक्षा कोष पनि फरक उद्धेश्यका साथ स्थापना भएको संस्था हो । त्यो गैरनाफामुलक संस्था हो । हामीले सर्भिस र प्रतिफलमा पनि ध्यान दिनु पर्छ । सरकारले गर्न खोज्यो भने त हुन्छ नै तर मेरो व्यक्तिगत विचारमा मर्जर गर्नु हुन्न भन्ने हो । यि तिनै संस्थाहरुबीच मोडालिटी नै मिल्दैन । तपाईंहरुलाई अभिभावक (नियामक) चाहिन्छ भन्ने महसुस हुँदैन ? हाम्रो नियामक अर्थमन्त्रालय छदैछनी । तर, सरकारले चाह्यो भने त्यो पनि सम्भव छ । यसअघि पनि यस विषयमा चर्चा नभएको होइन । तर, अहिलेसम्म खासै प्रगति भएको छैन ।
आयातमा गरिएको कडाइलाई निरन्तरता दिन्छौं : डेपुटी गभर्नर ढुङ्गानासँगको अन्तर्वार्ता
नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नर हुन् डा. निलम ढुङ्गाना तिम्सिना । झापा गौरादहमा जन्मेकी ढुङ्गाना राष्ट्र बैंकको पहिलो महिला डेपुटी गभर्नर पनि हुन् । वि.स २०५४ साल मंसिर २२ गतेदेखि राष्ट्र बैंकमा जागिर शुरु गरेकी ढुङ्गाना २०७७ साल फागुनमा राष्ट्र बैंकको डेपुटी गभर्नरमा नियुक्त भइन् । व्यवस्थापनमा विद्यावारिधी गरेकी तिम्सिनाले राष्ट्र बैंकमै साढे दुई दशक बढी काम गरिसकेकी छन् । उनै डा. ढुङ्गानासँग देशको वर्तमान अर्थतन्त्र, राष्ट्र बैंकले गरिरहेको काम कारवाही र समग्र बैंक तथा वित्तीय क्षेत्रले गरिहरेको बैंकिङ अभ्यासको विषयमा विकासन्युजका रामकृष्ण पौडेल र सन्तोष रोकायाले कुराकानी गरेका छन् । सुरुमा व्यक्तिगत प्रश्न गरौं, एउटा साधारण व्यक्तिबाट ठूलो पदमा पुगेपछि मानिसहरुको तपाईंहरुप्रति ठूलो अपेक्षा हुन्छ, पदमा पुग्नेलाई चाहिँ कस्तो महसुस हुन्छ ? जब आफु नियुक्त भइन्छ, एकदमै हर्ष विभोरसँगै खुसी भइन्छ । खुसीका साथसाथै काँधमा ठूलो जिम्मेवारी आएको महसुस हुन्छ । आफुमाथि सरकारको, कार्यालयको र सर्वसाधारणको पनि ठूलो आशा छ भन्ने अनुभुति हुन्छ । व्यक्तिले त्यसलाई इमान्दारिताका साथ निर्वाह गर्नु पर्छ हुन्छ । अहिलेसम्म त्यो प्रक्रिया जारी नै छ । कुनै पनि संस्थामा नीति नियम र ऐन कानुनका सीमाहरु हुन्छन् । त्यसभित्र रहेर जतिसक्दो बढी ‘आउटपुट’ दिने काम गर्ने हो । आफुले सकेको, आफु अन्तर्गतका कर्मचारीहरुको इफोर्टले पनि त्यो सम्भव तुल्याउन प्रयास गर्ने हो । संस्थाभित्र व्यक्तिगत निर्णय हुँदैन । ‘ज्वाइन्ट डिसिजन’ हुन्छ । त्यसलाई कसरी प्रभावकारी गर्ने भन्ने विषयमा ध्यान दिनुपर्छ । समाजसँगै इकोनोमीका विभिन्न स्टेकहोल्डरका इच्छा पुरा गर्नको लागि पनि काम गरिरहेका हुन्छौं । हामीले गर्न सक्ने कामहरु हामी उहाँहरुलाई बुझाउँछौं । केन्द्रिय बैंकले जहिल्यै पनि बैंक तथा वित्तीय संस्थामार्फत् काम गर्छ । मौद्रिक उपकरणहरुको प्रयोग बैंक वित्तीय संस्थामार्फत् नै हुन्छ । कर्जा र ब्याजदर पनि बैंक वित्तीय संस्थामार्फत् नै जान्छ । बैंक तथा वित्तीय संस्थाले के गर्नु पर्छ? के गर्नु हुँदैन ? भन्ने विषयसँगै वित्तीय स्थायित्वका लागि र आर्थिक विकासका लागि काम भएको छ वा छैन भन्ने विषय पनि हामीले हेर्छौं । धेरैले सहजै कर्जा पाऔं, सस्तो ब्याजदरमा कर्जा पाऔं, कतिपयले त लिएको कर्जा तिर्न नपरे पनि हुन्थ्यो नि भन्ने इच्छा पनि राख्छन् । तर, त्यो सबै इच्छा पुर्याउन राष्ट्र बैंकले सक्दैन । नेपाल राष्ट्र बैंकले जहिल्यै पनि निक्षेपकर्ता र ऋणीको हितलाई ध्यानमा राखेर नै काम गरिरहेको हुन्छ । निक्षेपकर्ता र कर्जाको ब्याजदरको अन्तर पनि कायम गरेका छौं । अहिले निक्षेपको ११/१२ प्रतिशत ब्याजदर पुगेको छ । निक्षेपकोे ब्याजदर बढेको छैन भन्न पनि मिल्दैन । कर्जाको ब्याज पनि बढ्नु पर्छ । ब्याजदर पैसाको माग र आपुर्तिले निर्धारण गर्छ । तरलता सहज भयो भने ब्याजदर घट्छ । तरलताको अभाव भयो भने ब्याजदर बढ्छ । तर, बैंकहरुले आफुखुसी रुपमा ब्याजदर बढाए भने हामीले बैंक तथा वित्तीय संस्थाहरुलाई लगाउन सक्ने अंकुश धेरै छन् । अहिले त पोलिसी रेट पनि बढेको छ । यसले अवश्य पनि निक्षेपकर्ताको ब्याजदर पनि बढ्छ नै । साउनमा बैंकिङ प्रणालीबाट सवा खर्ब रुपैयाँ कहाँ गयो भन्ने चासो अहिले सर्वत्र छ, यसप्रति राष्ट्र बैंकको बुझाइ के हो ? अहिले मूल्यवृद्धि बढेको छ । कतिपय मान्छेले हातमा पनि पैसा राखेका होलान् । मान्छेले खर्च गर्न पनि हातमा पैसा राख्नु पर्यो । केही पैसा अनौपचारिक क्षेत्रमा पनि होला । अहिले सहकारीमा पनि समस्या आएको छ । बैंकहरुबाट सहकारीले पैसा निकालिरहेको विषय पनि आइरहेको छ । धेरैले ठूलो रकममा नगद नै कारोबार गरिरहेको पनि सुन्नमा आएको छ । यी विभिन्न कारणले निक्षेप घटेको हुन सक्छ । अहिले आयात बढेको छ । आयातको कारणले पनि धेरै पैसा बाहिरिएको हुन सक्छ । अहिले विदेशी मुद्रा सञ्चिति घटेको छ । पैसा इकोनोमी भित्रै छ । तर, छरिएर बसेको छ । पछिल्लो समय केही सहकारीहरु संकटमा परेको विषय आइरहेको छ, सहकारीसँगै लघुवित्तले पनि ऋणीहरुलाई समस्यामा पारेको केसहरु बाहिरिरहेका छन्, यी विषयहरुलाई राष्ट्र बैंकले कसरी हेरिरहेको छ ? लघुवित्तलाई नेपाल राष्ट्र बैंक र सहकारीहरुलाई सहकारी विभागले लाइसेन्स दिएको छ ।सहकारीहरु कति आवश्यक छन् भन्ने विषयममा ध्यान नपुगेको होकि भन्ने पनि लाग्छ । विषयगत सहकारीहरु जति भएपनि केही फरक पर्दैन । अहिले कुल ३५ हजार सहकारीहरु छन् । त्यसमा कुल १४ हजार बचत तथा ऋण सहकारी संस्थाहरु छन् । सहकारीको सिद्धान्त भनेको सदस्यहरुबाट सानो–सानो पैसा उठाएर समस्या परेको बेला समस्याको समाधान गर्ने नै हो । सामुहिकताको र समानताको सिद्धान्त सहित चलेका भए राम्रै चल्थे । तर, सहकारीमा ठूलो–ठूलो रकमको कारोबार हुन थाल्यो । ती संस्थाहरु ठूलो रकममा चल्ने र बैंकिङ नीति नियममा नचलेपछि समस्या आउने हो । जहाँ बचत तथा कर्जाको कारोबार हुन्छ त्यो संस्था बैंकिङ नीति नियम अनुसार नै चल्नु पर्छ । एसेट क्वालिटी, क्यापिटल एड्युकेसी, तरलता अनुपात कायम नगर्दा यस्ता खालका समस्या आउँछन् । यी सबै सूचकहरु कायम नगर्दा समस्या देखिएको हो । सहकारीमा कर्पोरेट गभर्नेन्स र सुपरभिजन नहुँदा विकृति आएको देखिन्छ । जहाँ नियमन हुँदैन । अडिट भएन भने यस्तो खालको समस्या आउँछ । यस्तो निकायको कमि सहकारीमा छ । राष्ट्र बैंकले लाइसेन्स नदिएपछि राष्ट्र बैंकले नियमन गर्ने कुरा भएन । जसले बैंकिङ नीति नियम अनुसार काम गरेका छन् ती सहकारीमा समस्या आएको छैन । बचत तथा सहकारी संस्थाहरुको विषयमा ‘रिथिङ्क’गर्नु पर्ने अवस्था छ । कुनै संस्थाले प्राविधिक सल्लाह माग्यो भने राष्ट्र बैंक सहयोग गर्न तयार छ । लघुवित्तमा भने त्यस्तो समस्या छैन । नेपाल राष्ट्र बैंकले लघुवित्तलाई राम्रैसँग नियमन गरिरहेको छ । हामीले बदमासी गर्नेलाई कारवाही पनि गरिरहेका छौं । कतिपय लघुवित्तको ‘कर्पोरेट गभर्नेन्स’ बिग्रिएकोमा कारवाही पनि भइरहेको छ । लघुवित्तहरुमा पब्लिकको फण्ड सुरक्षित छ । लघुवित्तको स्रोत भनेको बैंक तथा वित्तीय संस्था नै हो । थोरै मात्र पब्लिकबाट लिन्छन् ।तर, पनि उनीहरुको फण्ड सुरक्षित नै छ । अहिले लघुवित्त पीडितको विषय पनि आइरहेको छ । हामीले एक पक्षियबाट मात्रै हेर्नु हुँदैन । संस्थाको तर्फबाट पनि हेर्नु पर्छ । संस्थाले कर्जा लगानी गरेपछि ऋणीले त्यो कर्जा कहाँप्रयोग गर्ने, कति समयसम्म तिर्नु पर्छ भन्ने विषय पनि राम्रोसँग हेर्नु पर्छ । ऋण लिएपछि सामाजिक कार्यमा खर्च गर्नु भएन । उत्पादनमुलक क्षेत्रमा लगानी गर्नु पर्यो । त्यसपछि मात्रै त्यो ऋण तिर्न सकिन्छ । तरलता बढी भएको बेला संस्थाले ऋण प्रवाह गर्न खोज्छ । तर, ऋण लिने व्यक्तिले ऋण लिएपछि भोलि कसरी तिर्ने भन्ने कुरा पनि बुझ्नु पर्छ । संस्थाले जबरजस्ती ऋण भिडाएको त नहोला । ऋण लिएर बिवाहमा खर्च गरेर हुँदैन । ऋणसँगै विस्तारै सावाँको ब्याज पनि बढ्दै जान्छ । विस्तारै भार पनि बढ्छ । भार बढेपछि संस्थाले ऋण उठाउन खोज्छ । राष्ट्र बैंकले नै ऋण उठाउ भनेर ताकेता गर्छ । संस्थाको पैसा पनि निक्षेकर्ताको नै हो ।उसले ऋण उठाउन सकेन भने भोलि निक्षेपकर्ताको पैसा पनि तिर्न सक्दैन । कर्जा नतिर्दा भोलि एउटा संस्थामा मात्रै होइन निक्षेपकर्ताहरु पैसा झिक्नका लागि अर्को संस्थामा पनि लाइन लाग्छन् । त्यसपछि बैंकिङ क्षेत्र नै कोल्याप्स हुन्छ । त्यसैले राष्ट्र बैंकले यी सबै विषयहरुलाई सन्तुलन भएर हेर्नु पर्छ । पीडितहरुको कुरा के हो ? कतिपयले हामी ऋण नै तिर्दैनौं भनेर हिडेको सुन्छौं । लिएको ऋण त तिर्नु पर्यो । भोलि निक्षेपकर्ताको ऋण संस्थाले कसरी तिर्छ ? लघुवित्तले ऋणाीलाई शोषण नै गरेको हो भने पनि उहाँहरुले राष्ट्र बैंकमा आएर गुनासो गर्न सक्नुहुन्छ । पीडितहरुको भाषा अनुसार लघुवित्तले ग्रामिण क्षेत्रमा शोषण गरेको हो भन्ने सुनिन्छ, के साँच्चिकै शोषण गरेकै हुन् ? हामीले त्यस्तो शोषण गरेको देख्दैनौं । लघुवित्तको ९८ प्रतिशत ग्राहक महिला छन् । महिलाहरुले ऋणहरु ऋण लिने, ऋण लिएर उत्पादनशील क्षेत्रमा लगानी गरेर राम्रो काम पनि गरेका छन् । समयमै ऋण तिर्ने काम पनि गरिहेका छन् । अलिकति समस्या जुनसुकै क्षेत्रमा पनि हुन्छ । हामीले दुवै क्षेत्रको कुरा सुन्नु पर्छ । विवाद आफै उत्पन्न हुँदैन । दुईतर्फको कुरा सुनेर हामीले निर्णय गर्छौं । सहकारी र लघुवित्तमा जुन किसिमको तरंग आएको छ, यसले बैंकिङ क्षेत्रलाई पनि त्रास बनाएको छ भन्ने सुनिन्छ, यो समस्यालाई सम्बोधन गर्नका लागि राष्ट्र बैंकले केही सोचेको छ ? यसमा बैंक तथा वित्तीय क्षेत्र पनि संवेदनशील छ । हामीले पनि हेरिरहेका छौं । सबैले एकैपटक पैसा झिक्ने कुरा हुँदैन । धेरै सहकारीहरु सुरक्षित पनि छन् । सहकारीमा देखिएका समस्या समाधान गर्न सहकारी विभाग पनि लागिरहेको छ । नेपाल राष्ट्र बैंकले पनि बैंक तथा वित्तीय संस्थाहरुसँग यस विषयमा छलफल गरिराखेको छ । आफ्ना सबै सूचकहरु बलियो बनाएर राख्नुस्, तरलता कायम गर्नुस् भनेर भनिरहेका छौं । उनीहरुलाई तरलताको अभाव भयो भने हामीले पनि एसएलएफमार्फत उपलब्ध गराइहेका छौं । राष्ट्र बैंकको नियमन भित्र रहेका बैंक तथा वित्तीय संस्थामा एकैपटक त्यस्तो समस्या आउँदैन भन्नेमा हामी विश्वस्त छौं । राष्ट्र बैंकले वैदेशिक व्यापारमा कडाइ गरेको छ, यो व्यवस्था अब हट्छ वा केही समयका लागि यथावत रहन्छ ? अहिले विदेशी मुद्रा सञ्चिति केही बढेको छ । रेमिट्यान्समा पनिसुधार देखिएको छ । वैदेशिक व्यापार सधैं घाटामै छ । निर्यात कम र आयात बढी हुँदा व्यापार घाटा जहिल्यै बढ्छ । निर्यात २ खर्ब र आयात १९ खर्ब २० अर्बको छ । विदेशी मुद्राको मुख्य स्रोत नै रेमिट्यान्स हो । एक हजार अर्बको रेमिट्यान्स, ५४ अर्बको ग्रान्ट्स, ९६ अर्बको कर्जा र १८ अर्बको प्रत्यक्ष वैदेशिक लगानी छ । यो सबै जोड्दा करिब १४ सय अर्ब हुन आउँछ । १४ सय अर्ब विदेशी मुद्राको स्रोत र १९ खर्ब आयातमै जान्छ भनेपछि ५ सय अर्ब घाटामै देखिन्छौं । त्यो पैसा हाम्रो सञ्चितिबाट जान्छ । यो सञ्चिति हामीले विदेशी ट्रेजरी बिलमा लगानी गरेको र विदेशी बैंकमा राखेको निक्षेप आम्दानीबाट आएको हो । त्यसबाट हामीले आयातको भुक्तानी गरिरहेका छौं । हामी सहज अवस्थामा भने छैनौं । यसरी वार्षिक रुपमा ५/५ सय अर्ब बाहिरियो भने हाम्रो अवस्था के होला ? त्यस कारण पनि हामीलाई वस्तु उपभोग गर्नका लागि कित बढी कमाउनु पर्यो कि उपभोग कम गर्नु पर्यो । यो एउटा घर व्यस्थापन जस्तै हो । हामीले विदेशी मुद्रा कमाउन सकेनौं भने उपभोग कम गरेर आयात घटाउनुको विकल्प छैन । विदेशी मुद्रा आर्जन गर्ने हामीसँग आधार नभएपछि कडाइ गर्नु परेको हो । बैंकहरुले ‘इम्पोर्ट फाइनान्सिङ’ गरेर नै आयात बढ्ने हो । घरजग्गाबाट गरेको रकम पनि आयातमै गयो । घरजग्गा .व्यापारीले नाफा गरेर महँगो गाडी आयात गर्छ, गरगहना आयात गर्छ । त्यसपछि सेयर बजारमा लगानी गर्छ । सेयरबाट कमाएको पैसा पनि आयातमै जान्छ । पोलिसी रेट बढायो भने कर्जा कम जान्छ । कर्जा कम गयो भने आयात पनि कम नै हुन्छ भन्ने हिसाबले यो कडाइ गरिएको हो । कृषि प्रधान देश भएर पनि हामी कृषिमा छैनौं । आयात नियन्त्रण गर्नुको कारण हामी सस्टेन गर्नका लागि हो । हामीले सजगतापूर्ण कसिलो मौद्रिक नीति ल्याएका छौं । यो आर्थिक वर्षभर हामी कसिलो नीतिमै जान्छौं । तत्काल यो नीति परिवर्तन हुँदैन । अहिले बाच्ने बेला मात्रै हो । हामीले धेरै आयातमुखी र उपभोगमुखी हुनुहुँदैन । अहिले बैंकहरुले डलरखातामा मनोमानी रुपमा ब्याज दिइरहेको पनि सुनिन्छ, राष्ट्र बैंकको ध्यान यसतर्फ कत्तिको गएको छ ? स–साना कुराहरुमा राष्ट्र बैंकले तुरुन्तै हस्तक्षेप गर्न पनि मिल्दैन । अहिले तरलताको समस्या भइरहेको बेला बैंकहरुले तरलता बढाउन, स्रोत संकलन गर्न ब्याज बढी दिएका पनि हुन सकछन् । हामीले पनि हेर्छौं । त्यसमा विकृति भयो भने राष्ट्र बैंकले सच्याउन लगाइहाल्छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत् ब्याजदर बढाउने नीति ल्यायो, गभर्नर पनि विभिन्न सार्वजनिक कार्यक्रममा ब्याजदर बढ्न सक्छ भन्ने किसिमको वक्तव्य दिँदै आउनु भएको छ । तर, नेपाल बैंकर्स संघले विगत पाँच महिनादेखि ब्याजदर स्थीर राखेको छ । यस विषयमा राष्ट्र बैंकको केही भन्नु छ ? हामीले यस विषयलाई हेरिरहेका छौं । तर, हेरिरहेका छौं भन्दैमा हेरेको हेर्यै गर्दैनौं । उपर्युक्त समयमा उपर्युक्त काम राष्ट्र बैंकले गर्छ ।